३ चैत्र २०८१ आइतबार
image/svg+xml १९:३७ अपराह्न
राजनीति

गणतन्त्रको रक्षा माओवादीकै काँधमा, एमाले-कांग्रेसमाथि विश्वास गर्न सकिँदैन: दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेमाथि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने विश्वास गर्न नसकिने बताएका छन्।

शनिबार भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले एमाले र कांग्रेस यथास्थितिवादी रहेको र अफ्ठ्यारो पर्दा प्रतिगमनकारीहरूसँग मिल्न सक्ने आरोप लगाए।

उनले संविधान र गणतन्त्रको विरोध गर्ने नेताहरू अहिले गणतान्त्रिक सरकारको नेतृत्वमा रहे पनि लोकतन्त्रप्रति उनीहरूको दृढ विश्वास नरहेको बताए।

‘संविधान घोषणा गर्न हुँदैन भन्नेहरू, गणतन्त्र सम्भव छैन भन्नेहरू अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्व गरिरहेका छन्, तर उनीहरूको विश्वास दृढ छैन,’ दाहालले भने। ‘प्रतिगमनका विरुद्ध लड्नेभन्दा पनि लिपपोत गर्नतिर उनीहरू अग्रसर छन्।’

अध्यक्ष दाहालले एमाले र कांग्रेस विगतमा प्रतिगमनकारी शक्तिहरूसँग मिलेको उदाहरण दिँदै माओवादी कमजोर भएमा उनीहरू पुनः त्यही बाटोमा लाग्न सक्ने आशंका व्यक्त गरे।

उनले तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा एमाले सरकारमा गएको र कांग्रेसका नेताहरूले शेरबहादुर देउवालाई असक्षम भन्दै कारबाही गरेपछि पुनः प्रधानमन्त्री बनाउँदा ‘महाराजधिराजले बुद्धि पुर्‍याइबक्सियो’ भनेको स्मरण गराए।

‘हामी जनयुद्ध लड्दै गर्दा एमालेले प्रतिगमन आधा सच्चियो भनेर सरकारमा गएको होइन ?’ उनले प्रश्न गरे। ‘ज्ञानेन्द्रकै पालामा प्रधानमन्त्री हुन निवेदन दिने एमाले थियो। कांग्रेसले पनि देउवालाई कारबाही गरेर फेरि प्रधानमन्त्री बनाउँदा राजा बुद्धिमान भए भन्ने नेताहरू कांग्रेसमै छन्।’

अध्यक्ष दाहालले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी माओवादीकै काँधमा रहेको दाबी गर्दै कांग्रेस र एमालेमाथि भरोसा गर्न नसकिने जिकिर गरे। उनले माओवादीप्रति जनविश्वास अझै कायम रहेको र यदि संगठन बलियो भयो भने कांग्रेस र एमालेलाई गणतन्त्रवादी रहन बाध्य पार्न सकिने दाबी गरे।

‘हामी आफैं बलियो भयौं भने जनताको साथ अझै छ,’ उनले भने। ‘हाम्रो संगठन बलियो रह्यो भने कांग्रेस र एमाले गणतन्त्रवादी बन्न बाध्य हुन्छन्, अनि प्रतिगमनकारीहरूका सपना चकनाचूर हुन्छन्।’ 

अध्यक्ष दाहालले अहिलेको मुख्य संघर्ष राजतन्त्र पुनर्स्थापना गर्न खोज्नेहरूसँग नभई दलाल पुँजीपति वर्ग, नोकरशाही पुँजीपति वर्ग र विचौलियाहरूको गठबन्धनसँग रहेको बताए। उनले वर्तमान सत्ता गठबन्धन जनताको अधिकार, सुशासन र सामाजिक न्यायका विरुद्ध रहेको आरोप लगाए।

‘क्रान्तिकारी माओवादी र सच्चा कम्युनिस्टहरूले गणतन्त्रलाई समाजवादी गणतन्त्रसम्म लैजान चाहन्छन्,’ उनले भने ‘तर यही वैचारिक संघर्षको फाइदा उठाएर राजावादी तत्वहरूले राजतन्त्र फर्काउन सकिन्छ कि भनेर धमिलो पानीमा माछा मार्न खोजिरहेका छन्।’

अध्यक्ष दाहालले आगामी निर्वाचनमा माओवादी केन्द्र आफ्नै एजेन्डा, वर्ग र समुदायमा केन्द्रित हुने बताउँदै कांग्रेस र एमालेसँग कुनै गठबन्धन नगरी चुनाव लड्ने घोषणा गरे।

प्रकाशित: २ चैत्र २०८१ १९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App