नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कतिपय मानिसहरुले अझैपनि संघीयतालाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन्।
सोमबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘संघीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले कतिपय मानिसहरुले बाध्यताले संघीयता स्वीकार गरेको टिप्पणी गरे।
उनले कसैले चाहँदैमा संघीयता नफर्किने उल्लेख गर्दै यसलाई जनताप्रति थप उत्तरदायि बनाउन आवश्यक रहेको बताए। उनले मुलुक संघयितामा गइसकेपछि स्थानीय तह, प्रदेश र संघले आ—आफ्नै अधिकारप्राप्त गरेको भएपनि संघीयता सुदृढीकरण आवश्यक रहेको बताए। संघीयताको सफल कार्यान्वयनको लागि सबै राजनीतिक दलका नेतृत्वबीच छलफल हुनु आवश्यक रहेको समेत सभापति देउवाको भनाइ छ । मुलुकमा संघीयता आएपछि मात्र सबैले राज्यका संरचनामा सहभागिताको अवसर पाएको समेत उल्लेख गरे।
उनले भने, ‘संघीयतालाई अझै प्रभावकारी बनाउने र जवाफदेही बनाउने कुरा आवश्यक छ । संघीयतालाई अझै कति मानिसले स्वीकार गरेका छैनन् । कतिले मन नपराई नपराई स्वीकार गरेका छन् । त्यसकारण संघीयता आइसक्यो यो फर्किने कुरा छैन । यसलाई अझै बढी नेपाली जनताका प्रति उत्तरदायि किसिमले जनताको सुखदुःखमा साथ दिने किसिमको संघीयता बनाउन आवश्यक छ । त्यसको लागि तुरुन्तै हुन्छ भन्ने छैन हेर्नुहोस् । समय लाग्न सक्छ । प्रदेशको आफ्नै भूमिका छ, आफ्नो अधिकार खोजिराखेको छ । संघको पनि आफ्नै अधिकार छ । त्यसकारण यसमा सबै पार्टीका साथिहरु बसेर संघीयताको प्रभावकारी कार्यान्वयनको लागि छलफल गर्नु आवश्यक छ । आफ्नो आफ्नो आफ्नो अधिकार माग्नु स्वाभाविक कुरा हो । तर हामीले मुलुकको आर्थिक अवस्थालाई हेरेर पनि कतिपय कामहरु गर्नुपर्ने हुन्छ ।’
प्रकाशित: ४ चैत्र २०८१ १७:५१ सोमबार