विश्वमा कुनै पनि क्षेत्रसँग दाँज्ने सिमाना खोज्नुभयो भने नेपालमा पाउनुहुन्छ। खुला सिमाना पाउनुहुन्छ नेपाल–भारतको। प्वाल र खाल्डो भएको सिमाना पाउनुहुन्छ बर्मा र भारतको। काँडे तारले बन्द सिमाना पाउनुहुन्छ भारत र पाकिस्तानको। प्राकृतिक डाँडाकाँडाले ढाकेको सिमाना पाउनुहुन्छ।
हामीले कुनै सिमाना तय गरेका छैनौं। चीनले पनि काल्पनिक भन्छ, हामी पनि काल्पनिक भन्छौं। लुछाचुँडी भइरहन्छ। यो सिमाना भन्ने कुरा दुई किसिमका हुँदा रहेछन्। एउटा धर्कारेखा, अर्को सीमा क्षेत्र हुँदो रहेछ।
धर्काको सिमानामा बसेका आर्मीहरू कतिबेला त्यसले सिमाना पार गर्छ र बन्दुक ठोकौंला भनेर बस्छन्। अनि अर्को सिमानालाई बोर्डर लाइन भन्छौं। त्यसमा उताको यता, यताको उता गरिरहन्छौं। यी सिमानालाई हेर्यौं भने हामीले कुन नरम हो, कुन कडा हो भन्ने छुट्टाउन सक्ने रहेछौं। कडा सिमाना क्रस गर्न नसकिने सिमाना हो। क्रस गरेको खण्डमा गोला–बारुद चलिहाल्छ। भारत–पाकिस्तान, भारत र चीनजस्ता देशका सिमाना यस्तै छन्।
हामीले जो नेपाल र भारतको सिमाना छ, त्यसलाई सफ्ट बोर्डर (नरम सिमाना) भन्छौं। चारैतिर तपाईंले सिमाना हेर्नुभयो भने हाम्रो सिमानामा पाँच प्रकारका कुरा आदानप्रदान गर्दा रहेछौं। एउटा तीर्थयात्रा, ज्ञान–बुद्धिको आदानप्रदान गर्छौं।
अर्को मानव समाज आवतजावत गर्छन् पर्यटनका लागि, अध्ययनका लागि, स्वास्थ्यका लागि। अर्कोपट्टि व्यापार–वाणिज्यका लागि सिमाना तोक्छौं। वस्तु, बिजुली र देहव्यापारसम्म हुन्छ। अनि फेरि अर्को युद्ध र आक्रमण, आतंकवाद र शरणार्थीबारे सिमाना तय गर्छौं।
अर्कोपट्टि फेरि प्राकृतिक प्रकोप बाढी, भूकम्प करुणाजस्तो बिमारका लागि सिमाना तय गर्छौं। अनि सिमानामा हुने यो पाँचै वटा कुरालाई हामीले पहिला त दुई देशको सम्बन्धमा गाभ्ने कोसिस गर्छौं। अनि सम्बन्धमा गाभ्ने कोसिस गरेपश्चात् साहित्यकारले साहित्यिक लेखनमा, पत्रकारले पत्रकारितामा बाँध्ने कोसिस गर्छन्।
साहित्यिक लेखनमा जब सिमाना भन्नासाथ मलाई नेपालका गोर्खाहरू र पूर्व–भारत कम्पनीका आर्मीबिच युद्ध भएको याद आउँछ। सन् १८१४ तिर अर्थात् आजभन्दा करिब दुई सय वर्ष पहिला भएको युद्ध थियो। यो देहरादुनदेखि अलिकति माथि नालापानीमा भएको थियो। एकापट्टि अंग्रेजका आर्मी थिए र अर्कापट्टि नेपालका बलभद्र आफ्ना सिपाही लिएर गएका थिए। लडाइँ कस्तो भयो ? त्यो साहित्य र इतिहासमा लेखिएको छ।
उताबाट दुई हजार पाँच सय सिपाही लिएर मेजर जर्नल रर्बट जिलेप्सी आयो गोलाबारुद लिएर। अनि जुन नालापानीको किल्ला थियो, त्यहाँबाट गोर्खालाई खेद्नुपर्छ भनेर आयो। यताबाट बलभद्र आफ्ना पाँच, छ सय सिपाही लिएर गयो। उताबाट गोला–बारुद, यताबाट खुकुरी, धनुकाँड, ढुंगा लिएर गयो। कसले खलंगा खाने, कसले किल्ला ओगट्ने भनेर लडाइँ सुरु भयो। युद्ध सुरु हुँदा पहिलो, दोस्रो र तेस्रो राउन्डमा अंग्रेज हारे। त्यसपछि जिलेप्सीले हामीले सकेनौं, यिनीहरूलाई हराउन नयाँ शक्ति लिएर आउनुपर्छ भनेर गए। यता वीर बलभद्रले नानी, छोरी, श्रीमती सबैलाई लिएर गएपछि फेरि युद्ध सुरु भयो।
