पर्यटकीय नगरी सूर्याेदय नगरपालिकालाई विश्वभर चिनाउने उद्देश्यले १५ देशका राजदूत इलाम भ्रमणमा आएका छन् । नयाँ वर्षको अवसरमा उनीहरूले अन्तु, कन्यामलगायत पर्यटकीय क्षेत्रको भ्रमण गरेका छन् ।
परराष्ट्र मन्त्री आरजु राणा देउवासहितको टोली नयाँ वर्ष २०८२ अवसरमा सूर्याेदय नगरको भ्रमणमा आएको हो । सूर्योदय नगरपालिकाको स्थानीय संयोजनमा राजदूत र मन्त्रीले यहाँको अन्तुपोखरी, अन्तुडाँडा, स्थानीय सुन्दर चियाबारीलगायत अवलोकन गरेका छन् । उनीहरूले अन्तुपोखरीमा डुंगा सयर र फिसिङसमेत गरेका छन् । अन्तुको चियाबारीमा चिया टिपेका छन् भने दुई दर्जना हाराहारी गुणस्तरका तयारी चियाको स्वाद टेस्टसमेत गरेका छन् ।

भ्रमण टोलीमा युके, स्विट्जल्यान्ड, इजिप्ट, थाइल्याण्ड, दक्षिण कोरिया, फ्रेन्स रिपब्लिक, अस्ट्रेलिया, इजरायल, जापान, श्रीलङ्का, बंगलादेश, मलेसियालगायत देशका राजदूत छन् । उनीहरूको भ्रमणले सूर्याेदय नगरसहित इलामको पर्यटन विकासमा महŒवपूर्ण भूमिका निर्वाह गरेको सूर्याेदयका मेयर रणबहादुर राईले बताए । ‘मित्र राष्ट्रका राजदूतहरूले इलाम भ्रमण गर्नुले सिंगो इलामको पर्यटन विकासमा टेवा पुग्छ,’ उनले भने, ‘उनीहरूका माध्यमबाट अरू पर्यटक यहाँ आकर्षित गर्ने सम्भावना धेरै छ ।’
उनीहरूले कन्याममा घोडा चढेर पनि आनन्द लिए । स्थानीय जातजातिका सांस्कृतिक झाँकी र स्थानीय परिकारले उनीहरूलाई स्वागत गरिएको थियो । उनीहरूलाई चिया, दूध, अलैंचीलगायत स्थानीय उत्पादनसमेत चखाइएको छ । चियाको बोटमै आएर टिप्न र चाख्न पाउँदा आनन्द अनुभूत भएको अस्ट्रेलियाका राजदूत लेनान जोनस्टनले बताए । टोलीमा परराष्ट्र मन्त्रालयका कर्मचारी, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रतिनिधिलगायतको समेत सहभागिता छ ।
प्रकाशित: १ वैशाख २०८२ १६:२२ सोमबार