२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml ११:१७ पूर्वाह्न
राजनीति

के माओवादी र एकीकृत समाजवादीबीच सम्भव छ एकता ?

मङ्गलबार (आज) सुर्खेत पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग चाँडै एकता हुने दाबी गरे।

चन्दको पार्टी त माओवादीसँग एकताका लागि तयार नै छ। बरु उसले माओवादी केन्द्रकै कारण एकता प्रक्रियामा ढिलाइ भइरहेको बताइरहेको छ। केही सङ्गठनात्मक तथा केही प्राविधिक विषय मात्रै मिल्न बाँकी देखिन्छ। वैचारिक तथा सैद्धान्तिक रूपमा नेपाल कम्युनिष्ट पार्टी र माओवादीका बीचमा एकताको सहमति नै भइसकेको हो।

तर, नेपालको एकीकृत समाजवादीसँग भने माओवादीले कुनै त्यस्तो सहमति गरेको छैन। न त एकीकृत समाजवादी आफैँ एकताका लागि तयार छ। तर, दाहालले भने बारम्बार एकता हुने दाबी गरिरहेका छन्।

दाहालले यसअघि गत माघ १९ गते पनि चितवनमा सोही दाबी गरेका थिए। एकीकृत समाजवादीका स्थानीय नेतालाई पार्टी प्रवेश गराउँदै उनले भनेका थिए, 'यो प्रवेशले माधवजीसँगको सम्बन्धलाई कुनै असर पर्ने छैन। उहाँहरूलाई भित्र्याउन मेरो कुनै भूमिका छैन। चितवनकै साथीहरूको भूमिका छ। अहिले माधवजी र हामी मिलेर समाजवादी मोर्चामा नयाँ ढङ्गले काम गर्न खोजिरहेका छौँ। अहिलेको पार्टी प्रवेशले माओवादी र एकीकृत समाजवादीबीचको पार्टी एकताको आधार बन्दैछ भन्ने मेरो बुझाइ छ।’ 

यो पनि पढ्नुहोस्

नेकपा एसका नेता भित्र्याउँदै दाहालले भने: माधव जीसँग पनि एकताको आधार बन्दैछ

त्यसो त माओवादी र एकीकृत समाजवादीबीच एकताको विषय नयाँ भने होइन। यद्यपि, एकता बहसमै सीमित रहेको भने पक्कै हो। यसअघि माओवादी र एकीकृत समाजवादीबीच एकता हुने चर्चा व्यापक नै थियो। त्यसअनुसार अध्यक्षद्वय दाहाल र नेपालले शृङ्खलाबद्ध रूपमा संवादसमेत गरेका हुन्। तर, खासगरी एकीकृत समाजवादीका दोस्रो तहका नेताहरूले त्यसलाई रोक्ने काम गरे।

पछिल्लो संसदीय निर्वाचनमा पार्टीले तीन प्रतिशतको थ्रेसहोल्डसमेत कटाउन नसकेपछि 'सोचमग्न' बनेका नेपाल माओवादीसँग एकता हुँदा पनि फरक नपर्ने बुझाइमा थिए। तर, दोस्रो तहका नेताहरूले उनलाई झस्काइदिए।

पार्टीको सचिवालय तथा स्थायी कमिटी बैठकमै दोस्रो तहका नेताहरूले माओवादीसँग एकता गरेको खण्डमा ठूलै पङ्क्तिमा नेताहरू एमाले फर्किने बताएका थिए। यसपछि नेपाल रोकिए र दाहालसँग पार्टी एकताकै लागि संवाद गर्न छाडे। दाहालले पनि यो थाहा पाएरै त्यसपछि थप कर गरेनन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल।

तर, अहिले आएर दाहालले फेरि एकताकै रटान लगाउन थालेका छन्। यसको आधार के हो ? माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटा भन्छन्, 'दाहाल र नेपालका बीचमा यसबारे पनि छलफल हुने गरेका छन्।' प्रवक्ता सापकोटा ती संवादहरूमा एकताको आधार तयार पार्नेगरी पनि छलफल भइरहेका बताउँछन्।

के माओवादी र एकीकृत समाजवादीबीच एकता सम्भव छ ? भन्ने नागरिकको जिज्ञासामा उनी भन्छन्, 'कुरा अध्यक्ष (पुष्पकमल दाहाल) ले जे भन्नुभएको छ, त्यही हो। कुरा त्यहीँ प्रष्ट नै छ त। संवाद भइरहेको छ, वातावरण बनिरहेको छ भन्ने त हो नि। असम्भव रहन्छ भन्ने हुँदैन।'

