१ चैत्र २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजावादी सक्रियतामा सत्ता-प्रतिपक्षको जुहारी

नेपालबाट राजतन्त्रलाई विधिवत् रूपमा हटाइएको १६ वर्षपछि राजावादीहरूको सक्रियता बढेको विषयलाई लिएर संसद्मा सत्ता र प्रतिपक्षबीच आरोप–प्रत्यारोप चलेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्तारूढ दल र प्रतिपक्षी दलका सांसदले मुलुकमा राजतन्त्रको पक्षमा गतिविधिहरू बढ्नुमा एकले अर्को पक्षलाई दोषारोपण गरेका हुन्।

पहिलो संविधानसभाले २०६५ जेठ १५ गते मुलुकमा दुई सय ४० वर्ष शासन गरेको राजतन्त्र अन्त्य भएको घोषणा गरेको थियो। सत्तारुढ नेपाली कांग्रेस र एमालेका सांसदले मुलुकमा राजतन्त्र अन्त्य भएको डेढ दशकपछि राजावादीका गतिविधि बढ्नुले लोकतन्त्रमाथि खतरा बढेको भन्दै यसका लागि नेकपा माओवादी जिम्मेवार भएको आरोप लगाए भने प्रतिपक्षी माओवादी केन्द्रलगायत दलका सांसदले वर्तमान दुई तिहाइको गठबन्धन सरकारकै कारण यस्तो अवस्था आएको दोषारोपण गरे।

बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दुई तिहाइ बहुमतको वर्तमान सरकारको शासन कुशासनमा परिणत भएकाले लोकतन्त्रमाथि नै चुनौती देखा परेको बताए। राजावादीको चहलपहल बढ्नुको मुख्य दोषी वर्तमान सरकारलाई देखाउँदै दाहालले भने, ‘लोकतन्त्रमा जति चुनौती बाहिरबाट छ, त्योभन्दा बढी चुनौती सत्तासीन साथीहरूको कुशासनले दिइरहेको छ भन्ने कुरालाई बिर्सन हुँदैन। एकातिर सरकारका गलत क्रियाकलाप र अर्कातिर प्रतिगामी चलखेलविरुद्ध जुध्नुपर्ने विशिष्ट अवस्था सिर्जना भएको छ।’

उनले वर्तमान दुई तिहाइको सरकार नै संघीय लोकतान्त्रिक गणतन्त्रका लागि घातक हुने त होइन भन्ने प्रश्न जनताको मनमा जन्मिसकेको बताए। प्रतिपक्षी दल र जनताको रचनात्मक खबरदारीलाई सरकारले दुई तिहाइको अहंकारमा कुनै भाउ नदिएकै कारण आज जनता सडकमा ओर्लिने अवस्था आएको उनले बताए। ‘तपाईंहरूलाई लागेको होला, हामीसँग दुई तिहाइ छ, कसले के गर्न सक्छ ? सर्वप्रथम त तपाईंहरूले लोकतन्त्रको लक्ष्मण रेखा नाघ्ने गर्नुभएको छ। यो सरकारको जन्म नै लोकतन्त्रविरुद्ध भयो, संविधानविरुद्ध भयो भन्ने मेरो गम्भीर भनाइ छ। पहिलो र दोस्रो पार्टी मिल्ने कुरा नै लोकतन्त्रको मूल मर्मविपरीत छ’, उनले भने।

प्रतिपक्षी दलका नेताले सदनमा सम्बोधन गर्दा प्रधानमन्त्री अनुपस्थित हुने, हिरासतमा नरहेको व्यक्तिलाई सदनमा आउन नदिने र बिचौलियालाई खुसी पार्न सरकारले अध्यादेश ल्याउने जस्ता कार्यले पनि लोकतन्त्र कमजोर बन्दै गएको उनले बताए। ‘भुटानी शरणार्थी प्रकरण, गिरिबन्धु टी स्टेट प्रकरण, टियुको जग्गा छानबिनलाई चोख्याएर गंगा नदीमा बगाउनुभयो’, सरकारप्रति लक्षित गर्दै उनले भने, ‘यसले लोकतन्त्र फोहोर बनायो।’

