बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आठौँ बागलुङ महोत्सव शुक्रबार सुरु भएको छ । बागलुङ नगरपालिका—१ रामरेखाको बाँगेचौर खेलमैदानमा महोत्सव सु भएको हो । आठौँ बागलुङ उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महोत्सवले यहाँको स्थानीय उत्पादनको प्रवद्र्धन र पर्यटनको विकासमा लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
‘यहाँहरुले आयोजना गरेको महोत्सवले यहाँको पर्यटन क्षेत्रको विकासका लागि ठूलो सहयोग पुग्ने मलाई लागेको छ,’उनले भने,‘महोत्सवको सन्दर्भमा यहाँहरुले जसरी स्थानीय उत्पादनका बस्तुलाई महत्वका साथ राख्नुभएको छ । त्यसले स्थानीय उत्पादनको बजार प्रवद्र्धन र विकासका लागि पनि सहयोग पुग्नेछ ।’ ढकालले यहाँको हरेक क्षेत्रसँग सम्भावना भएको बताए । ‘यहाँको हरेक क्षेत्रमा सम्भावना नै सम्भावना छ, झण्डै चार घण्टाको दुरीमा हामी भारत र चीन दुबैतर्फको सिमानामा पुग्न सक्छौं,’ उनले भने,‘कोरला नाका र सुनौलीसम्म पुग्न चार घण्टाकै दुरीमा पुग्न सकिने हुँदा यो ठाउँले हरेक दृष्टिकोणबाट सम्भावना बोकेको छ ।’
उद्योग वाणिज्य महासंघको सुझाव अनुसार नेपाल सरकारले उपल्लो मुस्ताङमा जाने पर्यटकको शुल्क घटाउनले बताए । नेपाल भित्रिने ४० प्रतिशत पर्यटकहरु पोखरा आउने र उनीहरुलाई बागलुङसम्म ल्याउने वातावरण बनाउन सकेको खण्डमा यहाँको पर्यटन उद्योगले ठूलो फड्को मार्ने उनको विश्वास छ । ‘पोखरा आउने पर्यटकलाई हामीले यहाँ ल्याउन मात्र सक्यौं भने हाम्रो ठाउँको आर्थिक विकासका लागि अरु केही पर्दैन, हामीसँग सबै छ, अब एक्सप्लोर गर्न मात्र बाँकी हो,’अध्यक्ष ढकालले भने ।
शुक्रबारबाट सुरु महोत्सव महोत्सव पुस २१ गतेसम्म चल्नेछ । बागलुङका सबै स्थानीय तह, धौलागिरिका म्याग्दी पर्वत उद्योग वाणिज्य संघ, बागलुङ कालिका भगवती गुठी, बानपा—१ लगायतका संस्थाहरु महोत्सवको सहआयोजकको रुपमा रहेका छन् । महोत्सवको उद्घाटन कार्यक्रममा आठौं महोत्सव आठ स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । विभिन्न ८ विद्याका क्षेत्रबाट समाजमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरुलाई उद्घाटन कार्यक्रममा सम्मान गरिएको हो ।
महोत्सवको अवसरमा संस्थागत सम्मानमा उद्योग वाणिज्य संघ चितवन, हस्तकलातर्फ ठाकुरजङ राजभण्डारी, राष्ट्रिय क्रिकेट खेलाडी सुवास भण्डारी, कला संगितको क्षेत्रमा योगदान पु¥याएका शुभराम भारी, व्यवायिक प्रतिष्ठानबाट सिद्धार्थमिलन श्रेष्ठ, सगरमाथाको उचाई नाप्ने रबिन कार्की, बुर्तिबाङबाट राष्ट्रिय महिला भलिबलको टिममा पर्न सफल मिना सुनार, जेनजी आन्दोलनमा सहिद भएका शौरनकिशोर श्रेष्ठलाई जेनजी सुशासन योद्धाको रुपमा मरणोपरान्त सम्मान प्रदान गरिएको छ ।
महोत्सवमा विभिन्न खेलकुद, मनोरञ्जन तथा अन्य प्रतिस्पर्धात्मक कार्यक्रमसंगै रचनात्मक कार्यक्रम आयोजना गरिएको छ । महोत्सवमा देश विदेशमा चर्चितक कलाकारहरुको साङ्गीतिक प्रस्तुती, दोहोरीगित प्रतियोगिता, महिला पुरुष भलिबल प्रतियोगिता, स्टोरी टेलिङ प्रतियोगिता, स्टार्टअप पिचिङ लगायतका अन्य कार्यक्रमहरुको पनि आयोजना गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले बताए ।
‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार, समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नाराका साथ ११ गतेदखि पुस २१ सम्म सञ्चालन हुने महोत्सवमा अँग्रेजी नयाँ वर्षलाई विशेष बनाउन व्याण्ड सहितको कार्यक्रम आयोजना गरिएको छ भने उक्त दिन राती १२ बजेसम्म कार्यक्रम हुने बताईएको छ । महोत्सवमा टिकट दर एक सय रुपैयाँ र विद्यार्थीलाई ७० टिकट व्यवस्थापन गरिएको छ । १६ र १८ गते विशेष कन्सर्ट हुने भएकाले टिकटदर बढ्ने आयोजकले जनाएको छ ।
ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यालयहरुले सामुहिक रुपमा विद्यार्थीहरुलाई महोत्सव अवलोकनमा लैजाँदा पनि प्रवेश शुल्क नलाग्ने टिकट व्यवस्थापन उपसमिति संयोजक नबिन श्रेष्ठले बताए । महोत्सवको टिकटको अर्धकट्टी सहित बागलुङमा रहेको विएसआर मुभिजमा फिल्म हेर्न गएर एक वटा टिकट काट्दा एक जनालाई फ्रि र खाजा खाएमा १०% छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
महोत्सवको अवसरमा हेलिकोप्टरबाट साविक धौलागिरी अञ्चलका पर्यटकीयस्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । प्रतिव्यक्ति ९ हजार रुपियाँमा सात मिनेटमा धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । ५० लाख नाफा हुने अपेक्षा लिइएको महोत्सवमा दुई करोड २० लाख रुपैयाँ आम्दानी र १ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
महोत्सवमा खुल्ला राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, पञ्चेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भाले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तित्वकला, लठो तान्ने, घैटोफोर, तारा हान्ने प्रतियोगिता, विभिन्न झाँकी प्रदर्शनी र राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुती सहित मेलाको समयमा पर्ने अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा लाइभ डिजे कन्र्सट हुने प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिए ।
प्रकाशित: ११ पुस २०८२ १९:३९ शुक्रबार





