२० चैत्र २०८१ बुधबार
image/svg+xml १:३४ पूर्वाह्न
राजनीति

जनमत-नागरिक उन्मुक्ति एकताका लागि ९ बुँदे सम्झौताको ड्राफ्ट तयार, रञ्जिताको अडान कायमै

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यसका लागि जनमत अध्यक्ष डा. चन्द्रकान्त राउत र उन्मुक्ति संरक्षक रेशम चौधरीबीच निरन्तर संवाद भइरहेको छ।

संरक्षक चौधरीका अनुसार दुई पार्टीबीचको एकताका लागि ९ बुँदे सम्झौताको ड्राफ्टसमेत तयार भइसकेको छ। 'जनमत पार्टीसँग ९ बुँदे सम्झौताको ड्राफ्ट टुङ्ग्याइसकेका छौँ। त्यसमा हामीले केही गुमाएका छैनौँ। नागरिक गुमाएका छैनौँ, चुनाव चिह्न ढकिया गुमाएका छैनौँ, पदीय मानमर्दन गुमाएका छैनौँ, कसैको पनि पदीय मानमर्दन गरेका छैनौँ। वरिष्ठ उपाध्यक्ष, केन्द्रीय समिति सदस्यमा पनि बराबरी हिस्सा राखेका छौँ,' संरक्षक चौधरीले भने।

उनले यति मात्रै भनेनन्। पार्टी एकताको अन्तिम चरणमा पुगिसकेको भन्दै अब पछाडि नफर्किने पनि बताए। 'अब हामी पार्टी एकीकरणको तहसम्म पुगिसक्यौँ। हामीले २०६४ मा हातेमालो नगरेर पहिचान गुमाएको हो। अब पनि यसो गरेनौँ भने अझ धेरै पछाडि जान्छौँ। नागरिक उन्मुक्ति पार्टीले जनमत पार्टीसँग एकता गर्ने निर्णय नै त गरेको छैन। तर, म संरक्षक रेशम चौधरीले धेरै अगाडि पैताला बढाइसकेको छु,' उनले भने।

जनमतका प्रवक्ता शरतसिंह यादव पनि नागरिक उन्मुक्तिसँग चाँडै एकता हुने बताउँछन्। पार्टी नेतृत्व, चुनाव चिह्नलगायतका विषयमा समस्या नै नरहेको उल्लेख गर्दै उनले भने, 'धेरै विषयहरू टुङ्गिइसकेका छन्। हामीले त नागरिक उन्मुक्तिसँग एकता गर्ने भनेर निर्णय नै गराइसकेका छौँ,' उनले भने, 'चाँडै पार्टी एकता हुन्छ।'

प्रवक्ता यादवले पार्टी अध्यक्ष डा. चन्द्रकान्त राउत भर्खर नेपाल फर्किएको उल्लेख गर्दै अब त्यस विषयले पूर्णता पाउने बताए। 'टुङ्गिन बाँकी कुराहरू अब टुङ्ग्याउँछौँ र एकताको प्रक्रिया थाल्छौँ,' उनले भने।

ड्राफ्ट भइसकेको ९ बुँदामा के छ भन्नेबारे भने चौधरी र यादव दुबैले टुङ्ग्याएर मात्रै सार्वजनिक गर्ने बताए।

रञ्जिताको अडान कायमै

संरक्षक रेशम चौधरीले पार्टी एकताको प्रक्रियामा गइसकेको बताइरहँदा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी भने जनमतसँग आफू नेतृत्वको पार्टीको एकता नहुने बताउँछिन्।

उनले नागरिकसँग भनिन्, 'जनमतसँग पार्टी एकता हुँदै छैन। यसबारे हाम्रो पार्टीभित्र छलफलसमेत भएको छैन। हाम्रो पार्टीले जनमत पार्टीसँग एकता गर्दैन।' 

यो पनि पढ्नुहोस्

रेशम-रञ्जिता कलहका कारण जनमत र नागरिक उन्मुक्ति एकतामा अड्को

 

आफूले सबै नेताहरूसँग छलफल गरिरहेको तर, यसको पक्षमा कोही पनि नेता नभएको उनले बताइन्। 'कुनै एक वा दुईजनाले भनेर हुँदैन। त्यो सिङ्गो पार्टीले गर्ने निर्णय हो। अहिलेको अवस्थामा एकता भइहाल्ने अवस्था छैन,' उनले भनिन्।

रेशम-रञ्जिता।

त्यसो त रेशम र रञ्जिता श्रीमान्-श्रीमती हुन्। पार्टी नेतृत्व कसले गर्ने भन्नेबारे कुरा नमिल्दा सुरु भएको उनीहरूबीचको लफडा बढ्दै गएको छ। २०८० पुसमा भएको पहिलो महाधिवेशनमा उनीहरूबीच पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा भएको थियो। त्यहाँबाट रेशम नै अध्यक्ष बने पनि पछि निर्वाचन आयोगले उनको अध्यक्षतालाई स्वीकारेन। त्यसपछि पुन: रञ्जिता नै अध्यक्ष मानिइन्।

रञ्जिता संस्थापक अध्यक्ष हुन्। पार्टी गठन हुँदा रेशम कारागारमै थिए। उनी बाहिरिएपछि २०८० पुसमा पहिलो महाधिवेशन भएको थियो। तर, त्यसयता नै रेशम-रञ्जिताबीच सम्बन्ध चिसियो, अहिले उनीहरूबीच राम्र मिल्ती छैन।

अहिले रेशमले पार्टीको केन्द्रीय समिति बैठक राख्न प्रयास गरिरहेका छन्। तर, अध्यक्ष रञ्जिता भने केन्द्रीय समिति बैठक बसिहाल्ने अवस्था नभएको बताउँछिन्। नागरिक उन्मुक्तिको अन्तिम बैठक २०८० चैत १९ गते बसेको थियो। त्यसयता बैठक बस्न सकेको छैन।

पार्टीको केन्द्रीय समिति बैठक बसाउन हदैसम्म प्रयास गर्ने, सम्भव नभए बहुमत सदस्य लिएर जनमतसँग एकतामा जाने तयारी रेशमको रहेको स्रोतको दाबी छ। स्रोत भन्छ- अहिलेसम्म र अझै निकै पार्टीको केन्द्रीय समिति बैठक बसाउने र त्यहाँ आधिकारिक रूपमा प्रस्ताव लगेर जनमतसँगको एकतामा जाने हो तर, त्यो सम्भव नभए पनि पार्टी एकता हुन्छ।

यो पनि पढ्नुहोस्

जनमतसँगको पार्टी एकताको प्रक्रियामा गइसक्यौँ, पछाडि फर्कन्नौँ : रेशम चौधरी

 

प्रकाशित: १ चैत्र २०८१ १७:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App