डा. बाबुराम भट्टराई अक्सर भन्ने गर्छन्- 'पुराना राजनीतिक दलबाट मुलुकले निकास पाउँदैन।' त्यसैले उनले पुराना दल र तिनका नेतासँग उठबस गर्न छोडिसकेका छन्। त्यसको ज्वलन्त उदाहरण माघ २७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको उनकै दल नेसपा (नयाँ शक्ति)को पहिलो महाधिवेशनको उद्घाटन सत्र नै भइहाल्यो। जहाँ, नयाँ दल सहभागी हुँदा पुराना दलहरूलाई निम्तो नै गरिएन।
पुराना राजनीतिक दलबाट मुलुकले निकास पाउँछ कि पाउँदैन ? यो मूलभूत प्रश्न होइन। मूलभूत प्रश्न यो हो कि पुरानाबाट नहुने देखेपछि निकास दिन वैकल्पिक राजनीतिमा लागेका बाबुरामहरू कति वैकल्पिक बन्न सके ? कति नयाँ बन्न सके ?
त्यसो त बाबुरामले नयाँ र वैकल्पिक हुन खोजेको झन्डै दशक बित्न लाग्यो। माओवादीका पूर्वनेता बाबुराम २०७३ जेठ ३० गते 'माओवादी काँचुली' फुकालेर नयाँ र वैकल्पिक बन्न हिँडेका थिए। तर, झन्डै दशकपछि पनि बाबुरामका यत्नहरू तिनै छन्, जुन झन्डै दशकअघि गरिरहेका थिए।
बाबुरामले विभिन्न दस्ताबेज, वक्तव्य र सार्वजनिक मञ्चहरूमार्फत किन त्यसो भयो भन्ने कुराको स्पष्टीकरण त दिँदै नै आएका छन्, कहाँ गल्ती गरियो भनेर आत्मसमीक्षा गरिरहेकै भेटिन्छन्। तर, के गल्ती गर्दै र आत्मसमीक्षा गर्दै हिँड्दा मात्रै नयाँ र वैकल्पिक भइन्छ ?अहम् प्रश्न छ।
बिहीबार (आज) मात्रै सम्पन्न पार्टीको पहिलो महाधिवेशनसम्म आइपुग्दा त बाबुराम वैकल्पिक र नयाँ बन्न हिँडेका हुन् कि होइनन् भन्नेमै प्रश्न उठेको छ। महाधिवेशनबाटअध्यक्षमा पुन: उनै बाबुराम दोहोरिएका छन्। सर्वप्रथम यही कुरालाई धेरैले आलोचना गरेका छन्। धेरैले प्रश्न गरेका छन् कि नयाँ र वैकल्पिक भन्ने अनि ७० उँभो लाग्दा पनि पार्टी भने आफैँसँग राखिरहने ?

स्वाभाविक रूपमा लाग्दछ, केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालभन्दा बाबुराम भट्टराई कति र किन फरक ? तर्क गर्न सकिएलाकि ओली, दाहाल, नेपालहरू दुई/तीन दशकयता नेतृत्वमा छन् तर, बाबुराम धेरै भएकै छैन। यो जवाफ जवाफका लागि जवाफ मात्रै हो। कस्तो जवाफ दिने, स्वयम् बाबुराम जान्लान्।
अध्यक्षमा उनीसँगै युवा नेता नेत्र चापागाईंले पनि उम्मेदवारी दिएका थिए। नेत्रले ७१ मतमा सीमित हुनुपर्यो। खसेको कुल मत ८७३ मध्ये बाँकी सबै मत बाबुरामको पोल्टामा गयो। बाबुरामले बन्द सत्रमा पार्टी नेतृत्व तेस्रो पुस्तामा लैजाउँ भनेर प्रस्ताव गरेको तर, खासगरी दोस्रो तहका नेताहरू नमानेको कुरा बाहिरियो। त्यस्तो प्रस्ताव गरेका हुन् कि होइन, त्यो उनी स्वयम् जान्दछन्। तर, त्यहाँ पनि आलोचना भएको थियो कि कतै बाबुरामले छोरी मानुषी यमी भट्टराईका लागि त्यो प्रस्ताव गरेका त होइनन् ? खैर, त्यो प्रस्ताव मानुषी बाहेकका नेतालाई थियो भन्ने परपुष्टि दिन पनि त कसले सक्छ र ?
महाधिवेशन अगावै यो टिप्पणीकर्ताले बाबुरामसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न ठीक्क परेका नेत्र चापागाईंलाई सोधेको थियो- बाबुराम भट्टराई निर्वाचित अध्यक्ष हुन् भन्ने बनाउनका लागि त होइन नि तपाईंको उम्मेदवारी ? उनले पटक्कै होइन भन्ने जवाफ दिएपछि केही भनिएन। तर, अहिले आएर यही आलोचना उठेको छ। जसै सबै पदाधिकारी निर्वाचित भएर आउनुपर्ने व्यवस्था हुनु, अध्यक्षमा दुईजनाको बाहेक अरुको उम्मेदवारी नपर्नुलगायतका विषय जबरजस्त रूपमा बा! त्यस्तै त होइन ? भन्ने सवाललाई बल पुर्याउन आइपुग्छन्।
समग्रमा यसो भनौँ, बाबुराम पुरानाभन्दा त्यति नयाँ देखिएनन्, जति उनले भन्ने गर्छन्। उसो त बाबुरामले जबरजस्ती नयाँ र पुरानाका बीचमा एउटा 'डिमार्केसन' कोरेका छन्। जुन अहिले उनैलाई छिचोल्न हम्मे-हम्मे परिरहेको छ।
यो पनि पढ्नुहोस्
नयाँ शक्तिको अध्यक्षमा पुन: बाबुराम भट्टराई
प्रकाशित: १ फाल्गुन २०८१ १६:४६ बिहीबार