प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कसैको अभिव्यक्ति स्वतन्त्रता नमिच्ने दाबी गरेका छन्। शुक्रबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
'वाक् स्वतन्त्रता र अभिव्यक्तिमा कुनै प्रकारको बन्देज लगाइने छैन। हामी त बोल्न नपाइने समयसँग लडेर आएका हौँ नि! कसैको पनि अधिकार मिचिँदैन। हामीले बनाउने कानूनले कसैको पनि अधिकार मिचिँदैन। म पनि हिँड्छु, तपाईं पनि हिँड्नुस्, म हिँड्न पाउँछु, तपाईं पाउनुहुन्न भन्न पाइँदैन, माक्कामुक्की गर्न पाइँदैन। सबैको अधिकार बराबर हो,' उनले भने।
फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले मिडियाले प्रयोग गर्ने भाषामा असन्तुष्टि जनाए। मिडियामा बोल्दा र लेख्दा-छाप्दा फरक भाषा हुने गरेको उनले बताए। 'हाम्रो भाषामा सभ्यता छ। हाम्रो भाषा ओ ड्याड कम हियर भनेजस्तो होइन। राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो भन्नुभयो भन्न सकिँदैन। तर, हामीले भने भने भनिन्छ,' उनले भने।
अगाडि उनले भने, 'के हामी राष्ट्रपतिलाई भेट्दाखेरि राष्ट्रपति तिमीलाई कस्तो छ भनिन्छ त ? सम्माननीयज्यू तपाईंलाई कस्तो छ भनिन्छ नि। त्यही भाषा छाप्नुपर्यो नि। तर, हेर्नुस् त पत्रिकाहरू कसरी लेख्छन्।'
प्रकाशित: ९ फाल्गुन २०८१ १६:२१ शुक्रबार





