९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

सरकारका प्रवक्ता भन्छन्: राजावादी आन्दोलनमा गएर मर्नेहरू सहिद घोषणा हुन्नन्

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राजावादी आन्दोलनमा गएर ज्यान गुमाउनेहरूलाई सहिद घोषणा नगरिने बताएका छन्। मंगलबार नेपाल पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्। 

‘१५ गतेको घटनामा सविन महर्जन प्रतिगामी आन्दोलनमा सत्ता विप्लवको आन्दोलन हो नि त्यो,’ मन्त्री गुरुङले भने, ‘उनीहरूले सके त्यो दिन अराजकता फैलाएर यस्तो भयावह अवस्था सिर्जना गर्थे कि काठमाडौं राजावादीको हातमा गयो भनेर सिंहदरबार आत्मसमर्पण गर्नुपर्ने। यो बहुदलीय व्यवस्था समाप्त पार्ने, यो गणतन्त्र समाप्त पार्ने।’ 

त्यस्तो आन्दोलनमा जाने धनी होस् कि गरिब जुनसुकै वर्गको मान्छे भए पनि त्यसले गरेको राजनीतिक विचारको समर्थन गर्‍यो भन्ने कुरा आउने उनले बताए।  उनले भने, ‘लोकतन्त्रको समर्थन गर्‍यो कि अधिनायकतन्त्रको ? हामीजस्तै मान्छेहरू के भन्छन् फेरि लोकतन्त्र मासेर राजतन्त्र ल्याउँछु भनेर लागेको आन्दोलनकारी मर्‍यो, त्यसलाई चाहिँ सहिद गर्नुपर्‍यो रे।’

यो कुरा पनि लोकतन्त्रवादी र गणतन्त्रवादीबाट आएको भन्दै उनले आक्रोश व्यक्त गरे । ‘यो कुरा लोकतन्त्रवादी र गणतन्त्रवादीले भनिदिएपछि राजनीतिको यो नौटंकी कहिले समाप्त हुन्छ?’, उनले प्रश्न गरे। 

गणतन्त्रवादी भन्नेहरूले आफ्नै गाउँ, प्रदेश, जिल्ला वा निर्वाचन क्षेत्रको भएपछि यो कुरा प्रस्ट भन्नुपर्ने उनले बताए। ‘राजावादी आन्दोलनमा जानेहरू चाहिँ राजावादी आन्दोलनमा मर्‍यो अनि लोकतन्त्रवादीले सहिद घोषणा गर्ने कुरा हुन्छ?,’ उनले प्रश्न गरे।

०४६ सालको आन्दोलमा ४९ जना र ०६२/६३ को आन्दोलनमा १९ जना मारिएकालाई पूर्व राजा ज्ञानेन्द्र शाहले सहिद घोषणा नगरेको पनि मन्त्री गुरुङले बताए। उनले भने, ‘पछि हाम्रो सरकार आएपछि हामीले घोषणा गर्नुपर्‍यो। सविन महर्जनलाई सहिद घोषणा गर्न त राजा ज्ञानेन्द्रको शासन आएपछि गर्ने हो।’ 

पत्रकार सुरेश रजकको भने बेग्लै कुरा रहेको उनले बताए। 

प्रकाशित: २३ वैशाख २०८२ १७:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App