यति भीषण प्रकारले गोर्खाहरूले त्यो लडाइँ लडे। अनि गोर्खाहरूले हारेनन् तर वीर बलभद्रले किल्ला छोडेर गए। साहित्यमा के लेखेका छन् भन्दा वीर बलभद्रलाई आफ्ना सिपाहीहरूले के भन्छन् ? के भनेको रहेछन् भन्दा आन्द्रा लाग्यो चुत्की खेल्न, तिघ्रा लाग्यो काँप्न, सक्तिन महाराज पत्थरका लात थाम्न। भोक लाग्यो, तिघ्रा भोकले हल्लिन थाल्यो, गोदा–बारुद आयो भनेर छोडेर गयो। साहित्य, सिमाना अनि सम्बन्ध त्यसरी सुरु भएको हो।
अब अर्को यस्तै युद्धको क्षेत्रमा लैजान्छु। जापानिजले अमेरिकनको अड्डामा बम खसालेपछि दोस्रो विश्व युद्ध सुरु भयो। जापानिजले हमला गर्दैगर्दै आएर जब नागासाकी र हिरोसिमामा अमेरिकनले एटम बम पहिलोपटक झार्यो, त्यसपछि युद्धको अन्त्य भयो। विचलित पार्ने कुराहरू भएपछि एक हजार हाँसबारे कसैले कथा लेख्यो। अनि त्यसमा के लेखेको छ भन्दा– स्कुल पढ्ने साना नानीलाई एटम बमको किरणले घोचेपछि जब क्यान्सर भयो, क्यान्सर भएपछि उसलाई जब अस्पताल लग्यो, अस्पताल लगेपछि उसलाई कसैले भन्यो– तिमी यदि जाति हुन मन छ भने एक हजार वटा कागजको हाँस बनाउँदैनौ, तबसम्म बनाइरहनुपर्छ भनेपछि उसले दबाइको प्रेस्क्रिप्सन पायो भने हाँसै बनाउने र टाल्ने भन्दाभन्दै सदाको मृत्यु हुन्छ। त्यहाँबाट साहित्यको सुरु हुन्छ सदाको ‘वान थाउजेन्ड पेपर क्रेन्स’ भनेर।
तपाईं हिरोसिमा जानुभयो भने यो सब देख्नुहुन्छ। अनि मैले हिमाल खबरपत्रिकामा एउटा कथा लेखेको थिएँ– बुलेट ट्रेनमा रोइरहेँ भनेर। त्यता यस्तो युद्ध भयो, यता ब्रह्मापट्टि भारतको उत्तरपूर्व आसाम, मणिपुरतिर यस्तो युद्ध सुरु भयो। जापानीहरू छ्यापछ्याप्ती आउन थाले। बमबारी गर्न थाले। अनि अमेरिकीले सीमा कसरी पार गर्ने भनेर एउटा बाटो बनाए।
अमेरिका, चीन र भारत मिलेर सन् १९४२ मा एउटा बाटो बनाए। त्यो सन् १९४५ मा बाटो सकियो। बाटो आसामको लिखापानी जग्गाबाट जयरामपुर भएर छ्याङलाङ हुँदै पाङसाउ पास पुगेर मिच्यान्हा झरेर फेरि मण्डले भएर चीनको कुन्मिङमा पस्छ। जापानीहरू म्यानमारबाट चीन र बर्माबाट भारत जान नसकून्, तिनीहरूलाई रोक्न सक्नुपर्छ भनेर तीन देशलाई छुने बाटो बनाए। त्यस युद्धमा लड्नेमध्ये सबैभन्दा प्रमुख गोर्खाहरू थिए।
म्यानमारमा मन्डले हिल्स भन्ने महानगर छ। मन्डले हिल्समा गएको त्यहाँ एउटा बुद्धिस्ट गुम्बा छ। यो जग्गा गोर्खाहरूले जापानीलाई खेदेको जग्गा हो भनेर ठुलो लेखेको रहेछ। अनि जापानीहरू पछि कोइमा, नागाल्यान्ड, मणिपुर पसे। कोइमामा भरपूर मान्छेहरू मारे। कोइमामा सबैको कपुर बनाइएको छ। स्मारक बनाइएको छ। कोइमामा सिंहवीर घलेको नाम एउटा कपुरमा पाउनुहुन्छ। घले ३० मे, १९४४ मा मरेका रहेछन्। घलेको चिहानमाथि ‘ओम् भगवतय नमः’ लेखेको रहेछ।
