नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जिम्मेवारीबाट हटाउन नहुने पक्षमा नेपाली कांग्रेसका प्रमुख पदाधिकारी नै देखिएका छन्। कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखकलगायतका नेताहरू तत्काल कुलमानलाई हटाउन नहुने पक्षमा रहेको स्रोतले बतायो।
‘एक त कुलमानजीको कार्यकाल पनि थोरै समय बाँकी छ। त्यसैले अहिले नै हटाइहाल्नुपर्ने जरुरी पनि छैन भन्ने पक्षमा उहाँहरू हुनुहुन्छ,’ कांग्रेस स्रोतले भन्यो,‘अर्कोतिर अहिलेको अवस्थामा उहाँलाई हटाउँदा जनतामा राम्रो सन्देश नजाने उहाँहरूको बुझाई छ।’ कुलमान पदावधि आगामी साउनमा सकिँदै छ।
पछिल्लो समय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का कुलमानलाई हटाउने पक्षमा देखिन्छन्। खड्का कांग्रेसकै मन्त्री हुन्। कुलमानले राजनीतिक पूर्वाग्रह प्रेरित भएर सरकारलाई नटेरेको भन्दै मन्त्री खड्का असन्तुष्ट छन्।
अर्कातिर प्रधानमन्त्री केपी शर्मा ओली पनि कुलमानसँग विगतदेखि नै सन्तुष्ट छैनन्। माओवादी केन्द्रनिकट मानिने कुलमानले सरकारलाई असहज हुने गरी गतिविधि गरिरहेको आरोप पनि छ।
यस्तोमा गएको मङ्गलवार मात्रै ऊर्जा मन्त्रालयले कुलमानलाई हटाउनकै लागि २४ घण्टे स्पष्टीकरण सोधेको थियो। जसको बिहीबार उनले जवाफ पनि दिइसकेका छन्। अब बस्ने मन्त्रिपरिषद्को बैठकमा कुलमानलाई हटाउने गरी प्रस्ताव आउने तयारी छ।
यही बेला कांग्रेसका पदाधिकारी कुलमानको थमौती गर्न सक्रिय भएका छन्। ‘उपसभापति(खड्का) ज्यु,महामन्त्री ज्यु(गगन) र गृहमन्त्री ज्यु सरकारको दुई दलीय संयन्त्रमै हुनुहुन्छ । उहाँहरूले संयन्त्र बिचमै पनि उठाइराख्नुभएको छ,’ स्रोतले भन्यो,‘अर्का महामन्त्री(विश्वप्रकाश) समेतले अहिले यो कुरा पार्टीभित्र उठाउन सुरु गर्नुभएको छ।’
यस्तै चारै जना सभापति शेरबहादुर देउवालाई ‘कन्भिन्स’ गर्न जुटेको स्रोतको भनाई छ। ‘सभापति ज्यु पनि लगभग सहमत हुनुभएको छ,’स्रोतले भन्यो।
कुलमानलाई हटाउन मरिहत्ते गरिरहेको भन्दै कांग्रेसभित्र स्वयं मन्त्री खड्काको भूमिकामाथि प्रश्न उठिरहेको छ। ‘उहाँ लगातार कुलमानलाई हटाउन लागेको सन्देश बाहिर छ। मन्त्रीजी आफै पनि कन्फिक्ट अफ इन्ट्रेस्टमा आरोपित मान्छे हो। मन्त्रीजी पनि राज्यमन्त्री(कान्छाराम तामाङ)जी पनि,’ स्रोतले भन्यो। यद्यपि कुलमान पनि तामाङ समुदायकै र आफ्नै जिल्लावासी भएर राज्यमन्त्री तामाङ उनको पक्षमा बोलिरहेको स्रोतको दाबी छ।
मन्त्री र राज्यमन्त्रीको भूमिकामाथि पार्टीभित्रै प्रश्न उठिरहेको र जनतामा पनि फरक सन्देश गइरहेको अवस्थामा त्यसको दोष कांग्रेसको थाप्लामा आउन नहुने पक्षमा पूर्णबहादुर, गगन र विश्वप्रकाशलगायतका पदाधिकारी रहेको स्रोत बताउँछ।
‘गृहमन्त्री ज्यु पनि यो विषयमा चिन्तित हुनुहुन्छ। सुरुमा मन्त्रिपरिषद्मा प्रस्ताव आउँदा उहाँले रोक्नुभयो। दोस्रो पटक मन्त्री(खड्का) आफैले प्रस्ताव राख्नुभएन। अब फेरि अन्तिम तयारी देखिएपछि उहाँले पदाधिकारीसँग कुरा थाल्नुभयो,’ स्रोतले भन्यो।
प्रकाशित: १५ फाल्गुन २०८१ १६:१० बिहीबार





