राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन्। उनले राजनीतिक दलहरू सच्चिएर जनतामाझ पुग्नुपर्ने र नेपालमा गणतन्त्र निर्विकल्प भएको बताएका हुन्।
‘प्रतिगामी खतराविरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नारासहित राष्ट्रिय जनमोर्चा बागलुङले बागलुङ बजारमा आयोजना गरेको कार्यक्रममा केसीले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए। उनले दलहरूका आ-आफ्नै विचार र सिद्धान्त भए पनि राष्ट्रियता जोखिममा पर्दा एकताबद्ध हुनुपर्ने उल्लेख गरेका छन्।
‘सबै मिलेर पञ्चायत फालियो, राजतन्त्र फालियो, अहिले गणतन्त्रका विषयमा राजावादीले भ्रम सृजना गरे, एकपटक लोकतन्त्र र गणतन्त्रका लागि सबै राजनीतिक दल एकजुट बनौँ,’ अध्यक्ष केसीले भने, ‘राजावादीको तीनकुने आन्दोलन अराजकताको पराकाष्ठा हो, न्यायिक छानबिन हुनुपर्छ, राजावादीहरू सल्बलाउन थाले, सबै दल मिलेर लोकतन्त्रका पक्षमा जुटौँ।’
सघीयता खर्चिलो भएको र नेपालको अर्थतन्त्रले यसलाई नथेग्ने उनले बताए। लोकतन्त्र र गणतन्त्रकै कारण बोल्न पाइएको स्मरण गर्दै राजतन्त्र फर्काउने कुरा सम्भव नभएको जिकिर उनको थियो। उनले लोकतन्त्र र गणतन्त्र रहे मात्र जनताले आवाज उठाउन सक्ने बताए।
‘नेता मात्र होइन, जनता पनि सचेत हुनुपर्छ, भ्रष्टाचार मौलाएकाले विकास भएन, जनताले सही जनप्रतिनिधि चुन्न सकेनन्,’ केसीले भने। रासस
प्रकाशित: २६ वैशाख २०८२ १७:२६ शुक्रबार