नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा देखिएको असन्तुष्टि र बेचैनीको अवस्थाको कारोबार गर्दै उत्तेजनामा नलगेर सम्बोधन गर्नुपर्ने बताएका छन्। सोमबार कांग्रेसको उद्योग तथा व्यापार विभागले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।
‘नेपाली कांग्रेस पार्टीले के कुरालाई मनन गरिरहेको छ भने राजनीतिक उपलब्धिका सन्दर्भमा नागरिकले सन्तोष मानिरहे पनि आजका दिनमा एउटा ठुलो बेचैनी देखिन्छ, असन्तुष्टि देखिन्छ,’ महामन्त्री थापाले भने, ‘त्यो असन्तुष्टि र बेचैनीको मुख्य कारण भनेको हामीले सिर्जना गरेको राजनीतिक बदलावपछाडि आम नागरिकको जीवनमा जुन बदलाव आउनुपर्ने कुराको हामीले बाचा गरेका थियौँ, नागरिकले अपेक्षा गर्नुभएको थियो, तदअनुरुप हुन सकिरहेको छैन। जसको कारण असन्तुष्टि छ।’
यो असन्तुष्टिलाई हटाउनुपर्छ भन्ने कांग्रेसले चाहेको उनले बताए। उनले भने, ‘असन्तुष्टिको कारोबार गर्ने होइन, असन्तुष्टिलाई उत्तेजनामा लैजाने होइन, यसलाई सम्बोधन गर्नुपर्छ र बेचैनीलाई हटाउँदै जानुपर्छ भन्ने हामी ठान्दछौँ। त्यही अनुरूप हामी काम गर्न जान चाहन्छौँ।’
कांग्रेस र एमाले मिलेर बनेको सरकारको मुख्य विषय नै यही रहेको बताए। ‘यही सोचिकन खास गरी अहिले अर्थतन्त्रमा देखिएका समस्याहरू छन्, संकटहरु छन्, यसलाई सम्बोधन नगरी नागरिकको असन्तुष्टि सम्बोधन हुन सक्दैन भनेर हामीले नमुनामा भए पनि कारणमा काम गर्नुपर्छ भनेर केही काम अगाडि पनि बढाएका छौँ,’ महामन्त्री थापाले भने।
केही समयअगाडि संसद्ले केही कानुन अगाडि बढाएको उनले स्मरण गराए। उनले भने, ‘यद्यपि हामीले त्यसलाई प्रारम्भ मात्रै मानेका छौँ। त्यसले सकारात्मक सन्देश दिन्छ।’
अहिले राम्रो–नराम्रो जे भने पनि राम्रो मात्रामा रेमिट्यान्स आइरहेको र लगानीयोग्य रकम पनि पर्याप्त रहेको उनले बताए। सार्वजनिक वित्तकै अवस्था हेर्दा पनि अहिले पनि ठुलो मात्रामा सार्वजनिक ऋण परिचालन गर्न सकिने अवस्था रहेको उनले धारणा व्यक्त गरे।
‘यी सबै हुँदाहुँदै पनि हाम्रा आर्थिक गतिविधि संकुचित भएका छन्। यस्तो अवस्थामा केही कुरामा सुधार गर्ने हो भने आर्थिक गतिविधिलाई ठिकठाक अवस्थामा ल्याउन सकिने हामी ठान्छौँ,’ उनले भने।
प्रकाशित: १५ वैशाख २०८२ १३:०६ सोमबार

