२० चैत्र २०८१ बुधबार
image/svg+xml ६:६ पूर्वाह्न
राजनीति

‘भन्न नमिल्ने’ भन्दै शेखरले भने: गिरिजाबाबुबाट फिटिक्कै सिकेनौँ, सुशासन पटक्कै भएन

‘मुलुकको स्थिति निकै भयावह छ’

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली नेताले गिरिजाप्रसाद कोइरालाबाट फिटिक्कै नसिकेको दाबी गरेका छन्। गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

‘आज तपाईँहरूले जुन परिदृश्य देखिरहनुभएको छ, स्थिति भयावह छ। मैले त्यही देखेको छु। अहिले गिरिजाप्रसाद कोइराला भएको भए के हुन्थ्यो त भन्ने तपाईँहरूको मनमा होला,’ नेता कोइरालाले भने, ‘जस्तो ०४८ सालमा निजीकरण र उदारीकरण उहाँ प्रधानमन्त्री हुँदा महेश आचार्य र रामशरण महतहरूले ल्याउनुभयो, त्यो कुरा अहिले अगाडि बढाउनुहुन्थ्यो। सुशासनमा कडाइ गर्नुहुन्थ्यो, भ्रष्टाचारका मुद्दामा नो मोलाहिजा भन्नुहुन्थ्यो। त्यसरी जानुहुन्थ्यो भन्ने मलाई लाग्छ।’ 

जीवनको अन्तिम समयमा गिरिजाप्रसाद देशको अवस्थाप्रति चिन्तित रहेको आफूले पाएको उनले बताए। ‘उहाँ बितेको पनि १५ वर्ष भइसक्यो हेर्नुस् त। हामीहरूले उहाँबाट पाठै सिकेनौँ। नेताहरूले केही सिक्दै सिकेनौँ जस्तो भयो। केही न केही त हामीले गर्नुपर्थ्यो नि,’ शेखरले भने। 

अहिले पनि कांग्रेस सरकारमा रहेको बताउँदै उनले एमाले र कांग्रेसले सुशासनको कुरा मात्रै भए पनि अगाडि बढाउनु पर्ने बताए। ‘भन्न त हुँदैन, सुशासन पटक्कै छैन भने पनि हुन्छ। उहाँहरूलाई मन लाग्यो एक, दुई, तीन लिस्ट आउँछ,’ उनले भने, ‘मन्त्रिपरिषद्मा आउँछ। उहाँहरूलाई मन लाग्यो तेस्रो नम्बरलाई लिनुहुन्छ। अनि आफूलाई चित्त परेको छ भने एक नम्बरलाई हाल्दिनुहुन्छ। सुशासन पटक्कै छैन। यो कुरा भन्ने कि नभन्ने।’

आफू यो कुरा पटक पटक के भनिरहेको पनि शेखरले बताए। ‘नेपाली कांग्रेस हामी सत्ता पक्षका मानिस हौँ, तर हामी सरकारमा छैनौँ, यहाँ बसेका हामी कोही पनि सरकारमा छैनौँ। सरकारमा भएका मन्त्रीले एमालेसँग सहकार्य गर्नुहोस्, यो संविधान नै यस्तो छौँ। जो सरकारमा छैनौँ खबरदारी गर्ने जिम्मेवारी हाम्रो हो,’ उनले भने। 

प्रकाशित: ७ चैत्र २०८१ १६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App