नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले कानून निर्माणमा ढिलाइ हुँदा जनतामाथि अन्याय भइरहेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले यस्ता कानून निर्माण सुस्त गतिमा हुँदा जनताले पाउनुपर्ने सेवा सुविधा समेत पाउन नसकेको जिकिर गरे।
उनले जनतालाई प्रभावकारी सेवा दिनका लागि कानून निर्माणमा जोड दिँदै विधेयक छिटो छरितो रुपमा पारित गर्नुपर्नेमा जोड दिए। उनले प्रहरी समायोजन ऐन, शिक्षा विधेयक र सङ्घीय निजामती सेवा विधेयकलाई छिटो टुंगोमा पुर्याउनुपर्ने बताए।
उनले भने, ‘संसद्को मुख्य काम भनेकै कानून निर्माण गर्नु हो। हामी कानून निर्माण अति सुस्त गतिमा गरिराखेका छौं। जनताका लागि अति आवश्यक कानून समयमा निर्माण नहुँदा जनताले न्याय पाउँदैन। पाउनुपर्ने आवश्यक सेवा सुविधा पनि पाउँदैनन्। तसर्थ छिटो छरितो रुपमा विधेयकहरू पारित गरौँ। जुन प्रहरी ऐन, शिक्षा ऐन र निजामती कर्मचारी सेवा ऐन लगायत छन्। सत्ता गठबन्धनको मुख्य उद्देश्य हो राजनीतिक स्थिरता, सुशासन, मुलुकलाई आर्थिक गति दिने र संविधान संशोधन। र यी कुराहरू नहुन भन्नको लागि प्रमुख प्रतिपक्षी दल र सत्ता बाहिर रहेका दलहरू लागिरहेका छन्। जुन कुरा मुलुकको हितमा होइन।’
उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै सुशासन कायम गर्नु र संविधान संशोधन वर्तमान सरकारको उद्देश्य रहेको समेत बताए। उनले सरकारका उद्देश्यहरू पूरा हुन नदिन सत्ताबाहिरका पार्टीहरू लागिपरेको समेत उल्लेख गरे।
प्रकाशित: २९ माघ २०८१ १७:२० मंगलबार





