१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

जनमतसँगको पार्टी एकताको प्रक्रियामा गइसक्यौँ, पछाडि फर्कन्नौँ : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जनमतसँगको पार्टी एकताको प्रक्रियामा अघि बढिसकेको बताएका छन्।

फेसबुक लाइभमार्फत रेशमले जनमतसँग एकता गर्ने सन्दर्भमा आफ्नो पैताला धेरै अगाडि बढाइसकेको उल्लेख गर्दै पछाडि नफर्कने बताएका हुन्। उनले भनेका छन्, 'जनमतसँग एकता गर्ने सन्दर्भमा मैले पैताला धेरै अगाडि बढाइसकेको छु। अब पछाडि फर्कन्नौँ।'

नागरिक उन्मुक्तिका अध्यक्ष आफ्नै भएकाले पनि एकताको विपक्षमा नजाने दाबी रेशमले गरे। 'नागरिक उन्मुक्तिका अध्यक्ष हाम्रो अध्यक्ष हो। उहाँ एकताको विपक्षमा जानुहुन्न जस्तोलाग्दैन। हामी प्रक्रियागत रूपमा अगाडि बढिसकेका छौँ, अब हामी पछाडि हट्दैनौँ।'

आफूहरू पार्टी एकीकरणको पक्षमा उभिसकेको बताउँदै रेशमले यो एकतामा सबेले हातेमालो गरेर अघि बढ्न आव्हान समेत गरेका छन्।

सोही क्रममा जनमत र नागरिक उन्मुक्तिको चुनाव चिह्न ढकिया नै हुने उनले बताए।

यस्तै रेशमले जनमतका अध्यक्ष डा.सीके राउत पढेलेखेका अत्यन्तै विद्वान् भएको भन्दै तारिफ समेत गरेका छन्। उनले भने, 'डा. सीके राउत पढेलेखेका अत्यन्तै विद्वान् हुनुहुन्छ। उहाँमा एकदमै राजनीतिक संस्कार छ। यो उहाँमा सधैँ रहन्छ भन्ने आशा लिएको छु।'

नागरिक उन्मुक्तिका संरक्षक रेशम जनमतका अध्यक्ष चन्द्रकान्तसँग निरन्तर संवादमा रहेर पार्टी एकता पक्का गर्दा पनि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी भने एकताको विपक्षमा छिन्।

पार्टी नेतृत्वको सन्दर्भलाई लिएर उनीहरूलाई यसअघि नै पनि लफडा परिसकेको छ। उनीहरू बीचको मनमुटावकै कारणले पार्टीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसमेत गुमाएको थियो।

त्यस बेला पार्टीका अरू नेताहरूको समन्वयमा उनीहरूबीच एक हदसम्मको मिल्ती बनेको थियो। तर, अहिले आएर फेरि उनीहरूबीचको सम्बन्ध चिसिँदै गएको बताइन्छ।

प्रकाशित: १ चैत्र २०८१ १०:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App