९ वैशाख २०८२ मंगलबार
image/svg+xml
राजनीति

राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्ने राप्रपाको घोषणा, नेतृत्व लिङ्देनले गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्र घोषणालगायत मागसहित काठमाडौं उपत्यकामा केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ।

मंगलबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको हो।

अध्यक्ष लिङ्देनको नेतृत्वमा रहेको आन्दोलन परिचालन मूल समितिको बैठक चैत १२ गते बस्नेछ। सो बैठकमा आगामी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिनेछ। लिङ्देनले पार्टीका सबै गतिविधि आन्दोलनमुखी बनाइने बताए।

राप्रपाले समान विचार राख्ने समूह, दल तथा व्यक्तिहरूसँग संवाद र सहकार्य गर्ने नीति लिएको छ।

यसअघि, नवराज सुवेदीको नेतृत्वमा ‘संयुक्त जनआन्दोलन समिति’ गठन भएको थियो। सो समितिमा अध्यक्ष लिङ्देन र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई सदस्य बनाइएको थियो। तर, लिङ्देनले आफूलाई जानकारी नदिई नाम राखिएको भन्दै सो समितिमा सहभागी नहुने स्पष्ट पारेका छन्।

‘हामी आफ्नो पूर्वनिर्धारित आन्दोलनलाई नै निरन्तरता दिनेछौं’, लिङ्देनले भने, ‘राजसंस्था पुनर्स्थापना र राजनीतिक सुधारका लागि पार्टी एकताबद्ध भएर अघि बढ्छ।’

बैठकले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार असफल भएको निष्कर्ष निकालेको छ। अर्थतन्त्र कमजोर हुँदै गइरहेको, भ्रष्टाचार नियन्त्रणमा सरकार चुकेको र आम जनतामा निराशा बढ्दै गएको भन्दै राप्रपाले प्रणालीगत सुधार आवश्यक रहेको बताएको छ।

पार्टीले ‘नवीन समझदारी’ लाई नै समस्याको समाधानका रूपमा अघि सारेको छ। कुनै पनि राजनीतिक दललाई निषेध नगरी साझा समझदारी निर्माण गर्न राप्रपाले आह्वान गरेको छ।

राप्रपाले आन्दोलन परिचालन मूल समितिको संयोजक लिङ्देनलाई बनाएको छ। आन्दोलनलाई प्रभावकारी बनाउन रणनीतिक योजना बनाइने र चरणबद्ध कार्यक्रम अघि सारिने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ५ चैत्र २०८१ १८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App