प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडक खण्डको गैँडाकोट क्षेत्रको निरीक्षण गरेका छन्। विभिन्न कार्यक्रममा सहभागी हुन हेलिकोप्टरबाट चितवन आएका प्रधानमन्त्री ओली कछुवा गतिमा निर्माण भएको सडकको अवस्था बुझ्न गैँडाकोट पुगेका हुन्। सडक निर्माणको कामले तीव्रता नलिएपछि एक वर्षअघि प्रधानमन्त्री ओलीले ठेक्का तोड्ने चेतावनी दिँदै निर्माण कम्पनीलाई एक वर्ष म्याद थप गर्ने निर्णय गरेका थिए।
अनुगमनका क्रममा ओलीले पछिल्लो समय सडक विस्तारको कामले तीव्रता पाएको बताएका छन्। अब निर्माण कार्यमा कुनै ढिलाइ गर्न नहुने बताए। सडक निरीक्षणकै क्रममा उनले निर्माणमा संलग्न ‘चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड’का प्रतिनिधिसँग समेत सडकको प्रगतिबारे जानकारी लिएका थिए।
प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सचिव केशवकुमार शर्मासमेत सहभागी रहेका थिए। देशकै प्रमुख राजमार्ग निर्माणमा ढिलाइ हुँदा जनताले दुःख पाएको उल्लेख गर्दै उनले चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिए।
बिहीबार भौतिकमन्त्री दाहालसमेत तीन घण्टा जाममा परेका थिए। नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लो हुँदा यातायात आवागमनमा बिहीबार र शुक्रबार सडक अवरुद्ध भएको थियो। नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड)का सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार दाउन्नेमा बिहीबारदेखि सडकमा जाम हुँदा सवारी आवागमनमा अवरुद्ध भएको हो।
बर्दघाट र दुम्कीबासको बीचमा पर्ने १३ किलोमिटर सडक खण्डमा हिजो ३ बजेदेखि सवारी साधन जाममा परेको उनले जानकारी दिए। ‘हिजो ३ बजे पानी परेपछि सडक चिप्लो हुँदा तीन घण्टा ठप्प भयो,’ इन्जिनियर खनालले भने, 'त्यसपछिको जाम बिहीबार दिउँससम्म थियो।'
नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत १ सय ११ किलोमिटर सडकको स्तरोन्नति भइरहेको छ। अहिले ६३ प्रतिशत भौतिक प्रगति भएको नारायणगढ बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताएका छन्।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका काम समयमा नै नसकिँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन्। दाउन्ने क्षेत्रको १३ किलोमिटर सडक विस्तारको कम रातीमा सडक बन्द गरेर गर्न थालिएको छ।
प्रकाशित: ५ वैशाख २०८२ २०:४० शुक्रबार





