२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

सार्वभौम जनता रैती बन्न तयार छैनन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौमसत्ता सम्पन्न नेपाली जनता अब आफूलाई रैती बनाउने पक्षमा नरहेको बताएका छन्। नेकपा (एमाले)ले आज (शुक्रबार) बुटवलमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अगाडि बढिसकेको देश अब कुनै पनि हालतमा पछाडि फर्कन नसक्ने बताए।  

पूर्वराजा तथा राजसंस्थालाई मसानघाटमा सड्न लागेको नलीहाडसँग तुलना गर्दै उनले अब देश पछाडि नफर्कने दाबी गरे। ‘अहिले केही मानिसहरू मसानघाटमा सड्न लागेको नलीहाडलाई निकालेर फु–फु गर्दै यसलाई ब्यूँझाउँछौँ, यसलाई ल्याएर देशमा पुनःस्थापना गर्छौँ भनेर लागिरहेका छन्, तर अब जनता सार्वभौम भएको अवस्थाबाट रैती बन्न तयार छैनन्। देश अगाडि बढिसकेको छ, पछाडि फर्कँदैन,’ ओलीले भने।  

राजतन्त्र र पञ्चायती व्यवस्थामा मुलुकमा कुशासन र निरङ्कुशताको राज चलेपछि बलिदानीपूर्ण सङ्घर्षबाट लोकतान्त्रिक गणतन्त्र ल्याइएको भन्दै उनले प्रतिगामी तत्त्वहरूलाई जनताले नै परास्त गर्ने बताए।  

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राजावादी आन्दोलनका नाइकेहरूलाई झिँगासँग तुलना पनि गरे। ‘अहिले प्रतिगमनका हल्ला चलाउनेहरूले मानिसका घरमा आगो लगाएका छन्, घर–घरमा ढुङ्गा हानेका छन्। रक्सीका बोतल लिएर भागेका छन्। रक्सीका बोतल लिएर भाग्नेहरूले, हुल्लडबाजी गर्नेहरूले कस्तो परिवर्तन गर्छन्?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे।  

राणा शासन सिध्याएर, राजतन्त्र सिध्याएर पचाएका पार्टीहरूलाई सिध्याउँछौँ भन्ने कुसङ्कल्प केही प्रतिक्रियावादी तत्त्वहरूले गरिरहेको भन्दै उनले त्यसको पछाडि नलाग्न युवाहरूलाई आग्रह गरे।  

वर्तमान सरकार २०८४ सम्मै जाने दाबी गर्दै ओलीले भने, ‘यो सरकार ढल्छ भन्ने कसैलाई लागेको छ भने म चुनौतीका साथ भन्छु– यो सरकार ढल्ने होइन, हल्लिँदा पनि हल्लिँदैन।’ युवाहरू कसको साथमा छन् भन्ने देखाउन वैशाख ११ गते काठमाडौँमा एमालेले युवा सम्मेलन गर्न लागेको जानकारी दिँदै उनले उक्त कार्यक्रमले एमालेप्रतिको बढ्दो लोकप्रियता पुष्टि गर्ने दाबी गरे।  

एमालेले सरकारको नेतृत्व गरेपछि विकासको बिछट्टै लहर चलेको उनले दोहोर्‍याए। २०७२ सालमा संविधान बनाएर एमाले सरकारमा गएपछि बल्ल देशमा विकासले गति लिएको उनको दाबी छ। ‘जब–जब एमाले सरकारमा जान्छ, तब मात्र विकासले गति लिन्छ। अहिले एमाले सरकारमा छ, त्यसैले विकास फर्किएको छ, रफ्तार पक्रिएको छ,’ एमाले अध्यक्षसमेत रहेका ओलीले भने।  

उद्घाटनको दुई वर्ष बित्दासम्म अन्तर्राष्ट्रिय उडानहरू नियमित हुन नसकेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, ६ वर्षदेखि अलपत्र हुँदा जनताले सास्ती भोग्दै आएको बुटवल–नारायणघाट सडक, वर्षौँदेखि अलपत्र अवस्थामा रहेको सालझण्डी–ढोरपाटन सडकलगायत आधा–अधुरा आयोजनाहरूको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले ती आयोजनाहरू अन्य सरकारका पालामा रोकिएको तर आफू हुँदा रफ्तारमा अगाडि बढेको दाबी गरे।  

