३ चैत्र २०८१ आइतबार
image/svg+xml २१:५४ अपराह्न
राजनीति

रोल्पा पुगेर गगनले भने: माओवादी उत्तेजनाको राजनीति गर्छ, कांग्रेस चेतनाको

रास्वपा मूर्ख र स्टन्टबाज, सबैलाई रुवाउँछ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले विकासबारे सकारात्मक सोच राखेन भने मूर्खहरू आएर सबैलाई रुवाउने बताएका छन्। आइतबार रोल्पामा आयोजित एक समारोहमा बोल्दै गगनले रास्वपा लक्षित गर्दै उक्त अभिव्यक्ति दिएका हुन्। 

‘...यो सोचाइ राखेन भने मूर्खहरू आउँछन्, स्टन्टबाजहरु आउँछन्। र, सधैँभरि तपाईँ हामीलाई रुवाछन् मात्रै,’ गगनले भने,‘मान्छेलाई रुवाउन सजिलो हुन्छ। तपाईँलाई मैले उत्तेजनामा ल्याउन केही पनि गाह्रो छैन।’ 

त्यसपछि उनी माओवादीको प्रसङ्गमा प्रवेश गरे। जसमा जाजरकोटमा फैलिएको हैजाका बेलाको घटना सम्झिए। ‘त्यो बेला बिबिसीमा एउटा अन्तर्वार्ता आयो। जसमा स्थानीय नेताले उत्तर दिनुभयो, स्वाभाविक छ त्यो बेला जाजरकोटको स्थानीय नेता भनेपछि माओवादी हुनुहुन्थ्यो।’ 

जाजरकोटको हैजाबारे बिबिसीले सोधेको प्रश्नमा माओवादी नेताले ‘जबसम्म भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद नेपालबाट जाँदैन तबसम्म जाजरकोटको हैजा जाँदैन’ भनेको उनले सुनाए। 

‘पछि मैले माओवादी नेतालाई भने–जाजरकोटमा खानेपानीको समस्या हल गर्‍यो भने हैजाको समस्या हल हुन्छ। स्वास्थ्य सेवा र चेतनको अभाव छ, गाउँ तहसम्म चेतना फैलाए केही कम गर्ला भनेँ,’ उनले सुनाए। यहाँ काम गर्दा समस्या समाधान होला भनेको बताए। 

‘अनि मैले भने तपाईँले गरेको राजनीति उत्तेजनाको राजनीति हो। मैले गरेको राजनीति चेतनाको हो,’ गगनले भने, ‘उत्तेजनाको राजनीति बडो सजिलो हुन्छ हेर्नुस्।’ आफूले त्यसो गरे उपस्थित युवाको रौँ ठाडो बनाएर, कुनै कुरा भत्काउन जुरुक्क लगेर जान सक्ने, खुकुरी र बन्दुक उचाल्ने बनाउन सक्ने उनले दाबी गरे । 

‘तर तिनै साथीलाई मिलाएर, जोडेर केही कुरा निर्माण गर्ने बनाउन बडो गाह्रो हुन्छ हेर्नुस्। चेतनाको राजनीति बडो गाह्रो हुन्छ। नेपाली कांग्रेसले चेतनाको राजनीति गर्नुपर्छ,’ गगनले भने। कांग्रेसले चेतनाको राजनीति गर्दै आएको पनि उनले बताए। 

प्रकाशित: ११ फाल्गुन २०८१ २०:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App