उनले वर्तमान सरकारकै कारण मिटर ब्याजपीडितले कार्यालयभित्रै आत्महत्या प्रयास गरेको, गुठीपीडित सयौं किलोमिटर छिचोलेर पीडा सुनाउन काठमाडौं आउनुपरेको, लघुवित्तपीडितको समस्या बल्झिएको, सहकारीपीडित थप पीडित भएको, सामुदायिक विद्यालयका शिक्षक चक र डस्टर छाडेर राजधानी केन्द्रित आन्दोलनमा उत्रिनुपरेको बताए। ‘दुग्ध उत्पादक किसान हुन् या तरकारी उत्पादक, निर्माण व्यवसायी हुन् या उखु किसान, दलित हुन् या महिला सबैलाई आन्दोलनमै देख्छु। हामीले स्थिति जटिल छ भन्ने महसुस गरेका छौं,’ दाहालले भने।

दाहालले सरकारको घोडा बिचौलियाले चलाएको बताए। उनले भने, ‘तपाईं (सरकार) ले चलाएको देखिँदैन। पहिला एउटै नियुक्ति भनी दिनुहोस् बिचौलिया छैन भनेर। त्यसैले भ भन्छु सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छन्।’ उनले सरकारका गलत क्रियाकलापबाट जनतामा नैराश्य ज्यामितीय रूपमा बढेको छ बताउँदै सरकार पक्षलाई भने, ‘जसले लोकतन्त्रवादी नै लोकतन्त्रको विपक्षमा जाने देखिन्छ। राजावादीको जुलुस बढाउनमा विदेशी षड्यन्त्र होला, म त्यसलाई पहिलो ठान्दिनँ, त्यहाँ उत्रिएको त नेपाली हो, त्यो पहिला ठान्छु। जनताको आक्रोशलाई बुझ्न खोज्नुहोस्। अहंकार, घमन्ड नदेखाउनुहोस्।’

उनले अगाडि भने, ‘गिरिजाप्रसाद कोइरालाले मेरो हात समाएर लोकतन्त्रको जिम्मा तपाईंको हातमा भनेको देख्ने साथी यही संसद्मा छन्। तर दुई तिहाइको अहंकारले अहिले जनमतलाई सडकमा पु¥याउने काम भएको छ, यसलाई मनन गर्न आग्रह गर्छु।’

दाहालले अहिले जनताको बलिदानीबाट प्राप्त उलब्धिमाथि प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देख्न थालिएको भन्दै विभिन्न कालखण्डमा भएका गौरवपूर्ण बलिदानलाई सबैले अझै विवेक र कृतज्ञताका साथ स्मरण गर्नुपर्ने समय आएको पनि बताए।

दाहालले पूर्वराजालाई नेपालमै बस्न दिइनु मौलिक र उदार गणतन्त्रको प्रमाण भएको बताए। उनले भने, ‘पूर्वराजालाई सुरक्षित बस्ने ठाउँसमेत दिएर नेपालमा गणतन्त्रको इतिहास लेखिएको छ। यो हाम्रो उदारताको प्रमाण हो।’ तर यसलाई क्रान्तिको कमजोरी थियो भन्ने कसैलाई लाग्यो भने त्यो निकै ठुलो भ्रम हुने दाहालले बताए। ‘उदारतालाई कमजोरी ठानियो भने इतिहास फेरि निकै निर्मम भएर प्रस्तुत हुन सक्छ भन्ने सबैले हेक्का राख्न जरुरी छ,’ उनले भने।

गणतन्त्रका लागि जनताको रगत बगेको कुरा बिर्सन नसकिने दाहालले बताए। उनले गणतन्त्र माओवादीले उठाएको बन्दुकका कारण मात्र नभई सीमान्त वर्ग, जाति, क्षेत्र समग्रको त्याग र बलिदानको परिणाम रहेको बताए। ‘सार्वभौम भइसकेका जनता फेरि रैती हुन्छन् भन्ने सोचियो भने त्योभन्दा ठूलो भ्रम अरू केही हुन सक्दैन,’ उनले भने।