यही प्रश्न हामीले एकीकृत समाजवादीका उपाध्यक्ष डा. वेदुराम भुसाललाई सोध्यौँ। भुसालले पनि एकता नै हुँदैन भनेर त भनेनन्। तर, तत्कालका लागि भने त्यो निकै गाह्रो कुरा भएको बताए।

यो पनि पढ्नुहोस्

दाहालले फेरि भने: माधव जी र विप्लव जीसँग पार्टी एकता हुन्छ

'माओवादी र एकीकृत समाजवादीका बीचमा मात्रै होइन, नेपालका सबै कम्युनिष्ट पार्टीहरूका बीचमा एकता हुनुपर्छ, कम्युनिष्ट ध्रुवीकरण हुनुपर्छ भन्ने सैद्धान्तिक बुझाइ हो। यसमा अन्यथा छैन। तर, तत्कालै भने सम्भव देखिँदैन। नेताहरूका बीचमा भेट हुनु, कुराकानी, संवाद हुनु एउटा कुरा हो। तर, एकता नै भनेकोचाहिँ यतिकै हुँदैन,' उनले नागरिकसँग भने।

दाहालले भनेझैँ अहिले एकताका लागि आधार तयार हुँदैछ भन्ने कुराचाहिँ कति सत्य हो भन्दा उनले भने, 'अहिले त्यस्तो केही छैन।'

उसो त एकीकृत समाजवादीभित्र खासगरी जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ, प्रेम आलेलगायतका नेताहरू माओवादीसँग एकता हुन नहुने पक्षमा छन्। यसअघि एकीकृत समाजवादिभित्र आफूभन्दा ठूलो दलसँग एकता नगर्ने, एकता गरिए त्यो एकता नभई विलय हुने बहस उठेको थियो। यी नेताहरू त्यही बिन्दुमा अडिग रहेको बताइन्छ।

त्यसबाहेक दुबै पार्टीभित्र टाउका-टाउकाको नभएर एकता पुच्छर-पुच्छरको हुनुपर्ने आवाज उठिरहेको छ। गत माघ २० गते पार्टीको सङ्घीय सम्पर्क कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्ने क्रममा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पनि त्यही बताएका थिए।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल।

'माथि-माथि चोचोमोचो मात्रै मिलाएर गरिएको पार्टी एकता हामीले देख्यौँ, अब पार्टी एकता सडकमा हुनुपर्छ, बाटोमा हुनुपर्छ। कार्यकर्ताका बीचमा हुनुपर्छ। माथि-माथि मिलाएर एकता हुँदैन,' उनले भनेका थिए, 'अब पार्टीले एकताको आश गर्ने होइन,आफ्नै खुट्टामा टेकेर अगाडि जान्छ। पार्टी बन्ने यसरी हो।'

एकीकृत समाजवादीभित्र मात्रै नभएर माओवादीभित्र पनि यही माग छ। माथि-माथि मात्रै एकता गरेर त्यो साँचो अर्थको एकता नहुने नेताहरूले बताउँदै आएका छन्।

यसअघि एमाले र माओवादीबीच एकता भएर २०७४ साल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो। त्यसबेला एकीकृत समाजवादी एमालेमै थियो। २०७७ सालमा सर्वोच्च अदालतले नेकपालाई एमाले र माओवादीकै पूर्ववत् अवस्थामा फर्काइदिएपछि एमाले विभाजन गरेर नेपालले एकीकृत समाजवादी गठन गरे।

त्यसबेलैदेखि एकीकृत समाजवादी र माओवादीबीच एकता हुने कुरा चल्ने गरेको हो। तर, अहिलेसम्म यसमा थप प्रगति भने भएको छैन। एकीकृत समाजवादीका नेताहरू बरु दाहालले एकता हुने भनेर 'मिडिया ट्रायल' गरेको आरोप लगाउँछन्। एक नेताले भने, 'उहाँले मिडिया ट्रायल गर्नुभएको कि जस्तो पो लाग्छ।'

यो पनि पढ्नुहोस्

माओवादी र समाजवादीबीच एकता हुँदैछ ?

प्रकाशित: २९ माघ २०८१ २०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App