१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml
राजनीति

देवानगञ्ज घटनाका दोषीलाई कारबाही गर्न ओलीको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुश्बु ओलीले सुनसरीको देवानगञ्जमा भएको घटनाका दोषीलाई पहिचान गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेकी छन्।  

बिहीबार सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगञ्ज पुगेर हिन्दु सहिद परिवार तथा घाइतेहरूसँग भेटघाट गरेपछि ओलीले घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेकी हुन्। 

धार्मिक झण्डा हटाउने वा नहटाउने भन्ने विवादबाट सुरु भएको घटनामा केही हिन्दु युवाको मृत्यु भएको र दर्जनौँ घाइते भएको उल्लेख गर्दै उनले घटनाको तीन महिना बितिसक्दा पनि सरकारले पीडित परिवारसँग गरेका प्रतिबद्धता पूरा नगरेको आरोप लगाइन्। 

ओलीले मृतकका परिवारलाई रोजगारीको अवसर सुनिश्चित गर्ने प्रतिबद्धता जनाइए पनि त्यसको कार्यान्वयन नभएको बताइन्। केही आर्थिक सहायता दिएर मात्र सहिद परिवारप्रतिको दायित्व पूरा नहुने भन्दै उनले पीडित परिवारले अहिलेसम्म सहिद परिचयपत्रसमेत प्राप्त गर्न नसकेको उल्लेख गरिन्। 

पीडित परिवारले घटनाको वास्तविकता सार्वजनिक गर्न, दोषीको पहिचान गरी कानुनी कारबाही गर्न तथा सरकारले गरेका प्रतिबद्धता पूरा गर्न माग गरिरहेका छन्। 

‘झूटा आश्वासन र अधुरा प्रतिबद्धताले घटनालाई सामसुम पार्ने प्रयास गरियो। तर, न्यायको आवाज अझै दबिएको छैन,’ ओलीले भनेकी छन्। 

उनले घटनापछि कैयौँ हिन्दु युवालाई पक्राउ गरी जेलमा राखिएको विषयमा समेत प्रश्न उठाउँदै न्याय माग्नु अपराध नभएको बताइन्। धार्मिक आस्थाका आधारमा कसैले पनि अन्याय भोग्नुपर्ने अवस्था लोकतान्त्रिक राज्यमा स्वीकार्य नहुने उनको भनाइ छ।

ओलीले घटनाको निष्पक्ष छानबिन, दोषीको पहिचान र कानुनी कारबाही, पीडित परिवारलाई दिइएका आश्वासनको कार्यान्वयन तथा घाइतेका मागको उचित सम्बोधन गर्न सरकारसँग आग्रह गरिन्। 

सरकारले समस्यालाई गम्भीरतापूर्वक लिएर समयमै सम्बोधन नगरे थप भयावह परिस्थिति सिर्जना हुन सक्ने चेतावनी दिँदै उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन्।  

प्रकाशित: १२ कार्तिक २०८३ १२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App