१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml
समाज

अहिले 'अर्नव' चक्रवातले नेपालको मौसममा कस्तो प्रभाव पारिरहेको छ ?

‘अर्नव’ चक्रवातको अवशिष्ट प्रभावका कारण नेपालमा आज रातिदेखि वर्षा र हिमपातको गतिविधि बढ्ने मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ।

दाहालका अनुसार अर्नव चक्रवात जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै अहिले न्यून चापीय प्रणालीको अवस्थामा पुगेको छ। यसको अवशिष्ट प्रणाली भारतको छत्तीसगढ आसपास रहेको छ। उक्त प्रणालीको प्रभावले हाल नेपालभर सामान्यतया बादल लागेको अवस्था छ।

आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात हुन सक्ने सम्भावना छ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ। अन्य क्षेत्रमा पनि एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् दाहालले जानकारी दिए।

उनका अनुसार आज रातिदेखि वर्षाको गतिविधि थप बढ्ने देखिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

आज रातिदेखि शुक्रबार र शनिबारसम्म वर्षाको गतिविधि बढ्ने अनुमान गरिएको छ। कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने मौसमविद् दाहालले बताए।

मौसम छिनछिनमै परिवर्तन हुन सक्ने भएकाले महाशाखाले जारी गर्ने आधिकारिक पूर्वानुमान तथा चेतावनी नियमित रूपमा हेर्न मौसमविद् दाहालले आग्रह गरेका छन्।

धानबाली काट्ने र पदयात्रा तथा हिमाल आरोहण गर्ने समयसमेत रहेकाले उनले आगामी दुई दिन धानबाली नकाट्न तथा पदयात्रा र आरोहण नगर्न अनुरोध गरेका छन्।

प्रकाशित: १२ कार्तिक २०८३ १२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App