अर्को बमबहादुर घर्ती मरेका रहेछन्। उनी २२ वर्षका थिए। अनि यसरी अंग्रेज, मुसलमान, भारतीय सेनाहरू मारिए। अनि चिहानमाथि सबैले आआफ्नो कुरा लेखेका रहेछन्। अंग्रेजको एउटा एच टेन थोन भन्ने मान्छे सहिद भएको रहेछ। उसकी श्रीमतीले ‘हामीले एउटा अपूर्व भविष्यको योजना बनाएका थियौं तर सपनामै सकियो’ भनेर लेखेको रहेछ। अब यो कुरा साहित्यमा कसरी आयो भन्ने तपाईंहरूले बुझ्नुहुन्छ। साहित्य कोट्याएर हेर्नुभयो भने चाखलाग्दा कुरा पाउनुहुन्छ।
सिमाना र देहव्यापार
आजभन्दा एक सय वर्षअघि सन् १९२६ मा कलकत्तामा गोर्खा कल्याण संघ थियो। अनि त्यसका अध्यक्ष खड्गबहादुर विष्ट थिए। उनले भारतको स्वतन्त्रता संग्रामका लागि पैसा उठाउन, योगदान दिन बाटोमा हिँडिरहेका थिए। बाटोमा चित्तुर रोडमा हिँडिरहँदा कसैले कागज फ्याँकिदियो। त्यसपछि कागज टिपेर माथि हेर्नुभयो। एक जना सानी ठिटीले माथिबाट तपाईंले त्यो पढ्नुस् भनेर भित्र गइन्। अनि त्यो कागजमा पद्मप्रसाद भन्ने बनारस बस्नेले १८ वर्षकी राजकुमारी मैयाँलाई झुटो आश्वासन दिएर कलकत्तामा हिरालाल सेठ भन्ने व्यापारीलाई बेचेको रहेछ। त्यो ठिटीले माथिबाट मलाई बचाउनूस् भनेर कागज झारेको रहेछ।
खड्गबहादुर विष्ट त्यो सबै कल्याण समितिको काम छोडेर रिसले घरमा गए। धारिलो खुकुरी बोकेर बिल्डिङमाथि चढेछन्। त्यसपछि दैलो ढकढक गरेर खोल्दा हिरालाल श्रेष्ठ त अनुहार चाउरिसकेको, दाँत झरिसकेको बुढो रहेछ रे ! भित्र कसरी पस्नुभन्दा उसले नाटक गरेर भनिदियो– मलाई बनारसको पद्मप्रसादले पठाएको, उसकोमा दुई जना १६ वर्षका केटी छन्। अलिकति पैसा ज्यादा दिनुभयो भने म ती केटीहरू ल्याइदिन्छु।
त्यसपछि हिरालालले रमाएर पद्मप्रसादले पठाएको भनेर स्वागत गरे। खड्गबहादुरले हिरालाललाई काटिदियो। त्यसपछि सिधा थानामा आत्मसमर्पण गर्यो। के गर्ने भन्ने भयो। पूरै भारतमा आन्दोलन भयो। अनि आन्दोलन गर्नेमा अखिल भारतीय गोर्खा लिगका नेता ठाकुर चन्दन सिंह हुनुहुन्थ्यो। उहाँले सुरु गरेपछि तीन वर्षभित्र सन् १९३० भित्रमा देहव्यापारको कुरा निकै ठुलो भयो कि खड्गबहादुर रिहा भए। यो सिमाना, सम्बन्ध अनि साहित्यसँग जोडिन्छ।
हाम्रो कालिम्पोङमा पञ्चरत्न प्रधान सर हुनुहुन्थ्यो। सबैले मान्ने प्रधानाध्यापक। बित्नुअघि उहाँले ‘केही बोट, केही विरुवा’ पुस्तक लेख्नुभयो। उहाँले के भन्नुभएको छ भने जब म दार्जिलिङ जिल्ला परिषद्को अध्यक्ष थिएँ, तब म दार्जिलिङको मधेस क्षेत्र खोरीबारी, पानी ट्यांकी, नक्सल बारीतिर जान्थें, जहाँ मधेसका मान्छे बस्थे। त्यहाँ कालो वर्णका लेप्चाहरू भेटेँ भन्नुभयो। लेप्चाहरू कालो वर्णका हुँदै हुँदैनन्। होइन ? उहाँले त्यत्तिकै लेखेर छोडेर बित्नुभयो।
