सत्तारूढ नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रम व्यवस्थित र चुस्त रहेको निष्कर्ष निकालेको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
बैठकले मुख्यत: दुई निष्कर्ष निकालेको छ । दोस्रो निष्कर्ष हो–मुलुक राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको छ। उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम तुलनात्मक रूपमा पहिलेको भन्दा बढी व्यवस्थित र चुस्त रहेको पहिलो निष्कर्ष निकालेको बताए।
‘नीति तथा कार्यक्रम आइ नै सकेको छ र त्यो विगतको तुलनामा धेरै व्यवस्थित, चुस्त र दिशा निर्देशका हिसाबले पनि सही भएको बैठकले निष्कर्ष निकालेको छ,’ उनले भने, ‘त्यसमा नेताहरूले आगामी नीति तथा कार्यक्रम र बजेट कस्तो हुनुपर्छ भन्नेबारे पनि विचार राख्नुभएको छ।’ उनले मुलुक राजनीतिक स्थायित्व र नीतिगत स्थिरता दुवै तवरले सही बाटोमा रहेको भनी बैठकले दोस्रो निष्कर्ष निकालेको हो।
‘मुलुक मूलत: राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अगाडि बढिरहेको छ। यद्यपि यसलाई कमजोर पार्न विभिन्न पक्ष क्रियाशील छन्। तर त्यो प्रयास सफल नभएको र उल्टै कमजोर बन्दै गएको छ। त्यसकारण मुलुक राजनीतिक स्थायित्वको दिशामा अघि बढेको बैठकको निष्कर्ष छ,’ उपमहासचिव ज्ञवालीले भने।
प्रकाशित: २२ वैशाख २०८२ ०६:१९ सोमबार





