२५ चैत्र २०८१ सोमबार
image/svg+xml १:४१ पूर्वाह्न
राजनीति

प्रधानमन्त्रीको प्रश्नोत्तरमा प्रभु साह: पहिले नोकझोँक, अहिले बहिस्कार

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले बिहीबार प्रतिनिधिसभामा चलिरहेको ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार गरेका छन्। प्रश्नोत्तर कार्यक्रम सुरु हुनुअघि नै सांसद साहले प्रश्नोत्तर कार्यक्रमलाई औचित्यहीन भनेका थिए। साथै उनले उक्त प्रश्नोत्तर कार्यक्रमलाई बैठकको कार्यसूचीबाटै हटाउन आग्रह गरेका थिए।  

तर, उनको माग सम्बोधन हुने कुरै भएन। कार्यसूचीअनुसार प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर कार्यक्रम सुरु भयो। त्यसपछि उनी संसद् बैठकबाट बाहिरिएर प्रश्नोत्तर कार्यक्रम बहिस्कार गरेका छन्।  

बहिस्कारको कारण के हो ?  

यसअघि प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम फागुन ४ गते भएको थियो । जसमा सांसद साहले सोधेको प्रश्नमा प्रधानमन्त्री असन्तुष्ट हुँदै आक्रोशित सुनिएका थिए।  

त्यो दिन साहले सोधेको प्रश्न यस्तो थियो–

नेपाली नागरिकता त्यागेर विदेशी हुनेहरूको सङ्ख्या कति छ ? उनीहरूको पैतृक सम्पत्ति के कति थियो र अहिले कुन अवस्थामा छ ? ती अवैध सम्पत्तिहरूलाई राज्यको जिम्मामा ल्याउन तपाईँले के के गर्नुभयो ? खुलेआम अवैध बाटोबाट ती अवैध सम्पत्तिहरू विदेश लैजाँदा रोक्न नसक्ने तपाईँलाई हामीले सक्षम भन्ने कि असक्षम प्रधानमन्त्रीज्यू ? ती अवैध सम्पत्तिलाई किन रोक्न सक्नुभएन?

झन्डै ७० लाख भन्दा बढी नेपाली युवाहरू अहिले वैदेशिक रोजगारमा छन्। उनीहरूको श्रम समझौतानुसार प्रत्येक वर्ष झन्डै ४० वर्ष भन्दा बढी रेमिटेन्स आउनुपर्ने हो ? तर अहिलेसम्मको रिपोर्ट बुझ्दा यो वर्ष जम्मा १३–१४ खर्ब आउने सम्भावना छ। मेरो प्रश्न छ– हाम्रा नेपाली युवाले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा नेपालमा किन ल्याउनुभएन ? के नेपाली युवाहरू भ्रष्टाचारीहरूको काला धन साट्नलाई विदेशमा मरिरहेका छन् ? होइन भने सङ्ख्याको अनुपातमा रेमिटेन्स किन आएन ?

वैदेशिक रोजगारमा जाने नेपाली मजदुरहरूले विदेशमा आफ्नो ट्रेड युनियनको हक पाएका छैनन्। किन ट्रेड युनियनको हक नपाउने गरी श्रम सम्झौता गर्नुभयो ? अहिलेको २१औँ शताब्दीमा नेपाली मजदुरलाई दासता र नारकीय जीवनमा धकेल्दा तपाईँहरूले के कति लाभ पाउनुभएको हो ?

नेपालमा जिडिपी र राजस्वको अनुपात हेर्दा सरकारले जिडिपीको झन्डै एक तिहाइ राजस्व उठाउने गरेको छ। ५७ खर्ब जिडिपी रहेको हाम्रो देशमा केन्द्र सरकारले झन्डै १४ खर्ब भन्दा बढी राजस्व उठाउने, प्रदेश सरकारले झन्डै २ खर्ब र स्थानीय सरकारले पनि झन्डै ३ खर्ब राजस्व उठाउने लक्ष्य राखेको छ, जो जिडिपीको ३०% हुन आउँछ। यसलाई कर आतङ्क नभने के भन्ने त प्रधानमन्त्रीज्यू ? यो कर प्रणालीले के हाम्रो अर्थतन्त्र उँभो लाग्छ?