मलाई इतिहासमा रुचि भएकाले कालो वर्णको लेप्चा के हो, सिक्किमको टुप्पोतिर बस्ने मान्छे कसरी कालो भयो भन्दा त फेरि सिमाना र इतिहासकै कुरा आयो। नेपालमा ब्रिटिस नागरिक ब्रायन हज्सन् थियो। उसले नेपाल खर्लप्पै खाएको थियो। भाषा, साहित्य, पशु, प्राणी सबै खर्लप्पै खाएको मान्छे सन् १८४० को दशकमा दार्जिलिङ गएर बस्न थाल्यो। सन् १८४८ मा उनलाई मिल्ने साथीले भेट्यो। उनी बेलायतबाट आएका जोसेफ हुकर थिए। उनी मेडिकल डाक्टर भए पनि मेडिकल नगरी उत्पीडित खोज्दै हिँड्थे। उत्पीडित खोज्न उनीहरू सिक्किम पसे। सिक्किममा राजाको शासन थियो। राजाले यिनीहरूलाई जंगल जान दिएनन्। जबर्जस्ती जंगल पस्दा राजाले पक्रेर जेलमा हालिदिए।
तपाईंले विकासको सिद्धान्त प्रतिपादन गर्ने चाल्र्स डार्बिनको नाम सुन्नुभएकै होला। हुकरको बेलायतमा साथी डार्बिन रहेछ। अनि हुकर र डार्बिनबिचको चिठी मैले पाएँ। ४८ दिन त्यस्तो चिसोमा जेलमा हालिदिएपछि राजालाई अंग्रेज सरकारले उनीहरूलाई छोड्नुभएन भने सिक्किम खाइदिन्छौं, आक्रमण गर्छौं भने। त्यसपछि उनीहरूलाई छोडिदिए। छोड्दा अंग्रेज सरकारले तिमीहरूले हाम्रो मान्छेलाई हाल्यौ, अब तिमीहरूको पनि खाइदिन्छु भनेर खोरीबारी, नक्सलबारी खाइदियो। अनि त्यहाँ बस्ने लेप्चाहरू पछि कोचे, इचे, सन्ताल सरेकाले कालो भएको हो कि !
अन्त्यमा भू–राजनीतिबारे एउटा कुरा भन्न चाहन्छु। हामी भारतमा नेपाली भाषालाई आठौं अनुसूचीमा मान्यता दिनुपर्छ भनेर धेरै लड्यौं। सन् १९५६ मा आनन्दसिंह भण्डारीले देहरादुनबाट यो मुद्दा उठाएपछि हामी लड्यौं। यसमा पनि सिमाना र साहित्यको कुरा आयो। लड्दा लड्दा सन् १९७७ मा मोरारजी देसाई प्रधानमन्त्री हुनुभयो।
अखिल भारतीय नेपाली भाषा समितिका अग्रजहरू गएर उहाँलाई हाम्रो भाषाले मान्यता पाउनुपर्छ भन्नुभयो। देसाईले ‘तिमीहरूको भाषा नेपालको विदेशी भाषा हो, त्यसैले मान्यता दिँदैनौं’ भन्नुभयो।
हामी पनि अलिकति ढिपी नै मान्छे हौं। हाम्रो भाषा कसरी नेपालको भाषा हो भन्यौं। सन् १९७५ मा नेपाली भाषालाई भारतको आधुनिक भाषा हो र भारतकै साहित्यकारले मान्यता दिएको छ भनेपछि उहाँले मान्दै मान्नुभएन। सन् १९९२ मा आठौं अनुसूचीमा मान्यता पायौं।
अब कुरा गरौं उहाँले किन विदेशी भाषा भन्नुभयो भनेर। खोज्दा चिठी पायौं। उहाँले हाम्रा एक जना सांसदलाई लेख्नुभएको रहेछ, ‘तिमीहरूको भाषा विदेशको भाषा हो। तिमीहरूको नेपालमा पनि हिन्दीभाषी त्यत्रो छ। तिमीहरूको सरकारले नेपाललाई दिन्छ।’ हामीलाई त तिमीहरूको भनेर नेपालको भन्यो। हाम्रो इतिहास भारतीय, हाम्रो योगदान सबै भारतीय छ। हामीलाई पनि झोक चल्यो। हामीले उहाँलाई जवाफ दियौं। दार्जिलिङ आउँदा जुत्ता देखायौं। मैले पनि जुत्ता देखाएँ। मेरो साथीलाई पक्रेर पिट्यो। अहिलेसम्म पनि साथीको ढाड दुख्छ। तर हामीले छोडेनौं।
