उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले हिमताल बचाउन बजेट छुट्याएर काम गर्ने बताएका छन्। सोमबार ललितपुरमा भएको नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताहमा बोल्दै मन्त्री खड्काले हिमताल जोगाउन बजेटमा राखेर काम गर्नुपर्ने कुरामा जोड दिए।
उनले यो कामका लागि सचिवहरूलाई व्यवस्था मिलाउन भनेका छन्। हिमताल फुट्दा ठूलो समस्या आउने भएकाले यो विषयमा चाँडै ध्यान दिनुपर्ने उनको भनाइ छ। मन्त्री खड्काले हिमताल फुट्दा हुने जोखिम रोक्न सरकारले जलश्रोत विधेयक चाँडै संसदबाट पास गर्ने तयारी गरेको पनि बताए। जलवायु परिवर्तनको असर घटाउन र जलश्रोतको राम्रो प्रयोगका लागि बाहिरी देशहरूसँग सहकार्य बढाउनुपर्ने तर्क उनको छ।
उनले भने, ‘यस पटक बजेटमा समावेश गरेर हिमतालहरूको संरक्षण गर्न आवश्यक छ । यस पटक बजेट निर्माण गर्दा सचिवज्यूहरूले ध्यान दिनुहोला । यसका जोखिमबाट उत्पन्न हुने समस्या विकराल हुन्छ । थामे लगायतका स्थानमा हामीले हिमताल फुटेर भएको क्षति हेरिसकेका छौँ । सबै हिमतालहरू जोखिममा नै छन् । भरपर्दो स्ट्रक्चर छै, हिउँ नै हो ।’
उनले थपे, ‘यो फुटिसकेपछि आयोजनामा क्षति मात्रै हुने होइन, मानवीय क्षति पनि त्यत्तिकै बढ्छ । त्यसैले दोहोरो, तेहरो चपेटामा आज नेपाल छ । यसलाई जोगाउने, संरक्षण गर्ने, सबै देशलाई आह्वान गर्ने नेपालको दायित्व बनेको छ । कारण नेपाल होइन, ठूला र विकसित राष्ट्र हुन् । गम्भीर रुपमा लिएर हामीले अहिले जलश्रोत विधेयक चाँडै पारित गर्दैछौँ।’
उनले जलश्रोत जोगाउन र मौसम परिवर्तनको असर कम गर्न लामो समयसम्म चल्ने योजना बनाउनु आजको ठूलो आवश्यकता भएको बताए। सरकारले जल र मौसमको अनुमान गर्ने प्रणालीलाई डिजिटल प्रविधिसँग जोडेर आपतकालीन व्यवस्थापन राम्रो बनाउने कामलाई पहिलो नम्बरमा राखेको उल्लेख गरेका छन्।
प्रकाशित: ४ चैत्र २०८१ १३:४७ सोमबार