नेकपा (एमाले)ले सत्तामा पुगेपछि के गर्छ भन्ने प्रश्नको जवाफ पाउन वृद्ध बुबाआमालाई सम्झिए पुग्ने उनले बताए। ‘२०५१ मा सरकारमा टेक्न नपाउँदै एमालेले वृद्ध भत्ता दियो। सरकारमा त अन्य पार्टी पनि गए, तर वृद्ध बुबाआमालाई एमालेले मात्र सम्झियो,’ ओलीले भने। युवाहरूको विदेश पलायन रोक्न गाउँ–गाउँमा विकासको लहर चलाएको उनले बताए।  

सरकारको बढ्दो लोकप्रियताकै कारण प्रतिक्रियावादीहरू आत्तिएर डराएर नानाभाँती हल्लाहरू चलाएको उनको भनाइ छ। ओलीले एमालेका पूर्वनेताहरूप्रति पनि आरोप लगाउन भ्याए। आफ्नो लोकप्रियता बढेपछि आत्तिएका प्रतिक्रियावादीहरू र देशी–विदेशी शक्तिको आडमा केही नेताहरूले आफ्नै घरमा आगो झोस्न खोज्दा आफैँ खरानी हुने अवस्थामा पुगेको उनले दाबी गरे।  

देशलाई अस्थिरतातर्फ धकेल्न सरकार ढाल्ने खेल मात्र चल्न थालेपछि त्यसको निकासका लागि एमाले र कांग्रेसबीच गठबन्धन गरिएको उनले बताए। ‘एमाले र कांग्रेसजस्ता जिम्मेवार पार्टीहरू मिलेर राजनीतिक स्थायित्व दिँदै मुलुकमा विकास र सुशासन कायम गर्नुपर्छ भनेर वर्तमान सरकार बनाएका हौँ। यसले मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाएको छ,’ प्रधानमन्त्री ओलीले भने। देशमा केही भएको छैन भनेर अफवाह फैलाइएको भन्दै उनले निराश नहुन र समृद्धिको यात्रामा सरकारलाई साथ दिन आग्रह गरे।  

नेकपा (एमाले)जस्तो झुझारु पार्टी अरू नभएको दाबी गर्दै उनले देशमा एमाले विनाको राजनीति र ओली विनाको एमाले सम्भवै नभएको ठोकुवा गरे। आफू हुँदासम्म एमाले यत्तिकै बलियो रहेको र आफ्नो समयपछि झन् बलिया पाखुरा भएका नेताले पार्टी हाँक्ने उनले बताए। तत्काल ओली विनाको एमाले सम्भव नभएको भन्दै उनले त्यसका लागि अझै १०–१५ वर्ष कुर्नुपर्ने बताए।  

शिक्षक आन्दोलनप्रति पनि उनले तीखो टिप्पणी गरे। भावनामा बगेर समस्याको समाधान नहुने भन्दै उनले शिक्षकहरूलाई आन्दोलनमा रहनुपर्ने अवस्था नै नरहेको बताए। ‘समस्या होलान्, हामीले छैन भनेकै छैनौँ, तर तपाईंहरू पनि संवेदनशील हुनुपर्‍यो, जिम्मेवार हुनुपर्‍यो। सरकार हरेक समस्याको समाधान खोज्न तयार छ,’ प्रधानमन्त्री ओलीले भने।  

जागरण सभामा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले तिनकुनेको घटनाबाटै अराजकतामा रमाउन खोजेका दरबारियाहरूको चरित्र उदाङ्गो भएको बताए। प्रधानमन्त्री ओलीको नेतृत्वमा भएका राम्रा कामहरूलाई ओझेलमा पार्न प्रतिक्रियावादीहरू लागेको भन्दै उनले त्यसलाई चिरेर अगाडि बढ्ने बताए। एमाले सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले विपक्षी र प्रतिगामी पक्षहरूबाट गरिएका गलत प्रचारको पछाडि नलाग्न आग्रह गर्दै एकजुट भएर अगाडि बढ्नुपर्ने बताइन्।  

नेकपा (एमाले) रूपन्देहीले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जागरण सभाको आयोजना गरेको हो। सभा अघि बुटवलमा मोटरसाइकल र्‍याली गरिएको थियो। सभामा बीसौँ हजार कार्यकर्ता जुटाउने भन्दै पार्टीले अनिवार्य उपस्थितिका लागि कडा निर्देशन जारी गरेको भनिए पनि एमालेका विगतका कार्यक्रमहरूमा भन्दा यसपटक सहभागीको सङ्ख्या कम देखिन्थ्यो।

प्रकाशित: २९ चैत्र २०८१ २०:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App