संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची भएको बताएका छन् ।
मंगलबार तेस्रो राष्ट्रिय लेखक दिवसको अवसरमा आयोजित राष्ट्रिय लेखक पुरस्कार तथा मानार्थ सदस्य सम्मान विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले बीपी कोइरालाको भनाइ उद्धृत गर्दै राजनीतिमा प्रजातन्त्रवादी र लेखनमा अराजकवादी भन्नुको आशय उल्लेख गरे । मन्त्री पाण्डेले भने, लेखकलाई लोकतन्त्रमा नियन्त्रण गर्न खोज्नु अनुचित हुने स्पष्ट पार्नुभयो। लेखन लोकतन्त्रसँग मिल्दोजुल्दो अभ्यास हो। लेखनमा लगाम लगाउने हो भने लोकतन्त्र रहँदैन। लेखक र लोकतन्त्र एक अर्काका पर्यायवाची हुन्।”
मन्त्री पाण्डेले लोकतन्त्रप्रति समर्पित विद्वानहरू जस्तोसुकै कठिन परिस्थितिमा पनि एकजुट हुनसक्ने स्मरण गर्दै वर्तमान समयमा निराशाको खेती बढ्दै गएकाले आशा र सकारात्मक सन्देश दिन लेखकहरूको भूमिकाको आवश्यकता औल्याए ।
उनले पछिल्लो समय लेखकहरूबाट गुणस्तरीय पुस्तक, गीत तथा संगीतहरू सिर्जना भइरहेको उल्लेख गरे । साथै, राजनीतिमा पनि पारदर्शिता र स्वच्छता खोजिने वातावरण सिर्जना हुँदै गएको धारणा राखेका थिए ।
कार्यक्रममा आख्यानकार ध्रुवचन्द्र गौतमलाई आख्यानकार पुरस्कार प्रदान गरिएको थियो भने वैरागी काइलासहित ३२ जना व्यक्तिहरूलाई मानार्थ सदस्य सम्मान प्रदान गरिएको थियो।
प्रकाशित: १६ वैशाख २०८२ १६:३४ मंगलबार





