१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

नदी दोहन कहिले रोक्ने ?

सर्लाहीको बागमती नदीमै अवैध क्रसर

नदीसम्बधी सबै कानुन र आचारसंहितालाई लत्याउँदै बागमती नदीमा महिनौँदेखि दोहन भइरहँदा समेत सर्लाही प्रशासन मौन देखिएको छ। सर्लाहीतिरको बागमती नदीलाई सबै पक्षको मिलोमतोमा 'दुहुनो गाई' बनाइएको जस्तो देखिन्छ।

गत कात्तिकदेखि सर्लाही बसबरिया गाउँपालिकाको भैँसासुर घाटदेखि बढी बागमती र एकारसी खोलामा पाँच वटा मोबाइल क्रसरले अवैध रूपमा दोहन गरिरहँदा कतैबाट कुनै अवरोध हुन सकेको देखिँदैन।  

बसबरिया गाउँपालिकाले चालु आर्थिक वर्षमा वडा नम्बर १ र २ मा नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का लगाएको छैन तर पाँच वटा मोबाइल क्रसरले जथाभावी उत्खनन गरिरहँदा पनि कसैले रोकेको पाइँदैन।

गाउँपालिका अध्यक्ष राम सिंहासन राय यादवले गाउँपालिकाबाट चालु आर्थिक वर्षमा नदीजन्य पदार्थ उत्खननको ठेक्का नलगाइएको बताउँदै बागमती र एकारसी खोलाको बगरमा क्रसर संचालनमा रहेको स्वीकार गरेका छन्।  

अध्यक्ष यादव स्थानीय बज्ज्किा भाषामा भन्छन्, 'अवैध क्रसरलाई रोक्ने काम आफ्नो मात्र होइन, प्रशासनको पनि हो।' अध्यक्ष यादवले प्रशासनले अवैध उत्खननलाई नरोकेको बताउँछन्। नदीजन्य पदार्थको अवैध उत्खनन र ओसारपसार गर्ने शक्तिका अगाडि आफू निरीह बनेको अध्यक्ष यादवले बताउने गरेका छन्।  

गाउँपालिकाका पदाधिकारी तथा प्रहरी प्रशासनको मिलोमतोमा नै अवैध रूपमा क्रसर संचालन भइरहेको स्थानीयको आरोप रहेको छ। अवैध रूपमा क्रसर संचालन गर्दै उत्खनन गरिएका ढुंगा, गिट्टी र बोल्डर निर्बाध रूपमा ओसारपसार गर्ने काम भइरहेको स्थानीय बताउँछन्।

नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसार गर्नेहरूले स्थानीय भट्टी पसलमा बाटोमा पर्ने सबै प्रहरी चौकी र सशस्त्र प्रहरी बलको बेस क्याम्पलाई मिलाइएको तथा गाउँपालिकाका पदाधिकारीहरूकै मिलोमतोमा कारोबार भइरहेको स्थानीयको दाबी छ।  

नदीजन्य पदार्थको उत्खनन र ओसापसारमा संलग्नहरूले इलाका प्रहरी कार्यालय बरहथवा, प्रहरी चौकी हजरिया, प्रहरी चौकी मानपुर, सशस्त्र प्रहरी बेस क्याम्प मनुसमारा, सुन्दरपुर चोहर्वा तथा जिल्लास्थित सुरक्षा निकाय समेतलाई प्रभावमा पारी बागमती नदीमा उत्खनन भइरहेको छ। नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले तस्करहरूलाई सहयोग नै गरिरहेको देखिएको छ।  

बरबरिया गाउँपालिका २ का वडाध्यक्ष बिन्देश्वर यादवले सबै पक्षको मिलोमतोमा लामो समयदेखि खोलाको दोहन भइरहेको बताएका छन्। आफ्नो वडामा भए पनि आफूले विरोध गर्दा प्रहरीले उल्टै फसाउने धम्की दिने गरेको बताउँछन्। गत वर्ष अवैध उत्खननलाई आफूलाई विरोध गर्दा छोरा हरेकृष्ण यादवलाई सशस्त्र प्रहरीले उल्टै उठाएर लगेको दुःखेसो पोख्छन्। बसबरिया गाउँपालिका अध्यक्षदेखि अन्य ठुलाबडासमेतको संलग्नता र मिलोमतोमा नै नदीको दोहन गरिरहेको वडाध्यक्ष यादव बताउँछन्।  

वडाध्यक्ष यादवले आफूले पालिकामा पनि विरोध गर्ने गरेको कारण नै आफ्नो वडामा बजेट नदिएको बताउँछन्।  

गाउँपालिका उपाध्यक्षका श्रीमान् गोविन्द साहले आफूहरुले गत वर्ष जिल्ला प्रशासन कार्यालयमा गएर विरोध गरेको बताउँदै वडा नम्बर २ का वडाध्यक्षले विरोध गरेपछि सशस्त्र प्रहरीका कारण केही दिन गाउँबाट पलायन भएर लुक्नु परेको बताउँछन्। अहिले पनि उत्खनन भइरहेको साह स्वीकार्छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपि योगेन्द्र खडकाले बसबरियामा अवैध मोबाइल क्रसर उद्योग सञ्चालनमा रहेको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्। एसपि खडकाले मातहतका निकायलाई बसबरिया १ र २ मा कतै अवैध मोबाइल क्रसर उद्योग सञ्चालनमा रहेको तुरुन्त बन्द गराउन निर्देशन पनि दिएका छन्।

देशमा नयाँ सरकार गठन भई नयाँ परिस्थिति सिर्जना भएकोले अवैध मोबाइल क्रसर उद्योग बन्द हुने अपेक्षा स्थानीयले गरेका छन्। सरकारले अवैध क्रसर उद्योग बन्द गराउन तथा वर्षौँदेखि अवैध सञ्चालन गर्नमा संलग्न सबैमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि स्थानीयले माग गरेको छ।  

अवैध क्रसरको काटियो विद्युत लाइन  

सर्लाहीको बसबरिया गाउँपालिका–३, कोठियारस्थित सञ्चालित एक क्रसर उद्योगमा विद्युतको लाइन काटिएको छ। नेपाल विद्युत प्राधिकरण सर्लाहीले बरबरिया ३ स्थित अभिनित वासिङ्ग उद्योग तथा ढुंगा क्रसर उद्योगको विद्युतको लाइन काटिएको हो। लाइन काटिएसँगै क्रसर उद्योग बन्द भएको छ।  

यसअघि पनि प्रशासनले पटक–पटक अनुगमन गरी उद्योग बन्द गराएको भए पनि राजनीतिक संरक्षणका कारण पुनः सञ्चालन हुँदै आएको थियो। गत वर्षसमेत बन्द गराएपछि उद्योग सञ्चालकले रातिको समयमा सञ्चालन गर्ने र दिनमा बन्द राख्ने जस्ता गतिविधि अपनाएको स्थानीयले बताएका छन्। यसपटक भने पुनः सञ्चालन हुन नदिन उद्योगको विद्युत् लाइन नै काटिएको छ।

बस्ती नजिकै सञ्चालनमा रहेको उक्त उद्योगका कारण स्थानीयवासी लामो समयदेखि प्रभावित हुँदै आएका थिए। उद्योगबाट निस्कने धुलो र प्रदूषणका कारण नजिकैको विद्यालयसमेत प्रभावित भई झण्डै बन्दजस्तै अवस्थामा पुगेको स्थानीयको गुनासो छ। 

प्रकाशित: १७ चैत्र २०८२ १७:४६ मंगलबार