७ वैशाख २०८२ आइतबार
image/svg+xml
राजनीति

गौतमबुद्ध र पोखरा विमानस्थलः लेखा समितिको बैठकमा सांसदले खोजे उपसमितिको प्रतिवेदन

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा सार्वजनिक लेखा समितिले बनाएको उपसमितिको प्रतिवेदन अहिलेसम्म लुकाइएको भन्दै सांसदहरुले चर्को आलोचना गरेका छन्।

समितिको शुक्रबारको बैठकमा बोल्ने सांसद्हरुले लेखा समितिले भैरहवा, पोखरा एयरपोर्टका विषयमा अध्ययन गर्न गठित उपसमितिले अझै प्रतिवेदन समिति समक्ष नबुझाएको भन्दै सांसद्हरुले आक्रोस पोखेका हुन्। बैठकमा नेकपा (एकीकृत समाजवादी) सांसद प्रेमबहादुर आलेले फेरि उपसमितिहरु बनाउने कुरा आएको भन्दै भैरहवा, पोखराको एयरपोर्टका विषयलाई डाइभर्ट गर्न खोजिएको त होइन ? भन्दै प्रश्न गरे।

उनले भने, ‘उपसमितिहरु बनाएर भैरहवा, पोखराको एयरपोर्टका विषयलाई डाइभर्ट गर्ने त होइन भन्ने मलाई शंका उत्पन्न भएको छ । स्वार्थबाझिने गरी कुनै सदस्यलाई उपसमितिको संयोजक बनाइएपछि के रिजल्ट आउछ रु उपसमितिका रिपोर्टहरु कुन समयभित्र आइसक्ने भन्नेमा एउटा सीमा तोक्नुपर्छ । विगतमा ट्रक लाइन डेडकेटर लाइनको वक्यौता उठाउने भनेर लेखा समितिबाट एकाध बाहेक सर्बसम्मत रुपमा निर्णयमा पुग्दा समेत सभापतिले बैठक स्थगन गर्नुभयो ।’

जबसम्म भैरहवा, पोखरा विमास्थल र ट्रक र डेडिकेटर लाइन नटुंगिने हो  आफू कुनैपनि समितिमा नबस्ने समेत बताए।

नेकपा एमाले सांसद गोकुल बास्कोटाले पोखरा र भैरहवाका सन्दर्भमा उपसमिति बनेको बताउँदै त्यसको प्रतिवेदन तयार भइसकेको बताए। उजुरी नपरी भैरहवा पोखराका बारेमा छनबिन गरेर उपसमिति काम गरेको बताउँदै उहाँले फेरि उजुरीका भरमा छानबिन गर्न आफू तयार नहुने बताए। आग्रह, पूर्वाग्रह, आशंकाका आधारमा कतिपय उजुरीहरु परेको बताए। त्यस्ता उजुरीमा समितिमा छलफल चलाइन नहुने बताए।

उनले भने, ‘आग्रह, पूर्वाग्रह, आशंकाका आधारमा कतिपय उजुरीहरु परेका छन् । त्यस्तामा छलफल चलाइँदा परिणाम निस्कँदैन । बेकारको गिजल्ने कुरामा म सहमत हुँदैन ।’

समिति सभापति ऋषीकेश पोखरेलले जतिपनि उपसमितिहरु बनाएर समितिमा छलफल भएका छन ती उजुरीहरुकै आधारमा भएको बताए। भैरहवा पोखरा एयरर्पोटको उपसमितिका प्रतिवेदन नआएकोबारे सांसद्हरुले उठाएको प्रश्नमा पोखरेलले प्रतिवेदन नल्याउँदै आनावश्यक टिकाटिप्पणी गर्न राम्रो नहुने बताए।

उनले भने, ‘हामीसँग आएका जतिपनि उजुरीहरु छन्, जतिपनि उपसमिति बनाएर छलफल गरेका छौं । त्यो उजुरीकै आधारमा भएको हो । उजुरीकै आधारमा उपसमितिले काम गरिरहेको छ । कतिपय उपसमितिहरु बनेर काम पनि सकिसकेका छन्, प्रतिवेदन नल्याउँदै आनावश्यक टिकाटिप्पणी गर्न राम्रो हुँदैन ।’

गत जेठमा लेखा समितिले गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थलका बारेमा उपसमिति बनाएर अध्ययन गराएको थियो । उपसमितिले प्रतिवेदन तयार गरेको बताउँदै आएपनि अहिलेसम्म समितिलाई बुझाएको छैन । जसकारण सांसदहरुले प्रश्न उठाउँदै आएका छन् ।

समितिमा बोल्ने अन्य संसद्हरुले समितिमा आउने उजुरीहरुलाई छिटो टुंग्याउन प्रभावकारी रुपमा लाग्नुपर्नेमा जोड दिए। उनीहरुले संसदीय समितिमा परेका उजुरीहरुमाथि प्रभावकारी रुपमा छलफल गरेर निचोडमा पु¥याउन नसकेको भन्दै सभापतिको आलोचना समेत गरे।

ठूलो संख्या उजुरीहरु आएको र त्यसबारे निष्कर्शमा पुग्नेगरी समिति सभापति ऋषिकेश पोखरेलले छलफल नचलाएको भन्दै आलोचना गरे । नेपाली काँग्रेस सांसद राजेन्द्रकुमार केसीले उजुरीहरुलाई कलस्टर बनाएर समितिमा छलफल गर्नुपर्ने बताए।  

उनले भने, ‘जसरी हामीले बेरुजुका लागि छलफल गर्न कलस्टर बनायौं, अरु उजुरीहरुको पनि त्यस्तै कलस्टर बनाएर छलफल गर्नुप¥यो । कलस्टरलाई कार्यदेश बनाएर उजुरीकर्ता र आरोपितलाई बोलाएर छलफल चलाउनुप¥यो । उपसमितिहरुले गरेको छलफलका आधारमा समितिमा उजुरीहरुमाथि छलफल अघिबढाउनुप¥यो ।’

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मन्त्रालयगत, निकायगत उजुरीहरु छुट्टाएर उपसमिति बनाई छलफल चलाउन ढिला गर्न नहुने बताए।  उनले भने, ‘कुन मन्त्रालय अन्तर्गत, कुन क्षेत्रसंवद्ध कति उजुरी छ त्यसको निक्यौल गरेर उपसमिति बनाएर छलफल गर्दा ठिक हुन्छ । ’

राष्ट्रिय स्वतन्त्र पाटी सांसद् हरि ढकालले उपसमितिले कामै गर्न नसकेको बताए। ढकालले निर्णय भइसकेका विषयहरु समेत कार्यान्वयनमा जान नसकेको बताए। सिमेन्टको भाउ अप्रकृतिक रुपमा बढेको भन्दै समितिबाट निर्देशन भएको र महिनौंसम्म पनि उद्योग मन्त्रालयले कुनै ठोस निर्णय नगरेको बताए। उनले यसले समितिको निर्णयमाथि नै प्रश्न उठेको बताए। यसले निर्देशनमाथि निर्देशन दिने काम मात्रै हुने हो की भन्ने चिन्ता उब्जाएको बताए।  

प्रकाशित: ८ चैत्र २०८१ १७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App