नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारसँग ट्युनिङ नमिल्दा नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको दाबी गरेका छन्। मङ्गलवार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै भट्टराईले यस्तो बताएका हुन्।
यसअघि सोमबार सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टिप्पणी गरेका थिए। सोही बेला दाहालले बोलेको प्रसङ्गमा जवाफ दिँदै भट्टराईले भने, ‘केही कर्मचारीलाई सरकारले हटायो, त्यो सरकारको अवशिष्ट अधिकार हो, कर्मचारी सरकारको मातहत हुन्छ। त्यसमा समीक्षा गर्न सकिन्छ।’
उनले दाहाल प्रधानमन्त्री हुँदा प्रधानसेनापति रुक्मांगत कटुवाललाई हटाएको प्रसङ्ग पनि निकाले । ‘कमरेड प्रचण्डलाई भन्न चाहन्छु तपाईँले प्रधानसेनापति हटाउनुभएको थियो त। कसरी हटाउनुभएको थियो?,’ उनले भने, ‘अस्तिकै कार्यकालमा काम गरिरहेकै मुख्यसचिव हटाउनुभयो हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पद बनाउनुभयो। अनि अर्को को मुख्य सचिव बनाउनु थियो तपाईँले।’
अहिले केपी ओलीको सरकारले एउटा सह सचिव स्तरको कर्मचारी हटाउँदा यत्रो चिन्ता किन भन्दै उनले प्रश्न गरे।
‘तपाईँलाई यत्रो चिन्ता किन ? तपाईँको मुटु मै गोली लागेजस्तो किन भएको छ? यो त मुटुमै गोली लागेजस्तो भइरहेको छ उहाँलाई,’ सांसद भट्टराईले भने।
‘एउटा सहसचिव स्तरको कर्मचारी हो, सरकारसँग उहाँको ट्युनिङ मिलेन,उसको एउटा बन्दो बस्ती भयो,’ भट्टराईले भने। प्रधानसेनापतिलाई हटाएको र मुख्यसचिवलाई जगेडामा राखेजस्तो कुरा त्यो नभएको पनि उनले दाबी गरे।
प्रकाशित: २३ वैशाख २०८२ १३:१५ मंगलबार





