राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले विभिन्न चार निर्णय गरेको छ।
शुक्रबार अबेर राति लामिछाने घरबाटै पक्राउ परेपछि भर्चुअल माध्यमबाट बसेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले निर्णय गरेको हो। रास्वपाले बैठकमा अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्ने, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायका लागि अघि बढ्ने निर्णय गरेको छ।
त्यस्तै पक्राउ पुर्जी नै नलिइ प्रहरीहरू सभापतिको घर पुगेको र ‘बेडरूमभित्र बसेर’ पक्राउ पुर्जी लेखेको भन्दै त्यसको भर्त्सना गर्ने निर्णय गरेको छ। उसले निर्णयमा भनेको छ, 'पक्राउ पुर्जी नलिएरै पक्राउ गर्न आउने कुरा मात्र होइन, सभापतिज्यूको घरमा 'त्यो पनि बेडरुमभित्र बसेर' जुन किसिमले पुर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले गर्यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन। नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैर-संवेदनशील र गैरकानुनी कुराको भर्त्सना गर्ने।'
रास्वपाले शनिबार चितनवमा जनयात्रा गर्ने कार्यक्रम यसअघि नै तय भएको थियो। सो जनयात्रा कार्यक्रमलाई सभापति लामिछानेकै निर्देशनअनुसार कार्यक्रम सफल पार्ने निर्णय पनि गरेको छ। निर्णयमा भनिएको छ, 'राज्यले विवेक गुमाएको बेला हामीले विवेक गुमाउनु हुँदैन र हामीले गर्ने सभा शान्त र सौम्य हुनुपर्छ भन्ने सभापतिको निर्देशनबमोजिम सभालाई शान्तिपूर्ण बनाउन तथा हुन सक्ने सम्भावित घुसपैठ, चलखेल तथा बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन निर्देशन दिने।'
यस्तै बैठकले सभापति लामिछानेले उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई कार्यवाहक तोकेको र त्यसलाई अनुमोदन गर्ने निर्णय गरेको छ।
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। आदेश अनुसार लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो। सभापति लामिछाने पक्राउ भए लगत्तै सो पार्टीको सचिवालय बैठक बसेको हो।
प्रकाशित: २३ चैत्र २०८१ ०७:१६ शनिबार