राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद शाहीले मन्त्री जस्तो पदमा बसेकाले आइजिपीको जिब्रो थुत्छु भन्दा पनि मन्त्री पद भिराएर गल्ली गल्लीमा हिँडाइएको बताए। ‘यही हो विधिको शासन ?’ उनले प्रश्न गरे।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता गुरुङले प्रहरी महानिरीक्षक (आइजिपी) को जिब्रो थुत्नुपर्छ भन्ने अभिव्यक्ति दिएको विषय सार्वजनिक भएपछि सांसद शाहीले त्यसलाई लिएर गम्भीर प्रश्न गरेका हुन्।
मन्त्री गुरुङले नेपाल प्रहरीको समायोजन प्रक्रियामा असहयोग गरेको भन्दै आइजिपीविरुद्ध पोखरामा टिप्पणी गरेका थिए।
उनले भनेका थिए, ‘अहिले प्रहरीको आइजिपीले के भन्नुभयो ? म यो कानुन लागू नै गर्दिनँ भन्नुहुन्छ। त्यस्तो बोल्न पाउने कि नपाउने ? त्यसको जिब्रो थुत्नुपर्थ्यो मैले भन्दाखेरि।’
यसै विषयलाई लिएर प्रमुख सचेतक शाहीले व्यङ्ग्य गर्दै भने, ‘अब दुइटा कानून बनाऔं— एउटा ओली सरकारको कानून, जहाँ ट्याग लागेपछि बलात्कार गरे पनि खुलमखुल्ला हिँड्न पाइन्छ। अर्को नेपालको कानून, जहाँ सर्वसाधारणलाई बोलेकै आधारमा थुन्न सकिन्छ।’
उनले सरकारमाथि आरोप लगाउँदै शक्तिशाली पदमा बसेका व्यक्तिहरूलाई उन्मुक्ति दिइने तर सर्वसाधारणलाई बोलेकै आधारमा कारबाही गरिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए।
सांसद शाहीले सरकारको दोहोरो नीतिप्रति आक्रोश व्यक्त गर्दै भने, ‘अब देशमा एउटै कानून लागू गर्नुपर्छ, जसले सबैलाई समान व्यवहार गर्छ। कानुनी राज्य भनेको विशेष शक्तिमा रहेका व्यक्तिहरूलाई जोगाउने माध्यम मात्र होइन।’
प्रकाशित: २९ माघ २०८१ १७:४० मंगलबार





