नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको गएराति निधन भएको छ। लामो समयदेखि प्रोस्टेट क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका ७७ वर्षीय डंगोलको सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको परिवारले जनाएको छ।
२००४ सालमा काठमाडौं मा जन्मिएका डंगोल कांग्रेस काठमाडौं को कोषाध्यक्ष, जिल्ला सभापति र काठमाडौं महानगरपालिकाको पूर्वउपप्रमुख थिए। राजनीतिमा जुझारू नेताका रूपमा परिचित उनी २०६२/६३ को जनआन्दोलनमा काठमाडौंमा कमान्डरका रूपमा खटिएका थिए।
उनकी श्रीमती छन्। उनको नाममा स्थापित ट्रस्टले हरेक वर्ष शिक्षा, पत्रकारिता र नेपाल भाषामा योगदान गर्ने व्यक्तिलाई पुरस्कार दिँदै आएको छ। उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र आजै टेकू दोभानमा अन्त्येष्टि गरिने पूर्वमन्त्री भिमसेन दास प्रधानले बताए। रासस
प्रकाशित: १३ वैशाख २०८२ ०९:१३ शनिबार





