नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राजनीतिक दलहरु गणतन्त्र र जनताको जनजीविकामा सुधार गर्नुभन्दा सत्तामोह र अवसर पाउँदा असैद्धान्तिक गठबन्धन गर्ने प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यासमा समस्या आएको बताएका छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन्। उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको कारण राजतन्त्र फर्किने कल्पना नगर्न समेत चेतावनी दिए। आफूलाई राजतन्त्र फर्किने डर नभई आफ्ना कमि कमजोरी सच्याउनसक्छौं कि सक्दैनौं भन्ने डर रहेको बताए। उनले संविधान कार्यान्वयनको दोस्रो कार्यकालसम्म आइपुग्दा जन आवश्यकताअनुसार कानून बनाउन नसक्नु कसको दोष हो ? भन्दै प्रश्न गरे।
उनले भने, ‘हामीले संविधान निर्माण भएपनि मुलुकको अवस्था सुधार्न दत्तचित्त भएर लाग्नुपथ्र्यो । गणतन्त्र र जनताको जनजिविकामा सुधार गर्नुभन्दा पनि पार्टीहरुबीच र नेतहरुबीच कुर्सीको छिनाझप्टि, सत्तामोह, एकअर्काप्रतिका लागिगलौच र लाञ्छना र अवसर पाउँदा सबै असैद्धान्तिक गठबन्धमा सामेल हुने प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यासमा केही समस्या र अविश्वास पैदा भएका हुन् । मलाई त राजतन्त्र फर्किन्छ भन्ने डर छँदैछैन । हाम्रा कमिहरु सच्याउन सक्छौं कि सक्दैनौं भन्ने डर मात्र छ । संविधान कार्यान्वयनको दोस्रो कार्यकालसम्म आइपुग्दा संविधान कार्यान्वयनमार्फत अधिकारको प्रयोग गर्ने, जनचाहाना, आवश्यकताअनुसार कानून बनाउन नसक्नु हामी कसको दोष हो ?’
प्रकाशित: ६ चैत्र २०८१ १३:०० बुधबार