१८ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

पार्किन्सन्सबाट तंग्रिँदै प्रदीप नेपाल

‘काठमाडौं क्षेत्र नम्बर १ नेपाली कांग्रेसको सुन्दर फूलबारी हो। विजयी कांग्रेस उम्मेदवारलाई बधाई तथा शुभकामना। मलाई माया गरेर मतदान गर्ने वा नगर्ने सबैमा आभार व्यक्त गर्छु।’ २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचन परिणामपछि एमाले नेता एवं काठमाडौं–१ का प्रत्यासी प्रदीप नेपालले दिएको पहिलो प्रतिक्रिया हो यो।

२०१० पुस ८ गते भोजपुरको पोखरे गाउँमा जन्मेका उनै नेपालले २०५१ को मध्यावधि निर्वाचनमा भने कांग्रेसको त्यही सुन्दर फूलबारी गोडमेल गरे। त्यससँगै सूचना तथा सञ्चार, जलस्रोत मात्र होइन, स्वास्थ्यमन्त्रीको जिम्मेवारी पनि सम्हालेका नेता नेपालले २०६४ सालमा शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि निर्वाह गरे। एमाले वृत्तमा कडा मिजासका बौद्धिक नेताको परिचय बनाएका उनले २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर राजनीतिक जीवनको सुरुआत गरेका थिए।

मार्क्सवादी विचारधाराबाट प्रभावित भई नेकपा माले हुँदै अहिलेको नेकपा एमालेका विभिन्न तहमा बसेर उनले काम गरिसकेका छन्। पार्टीभित्र मात्र होइन, अन्य पार्टीका नेता–कार्यकर्तालाई पनि विचार र कार्यक्रमबाट प्रभावित गर्न सक्ने नेता नेपाल दर्जनौं उपन्यास, कथा, नियात्रा र गीतका लेखक तथा रचनाकार पनि हुन्। मार्क्सवादी अध्ययन केन्द्रका संस्थापक सदस्यदेखि ‘नवयुग’ पत्रिकाको प्रधान सम्पादकसम्म भएका उनले दुई दर्जनभन्दा बढी संघसंस्थामा काम गरेका छन्।

तर अहिले उनै नेता नेपाल राष्ट्रिय राजनीतिमा मात्र होइन, बग्रेल्ती खुलेका कम्युनिस्ट नामक दल, तिनका भ्रातृ तथा शुभेच्छुक र अन्य संघसंगठनमा भेटिएका छैनन्। जीवनको सम्पूर्ण समय खर्चेको एमाले र तिनका नेता–कार्यकर्तालाई पनि नेता नेपालबारे सायदै जानकारी होला। सत्ता र शक्तिको स्वार्थमा राजनीतिक दल र तिनका नेताहरू एक प्रकारको भागदौडमा छन्। स्वार्थको रोटी नसेकिने अनि सत्ता र शक्ति बाहिर रहेका नेपाल मात्र होइन, हिजो पार्टी र मुलुकका लागि महत्वपूर्ण योगदान गरेका धेरैका बारेमा आफ्नो दल र नेतालाई सम्झने–खोज्ने फुर्सद छैन अहिले।

त्यसमा पनि एमालेको नवौं महाधिवेशनपछि पार्टीको सत्ताबाट पनि बाहिर परेका नेता नेपाल केही समयदेखि अस्वस्थ छन्। पार्किन्सन्स रोगबाट पीडित उनी अहिले काँडाघारीस्थित निवासमा करिब एक्लो जीवन बिताइरहेका छन्। बिहान ७ देखि साढे ७ बजेभित्र नेता नेपाल उठिसक्छन्। त्यसपछि हल्का नास्ता गरेर औषधी खान्छन्। यसपछि एक घण्टा हिँड्नु र साइक्लिङ गर्नु उनको दैनिकी बनेको छ। 

सादा खाना रुचाउने उनी उसिनेको आलु र स्कुसको जरा बढी मन पराउँछन्। उनले बिहानको खाना साढे १० देखि ११ बजेभित्र खाइसक्छन्। त्यसपछि केही समय आराम गर्नु र अपराह्न थेरापी गर्नु उनको नियमितता हो। उनको थेरापीका लागि निकेश डाँगी आउँछन्। त्यसमा उनलाई पत्नी झुमा देवान नेपालले पनि साथ दिन्छिन्। भाइ समीर नेपालसहितका आफन्तहरू उनलाई भेट्न बेलाबखत काँडाघारी निवास पुग्छन्। त्यसबाहेक पछिल्लो समय उनलाई नेता मान्ने र उनले नेता बनाएकाहरू उनको निवास पुगेका छैनन्।

