१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ११:१० पूर्वाह्न
राजनीति

गणतन्त्रले हुर्काएको अराजक व्यक्तिको गुण्डाराज

गणतन्त्रका कमाण्डरलाई मार्सी चामलको भात खुवाएर मात्तिएका दुर्गा प्रसाईंले सरकारी र निजी सम्पत्तिमाथि तोडफोड गरेर गणतन्त्रको ‘अराजक’ सदुपयोग गरेका छन् ।

कुनै बेला माओवादी नेताहरुको प्रिय पात्र मात्र होइन एमालेको केन्द्रीय सदस्य समेत बनेका व्यक्ति पूर्व राजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक श्रीपेच लगाउन तम्सेका प्रसाईं अहिले अराजक रुपमा प्रस्तुत भएका छन् । नेताहरुले शीरमा टेकाएर हुर्काइएका यी पात्र अहिले अवस्था बदल्न होइन व्यवस्था बदल्न अराजक भीड जम्मा गरेर हिँडेका छन् । 

०६३ सालपछि माओवादी जब खुल्ला राजनीतिमा आयो त्यति बेला  प्रसाईंले माओवादीका ठूला नेताहरूलाई गाडीमा बोक्ने, आर्थिक सहायता दिने, जिल्लामा प्रयोग गर्न सकिनेहरूलाई आर्थिक, भौतिक सहयोग गरेका थिए । प्रसाईंका लागि माओवादीलाई साथ लिनुपर्ने प्रयोजन सकिएको थिएन । पहिलो संविधानसभापछि माओवादी सत्तामा पुगेपछि पुष्पकमल दाहालकै वरिपरि नै थिए ।

सुरुमा कांग्रेस पृष्ठभूमिबाट आएका प्रसाईंलाई माओवादीको फेर समातेर त्यसपछि एमालेमा प्रवेश गरे । एमालेका नेताहरुले पनि उसलाई दह्रो साथ दिए । एमालेको साधारण सदस्य नलिई विधान महाधिवेशनमा प्रतिनिधि बने, केन्द्रीय सदस्य नियुक्ति भए । चितवनमा भएको १० औ महाधिवेशनमा केन्द्रीय उनको ताउरमाउर हेर्न लायकको थियो । २०७९को संसदीय निर्वाचनमा झापा क्षेत्र नं ३ बाट टिकट खोजेका थिए । तर एमालेले राजेन्द्र लिंदेनलाई सहयोग गरेपछि उनी पूर्व राजाको फेर समातेर हिँडेका थिए । ओली र दाहाललाई एकै ठाउँमा राखेर मार्सी चामलको भात खुवाए । 

शुक्रबार आफै गाडी चलाएर प्रहरीमाथि जाइलागेका प्रसाईंले भीडलाई उत्तेजित बनाएर आफू भने सुटुक्क भागेका छन् । राजा ल्याउने भन्दै अराजक भीड जम्मा गरेर प्रसाईंले आफै गाडी चलाएर सुरक्षाकर्मीमाथि जाइलागेका थिए । 

व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी गरेका छन् । यही कारण  जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ । तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाइएको हो । तीनकुने क्षेत्रमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक भएको छ ।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । कम्मरमा गोली लागेको उनलाई तत्काल तीनकुने स्थित कान्तिपुर अस्पतालमा उपचाररत छन् । उता, प्रदर्शनकारी र प्रहरीबिच भएको झडपमा ७ जना सशस्त्र प्रहरी पनि घाइते भएका छन् । चार जनाको सोही अस्पतालमा उपचार हुँदैछ । राजावादी समूहले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको हो । अहिले त्यस क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।

गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहितको छलफलपछि कर्फ्यु लगाउने निर्णय भएको हो । 

राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरे । 

प्रर्दशनकारीहरुले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यालयमा समेत आक्रमण र तोडफोडको प्रयास गरे । मोटरसाइकल सरकारी गाडी जलाए । केहीले प्रहरी कार्यालयमा आक्रमणको प्रयास गरे । नसकेपछि जडीबुटीतिर भागे ।

उता भाटभटेनी लगायतका स्थानमा ढुंगामूढा गरे । प्रर्दशनकारीहरुले उनीहरूले तीनकुनेका विभिन्न घर भवनमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् । तीनकुनेमा राखेको सभा नसकिँदै राजावादीहरू प्रहरी घेरा तोड्दै अघि बढेपछि अवस्था तनावग्रस्त बन्यो । स्थिति अराजक बन्ने अवस्था देखिएपछि राजावादी बताउने राप्रपाका नेता कार्यकर्ताहरू सडकमा देखिएनन् ।

राजा ल्याउनका लागि संयोजक बनाइएका ८६ वर्षीय नवराज सुवेदीलाई कार्यकर्ताले सकुशल घरमा लगिदिए । अहिले प्रसाईंका कार्यकर्ताले गरेको आगजनी तोडफोडप्रति को जिम्मेवार हुने भन्ने प्रश्न उठेको छ । प्रसाईं आफै संलग्न भएकाले उनी जिम्मेवार हुनुपर्ने र कानुनी दायरामा आउनुपर्ने आवाज उठिरहेको छ ।

प्रकाशित: १५ चैत्र २०८१ १६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App