वीरेन्द्रनगर नगरपालिकाले सडकमा काफल पोखिएकी सडक व्यापारी महिलालाई १० हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गरेको छ।
नगर प्रहरीले दुर्व्यवहार गरी काफलको डालो सडकमा पल्टाइदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले पीडितलाई राहत दिँदै दोषी कर्मचारीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाएको हो।
कालिकोटको महाबै गाउँपालिका–४ घर भई वीरेन्द्रनगरमा फलफूल बेच्दै आएकी धर्मिला अधिकारी चौलागाईंको काफल नगर प्रहरीले सडकमा पल्टाइदिएको थियो।
मंगलबार साँझ सिटी बसपार्क क्षेत्रमा भएको उक्त घटनाको चौतर्फी आलोचना भएपछि नगरपालिकाले बुधबार उनलाई कार्यकक्षमै बोलाएर १० हजार रुपैयाँ राहत स्वरूप हस्तान्तरण गरेको हो।
वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले घटनाप्रति दुःख व्यक्त गर्दै भनिन्, ‘यो घटना नियतवश भएको होइन, तर सडकमा डाला पल्टाउनु निन्दनीय छ। हामीले पीडितलाई उचित राहत स्वरूप १० हजार रुपैयाँ उपलब्ध गराएका छौँ।’
प्रमुख ढकालका अनुसार नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले थप १ हजार ५ सय रुपैयाँ बराबरको काफल खरिद गरेर समेत पीडितलाई सहयोग गरेका छन्।
नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा फुटपाथ व्यवस्थापनका क्रममा नगर प्रहरीबाट भएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘सो कार्यमा संलग्न नगर प्रहरीलाई विभागीय कारबाही गरिने र पीडित महिलालाई उचित राहत तथा क्षतिपूर्ति दिने निर्णय भएको छ।’
घटनाको भिडियोमा नगर प्रहरीको गाडीबाट ओर्लिएका सुरक्षाकर्मीले डोको झकझकाउँदा प्रतिकिलो ५ सय रुपैयाँका दरले बिक्रीका लागि राखिएको करिब १५ केजी काफल सडकमा पोखिएको देखिन्छ।
झन्डै ७ हजार ५ सय रुपैयाँ बराबरको आर्थिक नोक्सानी व्यहोरेकी चौलागाईं विगत ४/५ वर्षदेखि सडकमा फलफूल बेचेर परिवारको गुजारा चलाउँदै आएकी छन्।
नगरपालिकाका सूचना अधिकारी टंकप्रकाश लामिछानेले सडक दुर्घटनाको जोखिम न्यूनीकरणका लागि फुटपाथ व्यवस्थापन अभियान सञ्चालन भइरहेको भए पनि कार्यक्षेत्रमा मर्यादित व्यवहार हुनुपर्ने बताए।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि सर्वसाधारणले नगरपालिकाको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका थिए।
नगरपालिकाले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने र फुटपाथ व्यवस्थापनलाई थप व्यवस्थित तथा मानवीय बनाउने प्रतिबद्धता समेत जनाएको छ।
पीडित महिलाले नगरपालिकाले आफ्नो समस्या बुझेर क्षतिपूर्ति दिएकोमा सन्तोष व्यक्त गरेकी छन्।
प्रकाशित: ६ जेष्ठ २०८३ २०:४१ बुधबार



-600x400.jpg)

