जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साहले आफूलाई पार्टी अध्यक्ष डा. सीके राउतले धम्की दिएको बताएका छन्।
२०८१ असोज ७ गते सोमबार करिब १२ बजेर ३८ मिनेटको समयमा फोन गरेर 'साहहरूले पार्टी कब्जा गर्न खोजेका छन्, तिमीलाई बर्बाद गरिदिन्छु' भनेर अध्यक्ष राउतले धम्क्याएको साहले बताएका छन्।
अध्यक्ष राउतको उक्त धम्कीबारे आफूले पार्टीको स्थायी समितिका सदस्यहरूलाई समेत जानकारी गराएको साहले बताएका छन्। 'पछि महेश इसर र नरेन्द्र चौधरीसँग २/३ पटक छलफल गरेर अन्तमा राउतसँगै बसी अब यस्ता कुराकानी नगर्ने अमूर्त सहमति भएको थियो,' उनले भने।
साहले अध्यक्ष राउतको त्यो धम्की कार्यान्वयन भएको जिकिर गरेका छन्। उनलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ। साहले उक्त कारबाहीलाई अध्यक्ष राउतको उक्त धम्कीको कार्यान्वयनका रूपमा अर्थ्याएका छन्।
'त्यो धम्की कार्यान्वयनमा आएको छ। गैरराजनीतिक पोस्टहरूमार्फत मलाई गद्दार घोषित गरिएको छ। यस्ता कार्यहरू मेरो राजनीतिक छवि समाप्त पार्ने, मानसिक तनाव दिनेर चरित्र हत्या गर्ने प्रयास मात्र हुन्,' उनले भनेका छन्।
साहले पार्टीका आफूविरुद्धका यस्ता प्रचार बन्द गर्नुपर्ने बताएका छन्। यदि बन्द नभए आफू आत्महत्या दुरुत्साहन मान्न बाध्य हुने चेतावनीसमेत दिएका छन्। 'यदि यस्तो प्रवृत्ति तत्काल नरोकिए म यसलाई व्यक्तिगत प्रतिशोधको आधारमा नियोजित रूपमा गरिएको आत्महत्या गर्न दुरुत्साहन मान्न बाध्य हुनेछ,' उनले भनेका छन्।
कारबाही फिर्ता लिन आग्रह
साहले पार्टीलाई आफूमाथिको कारबाही फिर्ताका लागि समेत आग्रह गरेका छन्। गत चैत १९ गते पार्टीको अनुशासन समितिलाई पत्र लेख्दै कारबाही फिर्ताका लागि आग्रह गरेका हुन्।
'विसं २०८१/१२/१४ गते पठाइएको कारबाही पत्रप्रति गम्भीर असहमति जनाउँदै स्पष्ट पार्न चाहन्छु कि मैले कहिल्यै जानाजानी जनता, पार्टी वा अध्यक्षविरुद्ध तथा पार्टीको अहित हुने कार्य गरेको छैन। कसैले गलतको विरुद्ध वा कसैको समर्थनमा लेखेकामा समर्थन र विरोध गर्नु जसको पनि अधिकारभित्र पर्दछ। अनुशासन समितिमार्फत लगाइएका निराधार, काल्पनिक र षड्यन्त्रपूर्ण आरोपहरू खारेज गरी ममाथि गरिएको कारबाही तत्काल फिर्ता गर्न अनुरोध गर्दछु,' उनले भनेका छन्।
उनले पार्टीले आरोप मात्रै लगाएको उल्लेख गर्दै अध्यक्ष राउतलाई सन्तानको टाउकोमा हात राखेर कसम खान चुनौतीसमेत दिएका छन्। 'कानुनी मान्यता नभए पनिसत्यताको प्रमाणका लागियदि आरोप लगाउनेले आफ्नो अभिभावक वा सन्तानको टाउकोमा हात राखी सपथ खाए म सम्पूर्ण आरोप स्वीकार गर्न र कारबाही भोग्न तयार छु,' उनले पत्रमा भनेका छन्।
पार्टीले गत फागुन २१ गते साह र पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादवलाई ११ बुँदे स्पष्टीकरण सोधेको थियो। उनीहरूले समयसीमाभित्रै स्पष्टीकरण बुझाएका थिए। तर, चित्त नबुझेको भन्दै पार्टीले साहलाई गत चैत १४ गते कारबाही गर्यो। यसपछि साहले एक हप्ताभित्र कारबाही फिर्ता लिनका लागि पत्र लेखेका हुन्।
प्रकाशित: २५ चैत्र २०८१ १९:२३ सोमबार