आज (मंगलबार) संघीय संसदका तीन वटा समितिको बैठक बस्दै छ।
संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित समितिका कार्यालयमा बस्ने छन्। जस अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ः३० बजेवाट सुरु हुने छ। जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेडयुनियनसँग छलफल हुने छ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भने खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका काम कारबाही, कार्यप्रगति, अगामी आर्थिक वर्षको बजेट र कार्यक्रम सम्बन्धमा मन्त्रालयको तयारीका बारेमा छलफल हुने छ। यो बैठक बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ।
साथै, विधायन व्यवस्थापन समितिका बैठक दिउँसो १ बजेबाट सुरु हुने छ। यो बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल हुने संसद सचिवालयले जनाएको छ।
प्रकाशित: ९ वैशाख २०८२ ०७:४३ मंगलबार