किन भनेको रहेछ भनेको त सन् १९७५ मा जब सिक्किम मर्ज भयो, नेपालमा पनि तहल्का भयो। नेपालका राजाले शान्ति क्षेत्र घोषणा गर्नुभयो। प्रधानमन्त्री मोरारजी देसाईले इन्दिरा गान्धीलाई हेर्न नमान्ने। त्यो गर्दा इन्दिरा गान्धीले गर्नुभएको कुनै काम मन नपराउने भयो। नेपालका राजाले मधेसमा ‘हामी हिन्दीभाषीलाई हिन्दी बोल्न दिँदैनौं, नागरिकता पनि दिँदैनौं’ भन्नुभयो। त्यसपछि नेपालीले सिमानामा पोल सार्न थाले होलान् ! धान खाने मुसा, चोट खाने भ्यागुता भनेजस्तो हामीमाथि प्रहार गर्नुभयो। पछि गएर बुझ्यौं।
अन्त्यमा एउटै कुरा भन्न चाहन्छु। भू–राजनीतिमा प्रोपगान्डा भन्ने ठुलो कुरा हुँदो रहेछ। अन्धाधुन्धको प्रचार हुन्छ। सन् १९६५ देखि १९७५ मा जब चीनमा सांस्कृतिक क्रान्ति भयो, त्यसमा प्रोपगान्डा धेरै हुन्थ्यो। माओत्से तुङले आफूलाई बचाउन सबै प्रोपगान्डा गर्थे। उनले मान्छेलाई माओत्से तुङबाहेक अरू सोच्नै दिँदैनथे। ८० लाख मान्छे मरे भनिन्छ। नेपालमा जब चीनको सहयोग सुरु भयो, काठमाडौं–कोदरी राजमार्ग, अरनिको राजमार्ग, रिङरोड, पृथ्वी राजमार्ग बन्यो।
सन् १९८७ मा यहाँ आउँदा भारत र चीनको आर्थिक सहयोगमा के छ भनेर सोध्दा अग्रज नेपालीले एउटा ठुलो अन्तर भारतले आफ्नै प्रकारको इन्जिनियर, ट्याक्टर ल्याउँछ, गाउँ बसाउँछ र कार्यक्रम गर्छ भने। त्रिभुवन राजमार्ग, सिद्धार्थ राजमार्ग बनायो। तर, चीनका १०÷१५ जना मान्छे मात्र आउँछन्, सानो कोठामा बस्छन्, त्यहींबाट हिसाबकिताब गर्छन् अनि प्रोजेक्ट नेपालीलाई चलाउन लगाएर बनाउँछन्।
गाउँमा जाँदा एक जनाले तपाईंले चीनमा कसलाई चिन्नुहुन्छ भनेर सोध्दा यिनलाई चिन्छु भनेर देखाउनुभयो। को हो यिनी भनेर सोधेँ। खोइ ‘मा’, ‘मा’ भन्छन्, यिनलाई चिन्छु भन्नुभयो। त्यतिबेला चीनले के गर्दो रहेछ भन्दा जहाँ सहयोग गर्छ, त्यहाँ माओको सानो ब्याज सबैलाई बाँड्दो रहेछ।
चीनको म्युजियममा गएर माओत्से तुङले कसरी प्रोपगान्डा गर्दारहेछन् भनेर हेरेको त, त्यतिबेलाको जमानामा घरमा जति घडी छन्, त्यहाँ माओको फोटो हुनैपर्दो रहेछ। खाने थालमा माओको फोटो हुनैपर्छ। जहाँ पनि माओको फोटो हुनैपर्छ। अनि त्यही फोटोग्राफ यहाँ पनि लगाइदिए। मलाई कहिलेकाहीं लाग्छ– नेपालमा माओवादीले आन्दोलन गरे। लेनिनिस्ट, मार्क्सिस्ट आन्दोलन किन गरेनन् ? माओकै किन गरे ? त्यो ब्याजको पो प्रभाव हो कि !
(फागुन १५ देखि पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा भारतका प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाले दिएको विद्वत्प्रवचनको सम्पादित अंश।)
प्रकाशित: १७ फाल्गुन २०८१ १०:३४ शनिबार





