नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरीले अहिलेको जनमत भनेकै हिन्दु राज्य भएको बताएका छन् ।
नेपालगन्ज विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै लोकतन्त्रको विकल्पमा जनता सडकमा नआएको तर, हिन्दु राज्यका लागि जनता उर्लिएको उनले उद्घोष गरे ।
हिन्दु राज्यमा सबै धर्म, जातजातिको उत्तिकै सम्मान हुने भन्दै उनले भने, 'राजा फर्किने कुरा धेरै टाढाको विषय हो । जनता राजाका लागि होइन हिन्दु राज्यका लागि सडकमा पुगेका हुन् ।झ साथै उनले संघीय संरचनामा केही परिवर्तन गर्नु पर्ने बताए । जसका लागि संविधान संशोधन अपरिहार्य भएको उनले बताए ।
संविधान संशोधनसहित सात बुँदे सहमति गरेर नेपाली कांग्रेस र नेकपा एमालेको सरकार भएको भन्दै उनले उक्त बुँदाहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले संविधान संशोधन अहिलेको अपरिहार्यता भएको भन्दै दुवै दलले संविधान संशोधनमा चासो दिनुपर्ने बताए । यसमा प्रतिपक्ष दल नेकपा माओवादी पनि अझ बढी गम्भीर हुनुपर्ने उनको तर्क छ ।
संविधान संशोधनमा केही सुधार गर्नुपर्ने भन्दै उनले राय सुझाव ल्याएर जनतालाई अधिकार सम्पन्न बनाउन सरकार र प्रतिपक्ष चासो दिनुपर्ने उनको भनाइ छ । गाउँदेखि सहर र सबै पेसा व्यवसायका व्यक्तिमा निराशा छाएको उनको धारणा छ ।
प्रकाशित: २० चैत्र २०८१ १४:४७ बुधबार