प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठूला दलहरूको सहभागितामा गठित सरकारले देशलाई स्थिरता, विकास र सुशासनको दिशामा अघि बढाएको बताएका छन्।
झापाको दमकमा शनिबार आयोजित एमाले झापा जिल्ला कमिटीको जागरण सभालाई सम्बोधन गर्दै उनले जनताले राजतन्त्रलाई अस्वीकार गरिसकेको उल्लेख गदै त्यसलाई पुनर्जनन गर्ने भ्रममा नपर्न आग्रह गरे।
“देश अब कानुन र विधिको बाटोमा अघि बढ्छ। आन्दोलनको नाममा अराजकता मच्चाउने, बैंक डुबाउने र हिंसा भड्काउनेहरूलाई जनताले पत्याएका छैनन्,” प्रधानमन्त्री ओलीले भने, “तीनकुनेको अराजक घटनाले यस्ता तत्वहरूको वास्तविक अनुहार उदांगो भएको छ।”
उनले विगतमा पार्टीभित्रका स्वार्थी र फुटवादी तत्वले एमालेलाई कमजोर पार्ने प्रयास गरे पनि जनताको अभिमतबाट पुनः सत्तामा फर्किएको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले रोकिएका विकास आयोजनाहरूलाई तीव्रता दिइने र आगामी बजेटमा नयाँ नीति तथा कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गरे।
“कृषिको आधुनिकीकरण, उद्यमशीलता विकास र निजी क्षेत्रको सहभागितालाई प्राथमिकता दिइनेछ। घाटामा रहेको अर्थतन्त्र उकालो लाग्न थालेको छ,” उनले भने। भूमिहीन र सुकुम्बासीका समस्या समाधानका लागि संसद्को आगामी अधिवेशनमा कानुन ल्याइने उनले जानकारी दिए।
कोशी प्रदेशलाई विविधतायुक्त र जागरूक प्रदेशको रूपमा चित्रण गर्दै ओलीले एमालेका कमिटीलाई घरघरमा पुगेर जनताको विश्वास जित्न निर्देशन दिए। युवाहरूलाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
एमालेले वैशाख ११ गते लोकतन्त्र दिवसका अवसरमा काठमाडौंमा युवा महोत्सव आयोजना गर्ने घोषणा गर्दै प्रधानमन्त्री ओलीले ४० वर्षमुनिका युवालाई सहभागी हुन आह्वान गरे।
“अरू कुनै दलले यति ठूलो संख्यामा युवा भेला पार्न सक्दैन। हाम्रा युवा देश निर्माणमा जुट्नेछन्,” उनले दाबी गरे।
कार्यक्रममा एमाले उपाध्यक्ष गुरु बराल, सचिव योगेश भट्टराई, कोशी प्रदेश इञ्चार्ज शेरधन राई र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि सम्बोधन गरेका थिए।
प्रकाशित: ३० चैत्र २०८१ १६:१४ शनिबार





