राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रिमा विश्वकर्माले देश र जनताको हितमा काम गर्दा लाग्ने अवसरवादीको आरोप आफूलाई स्वीकार्य हुने बताएकी छन्।
आइतबार रास्वपाको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन्।
उज्यालो नेपाल पार्टी छाडेर रास्वपामा बस्दा अवसरवादीको आरोप लागेको छ नि भन्ने प्रश्नमा उनले देशको लागि योगदान दिने प्रयासलाई अवसरवाद भनिन्छ भने त्यो आफूले सहर्ष स्वीकार्ने बताइन्।
उनले भनिन्, ‘जनता र देशको पक्षमा उभिएर प्रभावकारी ढंगमा म देशको लागि केही योगदान दिन्छु भन्दाखेरि अवसरवादीको ट्याग लाग्छ भने मलाई त्यो पनि स्वीकार्य छ।’
यस्तै, सांसद बन्नु नै अन्तिम उद्देश्य हो भन्ने प्रश्नको जवाफ दिँदै उनले आफ्नो मूल उद्देश्य देशलाई राजनीतिक निकास दिनु रहेको स्पष्ट पारिन्।
‘अन्तिम उद्देश्य यो देशलाई राजनीतिक निकास दिनु हो,’ उनले भनिन्, ‘त्यो प्रक्रियामा जहाँ पुग्नुपर्छ, हामी सबै त्यहाँसम्म पुग्न जरुरी हुन्छ।’
उज्यालो नेपाल पार्टीमा नफर्किएको विषयमा सोधिएको प्रश्नमा उनले राजनीति व्यक्तिको इच्छाले मात्र नभई राज्य व्यवस्था र प्रक्रियाले निर्देशित हुने बताइन्।
उनले भनिन्, ‘त्यो अवसरमा म एक प्राविधिक अन्योलतामा परेको थिएँ, तर त्यसलाई मैले टुंगो लगाइसकेँ।’
उज्यालो नेपाल पार्टीले रास्वपासँग चुनावी सहकार्य गर्दा रिमा विश्वकर्मा रास्वपामा आएकी थिइन्। पछि कुलमान घिसिङसहितको टोली पुनः उज्यालो नेपाल पार्टीमै फर्किए पनि रिमाले भने रास्वपामै रहेर राजनीतिलाई निरन्तरता दिने निर्णय गरेकी हुन्।
प्रकाशित: ४ माघ २०८२ १८:४४ आइतबार





