१८ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

स्वतन्त्र र निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधार स्तम्भ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको बताएका छन्।

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त तथा प्रभावकारी माध्यम भएको बताए।

राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको भन्दै स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न नसकिने स्पष्ट पारे।

उनले भने –‘त्यही भएर हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको हो। संविधानको यो मर्म र भावनाअनुसार पत्रकारलाई निर्भय र स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो। त्यसैगरी सत्यतथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्नु जिम्मेवार प्रेसको धर्म हो। यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुनेनैछ भन्ने मैले विश्वास लिएको छु।’

राष्ट्रपति पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार संकलन र सम्प्रेषण गर्ने अवस्थाको सुनिश्चितातर्फ हामी सबैको ध्यान जान आवश्यक रहेको सुनाए।

उनले सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहिन र मिथ्या सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराको सामना गर्नु वर्तमान आमसञ्चार माध्यम सामु थपिएको चुनौति भन्दै यस्ता चुनौतिको सामना गर्न नेपाली प्रेस सक्षम हुने विश्वास व्यक्त गरे।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँदै राजनीतिक परिवर्तनपछि नेपाली जनताले अपेक्षा गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकुल चाहनालाई पूरा गर्ने अभियानमा आफ्नोतर्फबाट नेपाली प्रेसले आगामी दिनमा अझै प्रभावकारी ढंगले काम गर्नेमा आफू विश्वस्त रहेको राष्ट्रपति पौडेलको भनाई थियो।

प्रकाशित: २४ वैशाख २०८२ १६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App