तपाईँले सार्वजनिक रूपमा भारत भ्रमणमा जाँदै छु भन्नुभएको थियो, त्यो जादैछु भनेको कहिले हो ? निम्तो नै नआई कन किन जान्छु भन्नुभयो ? यसले देशको प्रतिष्ठामा आँच आएको अनुभूति हुँदैन? प्रस्ट पारिदिन अनुरोध गर्दछु।

यो सरकार दुई तिहाइ बहुमतको हो, बलियो छ भन्नुहुन्थ्यो, तर आफैले ल्याएको अध्यादेश पारित गर्ने सामान्य बहुमत नहुँदा अहिले बिचल्लीमा परेको जस्तो अनुभूति हुँदैन ? सत्ता–सहयात्रामा रहेका दलले नै अध्यादेश अस्वीकार गर्ने निर्णय गरेपछि तपाई कुन नैतिकताले पदमा बस्न मिल्छ ?

सङ्घीय राजधानी जोड्ने सबै राजमार्गहरू अस्तव्यस्त छन्। तपाई किन एक पटक आफै ती राजमार्ग हुँदै यात्रा गर्नुहुन्न ? अहिले ती सडक–यात्राको क्रममा जनताको आन्द्रा–भुँडी खस्ने डर छ, दुर्घटनाबाट हुने क्षतिको जिम्मा कसले लिन्छ ?

आवासविहीनहरूलाई घर बनाउन ‘सुरक्षित आवास’ भनेर जम्मा ७५ हजार दिनुहुन्छ, आजको युगमा ७५ हजारमा के घर बन्छ ? बन्दैन भन्ने थाहा हुँदाहुँदै तपाईँले किन आवासविहीन गरिब दलितहरूसँग मजाक गर्नुभयो ?

यसरी साहले सोधेको प्रश्नसँग प्रधानमन्त्री ओली निकै आक्रोशित भएका थिए। ‘उहाँका प्रश्नहरू उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश आदिले अपमानजनकसमेत रहेका छन्,’ जवाफमा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘सांसदजस्तो गरिमायम ठाउँमा यस्तो भाषा कि तपाईँलाई के लाभ भयो विदेश युवा पठाएर ? जस्ता भाषा. म म्यानपावर कम्पनीको मान्छे हो ? यो अहिले म सरकारमा आएपछि ८ महिनाबाट सुरु भएको हो ? तपाईँले भनेका ७० लाख ८ महिनामा गएका हुन् ? त्यसो भएर...।’

प्रधानमन्त्री झोक्किएपछि सांसद साह बिचैमा उठेर भनाभनमा उत्रिएका थिए। तर, सभामुखले रोके।  

प्रधानमन्त्री ओलीले साहका प्रश्नको उत्तर आफूले दिइरहनु नपर्ने बताएका थिए। ‘माननीय ज्युले गर्नुभएका प्रश्नहरूमा खासै जवाफ दिइरहनुपर्ने छैन । सबै प्रश्नहरूको उत्तर आफैँले बोकेर आउनुभएको छ । त्यस कारण मैले धेरै उत्तर दिइरहनुपरेन । यहाँलाई धन्यवाद छ,’ उनले प्रश्नको कुनै उत्तर नदिएर आफ्नो कुरा टुङ्ग्याए।  

यसरी प्रश्नोत्तरमा सोधेका प्रश्नको उत्तर प्रधानमन्त्री ओलीले नदिने भएकाले कार्यक्रमको गरिमा नै नरहेकाले आफूले बहिस्कार गरेको साहले बताएका छन्।

प्रकाशित: ७ चैत्र २०८१ १३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App