राजावादीहरूलाई आग्रह गर्दै उनले भने, ‘लोकतन्त्रभित्रै आफ्नो अस्तित्व खोज्नुस्, हामीलाई आपत्ति छैन तर लोकतन्त्रका मूलभूत सिद्धान्त नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्तिले एक पटक फेरि आफ्नो शक्ति देखाउनेछ, त्यो बुझिराखौं, यो चुनौती पनि राख्न चाहन्छु।’

राजावादीहरूको गतिविधि बढेपछि माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान रोकेर काठमाडौं फर्किएको केही दिनमै दाहालले संसद्मा सम्बोधन गरेका हुन्। राजावादीले आइतबार काठमाडौंमा राजाको पक्षमा जुलुस निकालेका थिए। उनीहरूले पोखराबाट त्रिभुवन विमानस्थलमा उत्रिका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्दै निर्मल निवास पु¥याएका थिए।

प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले संसद्मा संविधान मान्ने, मान्न नचाहने र पानी धमिलो पार्न चाहने दलहरू रहेको बताए। उनले जनताको आक्रोशलाई बेवास्ता गर्न नमिल्ने भन्दै असन्तुष्ट पक्षसँग संवाद गर्नुपर्ने औंल्याए।

 सडकमा देखिएको जनआक्रोशलाई केही होइन भन्ने कसैले पनि ठान्न नहुने उनको भनाइ थियो। वर्तमान सरकार गठन भएपछि मात्र जनता आक्रोशित भएको प्रतिपक्षीको आरोपको खण्डन गर्दै उनले यसका लागि माओवादी केन्द्र पनि जिम्मेवार भएको बताए। उनले माओवादी पनि पटकपटक सरकारमा गएको स्मरण गराए।

उनले मुलुकमा २०७२ सालपछि ५७ वटा अध्यादेश आएको र अधिकांशमा माओवादीको समर्थन रहेको बताए। उनले दाहाल नेतृत्वकै सरकारले ल्याएको बजेट नै अहिले कार्यान्वयनमा रहेको बताए। उनले माओवादीलाई संविधानको प्रभावकारी कार्यान्वयनमा छलफल गर्न आग्रह गर्दै भने, ‘प्रश्न गरांैं, घृणा फैलाउने काम नगरौं, नत्र यसले सबैलाई लिएर जानेछ। उनले राजावादी राप्रपालाई षड्यन्त्र नगर्न आग्रह गर्दै भने, ‘संसद्भित्र आफ्ना कुरा राख्न पाइने तर लोकतन्त्रमाथि षड्यन्त्र गर्न पाइँदैन।’

एमाले सांसद गोकर्ण विष्टले पूर्वप्रधानमन्त्री दाहालका अभिव्यक्तिप्रति लक्षित गर्दै भने, ‘आफैं यात्रा गरेको डुंगामा प्वाल पार्नुभयो भने सबै डुबिन्छ भन्ने कुराको हेक्का राख्नु पर्छ।’ उनले लोकतन्त्र चाहने शक्तिका लागि राजतन्त्र फर्काउने कुरा कदापि स्वीकार्य हुन नसक्ने बताए। उनले अब राजतन्त्र मूलधारको राजनीति हुन नसक्ने पनि बताए।

राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले पूर्वराजाका नामबाट संसद् तरंगित हुनु खुसीको कुरा भएको बताए। उनले भने, ‘आइतबार पूर्वराजाको स्वागत मात्र थियो, आन्दोलन त बाँकी नै छ।’

नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले राजावादीको जुलुसमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो राखिएको प्लेकार्ड बोक्नु गम्भीर आपत्तिको विषय भएको बताए।

प्रकाशित: २८ फाल्गुन २०८१ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App