२१ चैत्र २०८१ बिहीबार
image/svg+xml ५:१४ पूर्वाह्न
राजनीति

पूर्वराजा ज्ञानेन्द्रलाई कुन-कुन कसुर आकर्षित हुन्छ?

पूर्वराजा ज्ञानेन्द्र शाहलाई मुलुकी अपराध संहिताको दफा ५० र ५१ अन्तर्गत राजद्रोहको मुद्दा आकर्षित हुने अधिवक्ता राधिका खतिवडाले बताएकी छन्।

राज्यविरुद्धको कसुर, ज्यानसम्बन्धी कसुर, तीनभन्दा बढी समूहले डकैती गरेको कसुर, हातहतियार लुटपाट, संगठित अपराधको कसुर पूर्वराजामाथि मुद्दा लगाउन पर्याप्त आधार भएको उनले बताएकी हुन्।

अधिवक्ता खतिवडाका अनुसार ज्ञानेन्द्रलाई सरकारले चाहे चार वटा कसुरमा मुद्दा चलाउन सक्ने छ। ‘शुक्रबारको घटना पूर्णतः संविधानविरोधी छ। आक्रमण, लुटपाट र आगजनी भएको छ, साथै व्यक्तिहत्या पनि भएको छ। त्यसकारण पूर्वराजालाई मतियार होइन, मुख्य योजनाकारका रूपमा मुद्दा चलाउन सकिन्छ,’ उनले भनिन्।

‘संविधानको धारा ५ विपरीत कसुर गरे मुलकी अपराध संहिता २०७४ को दफा ५० को कसुर ५१ को उपदफा २ अनुसार राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सकिने व्यवस्था छ। मुलुकी अपराध संहिताको दफा २४४ को (क), (ग), (घ) पनि आकर्षित हुनेछ,’ अधिवक्ता खतिवडाले बताइन्।

सरकारले संविधानको अधीनमा रही अनुसन्धान गर्न गृह मन्त्रालयलाई निर्देशनसमेत दिइसकेको छ। गृहमन्त्री रमेश लेखकले पनि शनिबार बिहान शुक्रबारको घटना भएको स्थल र सञ्चारमाध्यम अनुगमनका क्रममा हिसात्मक घट्नाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने बताएका छन्।

राजावादीको एक समूहले ज्ञानेन्द्रकै निर्देशनमा पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा आन्दोलनका लागि समिति बनाएको थियो। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं आन्दोलनको कमान्डर बनाइएका थिए। शुक्रबार प्रदर्शन गर्नुअघि ज्ञानेन्द्रको निर्देशन लिन बिहीबार उनीहरू निर्मल निवास पुगेका थिए।

निर्मल निवासबाट फर्केर आएपछि पत्रकार सम्मेलन गरेको सो समूहले शुक्रबार दुई जनाको ज्यान जाने गरी हिंसात्मक आन्दोलन गरेको थियो। सोही विषयलाई लिएर सरकारले राज्यविरुद्धको कसुरमा पूर्वराजा ज्ञानेन्द्रविरुद्ध अनुसन्धान गर्ने भएको छ।

प्रकाशित: १७ चैत्र २०८१ ०७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App