पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा भ्रष्टाचार झन् व्याप्त हुँदै गएको बताएका छन्।
सोमबार (आज) पार्टीको झापा जिल्ला कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 'भ्रष्टाचार झनै व्याप्त हुँदै गएको छ,' नेता खनालले भने, 'अरु समस्याहरू पनि उस्तै छन्।'
बहुदल आएपछि पनि भ्रष्टाचारलगायतका समस्याहरू उस्तै रहेको उनले बताए। नेताहरू आफैँ ठूला-ठूला भ्रष्टाचारका घटनासँग जोडिएको उल्लेख गर्दै नेता खनालले भने, 'कतै भाउजूले गरेको योजना भनेर ठूला-ठूला भ्रष्टाचारका काण्डहरू आउँछन्। भाउजू भनेको बुझ्नुहुन्छ नि तपाईंहरू ? राष्ट्रिय भाउजूका कुरा आउँछन् नि। त्यसैगरी विभिन्न नेताहरूसँग जोडिएका काण्डहरू पनि आउँछन्।'
भ्रष्टाचारलगायतका समस्याको अन्त्यका लागि वैकल्पिक बाटो खोज्नुपर्ने भनाइ नेता खनालको छ। अब सिङ्गो कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्दै समाजवादी समाज निर्माणमा जानुपर्ने उनले बताए। त्यसले भ्रष्टाचार नियन्त्रणका लागि काम गर्ने उनले बताए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी तथा बहालवाला परराष्ट्रमन्त्री डा. आरजू राणा देउवालाई आलोचकहरूले 'राष्ट्रिय भाउजू' भन्छन्। नेता खनालले पनि त्यही शब्द उच्चारण गर्दै कार्यकर्तालाई सोधेका हुन्।
प्रकाशित: २५ चैत्र २०८१ १४:५६ सोमबार