राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले ओडिसा घटनाले विदेशी भूमिमा नेपालीको स्वाभिमानमाथि धावा बोलिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायको लागि नेपाली विद्यार्थीले आन्दोलन गर्दा अनुसन्धान गर्नुको साटो उल्टै उनीहरूलाई कलेज र होस्टेलबाट निकाएलिएको भन्दै दुःख व्यक्त गरे। 'आज दुःखका साथ भन्नु परिरहेको छ कि यो देशको स्वाभिमान निहुरिएको छ। र सम्पूर्ण नेपालीको स्वाभिमानमाथि फेरि विदेशी भूमिमा धावा बोलिएको छ,' उनले भने।
सांसद विश्वकर्माले प्रकृति लम्सालले आफूमाथि दुर्व्यवहार भइरहेको रिपोर्ट गरेको भए पनि विश्वविद्यालय प्रसाशनले बेवास्ता गर्दा यस्तो घटना भएको बताए। उनले उक्त घटनाम संलग्न अपरधीलाई उम्किने छुट नदिन सरकारको ध्यानाकर्षण गराए।
उनले नेपाली विद्यार्थीमाथि भएको ज्यादतिमा पहल गर्न समेत सरकारसँग माग गरे।
सांसद मदनकुमारी शाह गरिमाले ओडिसा घटनाले नेपालको मन अपमानको आगोमा जलिरहेको बताइन्। उनले ओडिसा घटनामा नेपालले एउटा सुन्दर सपना देखेको सक्षम युवा गुमाएको बताइन्। विश्वविद्यालयले घटनाको छानबिन गर्नुको सट्टा आफ्नो इज्जत जोगाउन विज्ञप्ति निकालेको भन्दै आपत्ति जनाइन्। यस घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहलका लागि नेपाल सरकारको ध्यानार्काण गराइन्।
बैठकमा बोल्ने अधिकांश सांसदहरूले ओडिसा घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन्। विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको शंकास्पद ‘मृत्यु’ पश्चात विरोध गर्ने नेपाली विद्यार्थीलाई रातारात निकाल्ने र दुर्व्यवहार गर्ने सुरक्षा अधिकारीलाई कारबाही गरिएको केआईआईटीका रजिष्ट्रारले जनाएका छन्।
प्रकाशित: ६ फाल्गुन २०८१ १३:०२ मंगलबार