१ असार २०८२ आइतबार
image/svg+xml
राजनीति

सूचनामा छ्यांग हुन तर नांगो नहुन सुझाव

भक्तपुर जिल्लाका सरकारी कार्यालयका सूचना अधिकृतहरूले सूचनाको हक दुरूपयोग गरी आफूहरूसँग बार्गेनिङ हुने गरेको दुःखेसो पोखेका छन्। चाहिने–नचाहिने सूचना मागेर आफूहरूलाई हैरानी गर्ने गरेको पनि उनीहरूले दुखेसो पोखेका छन्। ‘वर्षाैं वर्षको घटनालाई लिएर तपाईंहरूले त्यतिबेला सबैभन्दा बढी र सबैभन्दा कम भुक्तानी कसलाई कतिकति दिनुभयो जस्ता सूचना मागेर हामी हैरान छौं’, सूचनाको हक संरक्षणमा सूचना अधिकारीहरूको भूमिका विषयक मंगलबार भएको अभिमुखीकरण कार्यक्रममा भक्तपुर नगरपालिकाका सूचना अधिकृत दामोदर सुवालले भने।

उनका अनुसार यस्ता चाहिने–नचाहिने सूचना माग्नेहरूमा सबैभन्दा बढी आफूलाई अभियन्ता भनेर हिँड्नेहरू धेरै पर्दछन्। उनकै भनाइअनुसार उनीहरूले सबैभन्दा पहिला पत्रपत्रिकामा विज्ञापन वा अन्य केहीका नाममा आर्थिक सहयोग माग्छन्।

 जब नगरपालिकाले विज्ञापन वा सहयोगका नाममा भुक्तानीका लागि बिल पठाउनुअघिको निवेदन, स्वीकृतिका मुद्दा उठाएर बिल पेमेन्ट हुँदैन, त्यसपछि चाहिने–नचाहिने सूचना मागेर हैरान गर्छन्। त्यस्ता सूचना माग्नेहरूको फेहरिस्त नै भएको भन्दै आवश्यक परे नामसमेत सार्वजनिक गर्न आफूहरू तयार रहेको उनले सुनाए। साथै यस्ता बदनियत लिएर सूचना माग्नेहरूलाई सचेत गराउन उनीहरूले मागेको सूचनासहितका तथ्यहरू पनि राष्ट्रिय सूचना आयोगमा जानकारीका लागि आफूहरूले पठाउने गरेको उनले जनाए।

जिल्लाकै सूर्यविनायक नगरपालिकाका सूचना अधिकृत राजेन्द्रप्रसाद नेपालले सूचनाको हक दुरूपयोग गरी बदनियतले सूचना माग्ने गरेको पाइएको बताए। ‘कसैले तपाईंको नगरपालिकाभरिका बालबालिकाको अवस्था कस्तो छ भनेर सूचना माग्छन्’, उनले भने, ‘तथ्यांक नै नहुने वस्तुपरक प्रश्न बारम्बार सोधेर दुःख दिन्छन्।’

कार्यक्रममा सूचना आयोगका पूर्वसूचना आयुक्त रत्नप्रसाद मैनालीले नेपालको संविधानले नागरिकलाई सूचनाको हकका नाममा असीमित अधिकार दिएकाले समस्या भएको बताए।

सूचना माग्ने असम्बन्धित अनि १०–२० वर्षपहिलाका सूचना पनि माग्ने गरेको गुनासोमा उनले भने, ‘सूचना माग्नेले आफ्नाबाहेक अरूको पनि सूचना माग्न पाउँछन्, यस अर्थमा सूचना असम्बन्धित नै हुन्छ भन्न मिल्दैन।’

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सूचना माग्दा आफूहरू छ्यांगै भएर सूचना दिन तर नांगो भएर नदिन सहभागी सूचना अधिकृतहरूलाई निर्देशन दिए। नागरिकको सूचनाको हकलाई कुण्ठित नगरी सूचनाका नाममा गोपनीयताको हकको उल्लंघन नगर्न उनको निर्देशन थियो।

जिल्ला हुलाक कार्यालय भक्तपुरकी प्रमुख सीता शर्माले आफूहरूले जिल्लावासीको सूचनाको हकको सुनिश्चित गर्न निरन्तर पहलकदमी गर्दै आएको जनाइन्। कार्यक्रम जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला हुलाक कार्यालय भक्तपुरको संयुक्त आयोजनामा भएको थियो। कार्यक्रममा जिल्लाका चार दर्जन सरकारी कार्यालयका सूचना अधिकृतहरू सहभागी थिए।

प्रकाशित: २४ वैशाख २०८२ ०८:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App