गुटविरोधी नेता गुटमै
साहित्यमा सञ्जय थापाको नामले चिनिने नेता नेपालले पार्टीभित्र गुटबन्दीलाई घृणा गरे। गुटबन्दीले दास जन्माउँछ भन्दै उनी त्यसको विपक्षमा उभिँदै आए। तर राजनीतिको उत्तरार्द्धमा आफैं गुटमा लागेको भनेर नेता नेपालमाथि आरोप लाग्ने गरेको छ। एमालेको नवौं महाधिवेशनमा केपी ओली समूहबाट उनी उपाध्यक्षको उम्मेदवार बने। तर आफ्नै स्वभाव र पाराका उनी उपाध्यक्षमा पराजित भए। आठौं महाधिवेशनमा पनि उनी महासचिवमा पराजित भएका थिए।

माधवकुमार नेपाल, झलनाथ खनाल र केपी ओली तीनै जनाले ईश्वर पोखरेललाई समर्थन गरेका कारण आफू पराजित हुनुपरेको उनको दाबी थियो। पार्टी महासचिवको निर्वाचनमा पराजित भएपछि कार्यकर्तालाई ‘गोठाला’ भनेको आरोप पनि उनीमाथि लागेको थियो। त्यतिखेर उनले लेखेका थिए, ‘केपी ओली गुटकाले पनि ईश्वर (ईश्वर पोखरेल) सँग भएका केही गोठालाको लोभमा परेर मलाई मत नदिने टुंगो गरिहालेछन्।’

माधवकुमार नेपालसँग लामो समय बिताएका प्रदीप नेपाल नवौं महाधिवेशनमा बुढाहरूलाई पालो नपुर्‍याई युवामा नेतृत्व आउने अवस्था नरहेकाले ओलीतिर लागेको उनले बताएका थिए। त्यतिबेला उनले भनेका थिए, ‘बुढाहरूलाई नेटो कटाउने गरी यो महाधिवेशन हुनुपर्छ। अहिले नेपाललाई दियौं भने अर्को पटक खनालले लोभ गर्नुहुन्छ। मैले युवा साथीलाई तपाईंहरू अघि बढ्नुस् पार्टी कब्जा गर्न म सहयोग गर्छु भन्दा घनश्यामजीले नै दौरासुरुवाल नयाँ लगाउने टोपीचाहिँ पुरानै हुनुपर्छ भन्नुभयो। त्यसैले यो पुस्ता हस्तान्तरणको कुरा छोड्नुस्। यसकारण यी चारै नेतालाई पालैपालो भाग खान दिएर नेटो नकटाई युवामा नेतृत्व आउँदैन। योभन्दा तपाईं सिन्डिकेट नभन्नुस्। किनभने मूर्त वा अमूर्त रूपमा काँधमा बुढो पुस्ता बोक्ने काम त हामीबाट पनि भएको छ।’

उनले भनेजस्तै बुढाहरूको पार्टी अध्यक्ष बन्ने भाग त पुग्यो, त्यसबिचमै एमाले विभाजन भयो। माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेता एमालेबाट अलग भएर। उनीहरूले नेकपा एकीकृत समाजवादी (नेकपा एस) गठन गरे। लामो संगत र एमालेभित्र ओलीको कार्यशैलीप्रति असन्तुष्ट उनी नेकपा एसतिर लचिला देखिए। तर उनलाई पार्टी राजनीतिमा सक्रिय हुन स्वास्थ्यले साथ दिएन। 

अस्वस्थ नेता नेपाललाई माधवकुमार नेपाल र उनले नेतृत्व गरेको नेकपा एसले उनको स्वास्थ्योपचारमा चासो र सहयोग गर्‍यो। कमजोर स्वास्थ्य, आफन्तहरूको आग्रह मात्र होइन, जीवन बिताएको एमालेप्रति माया र मोहले प्रदीप नेपाललाई फेरि एमालेमै फर्कायो। र, उनले २०८० फागुन २८ गते एमालेको संगठित सदस्यता नवीकरण गर्न लगाए। तर अहिले उनीसँग एमाले र नेकपा एस दुवै पार्टीका नेता तथा कार्यकर्ता सम्पर्कमा छैनन्। चैत ३० गते भक्तपुरमा आयोजित एक साहित्यिक कार्यक्रममा सहभागी हुने क्रममा अचानक बिरामी परेपछि अस्पताल भर्ना भएका नेता नेपाल त्यसयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।

सरकारको छैन साथ 
लामो स्वास्थ्य समस्या र त्यसले पार्ने आर्थिक समस्या जोकसैका लागि कठिन कुरा हो। स्वास्थ्य उपचारको चाँजो मिलाइरहेको नेपाल परिवारलाई एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेलगत्तै सरकार सहयोगका लागि तयार रहेको आश्वासन पुग्यो। एमालेकै नेतामार्फत परिवारका सदस्यलाई मागसहित प्रस्ताव ल्याउन भनियो। सरकारले उपचारका लागि सहयोग गर्छ भने किन नलिने भनेर परिवारका सदस्यले प्रधानमन्त्री ओलीलाई मागपत्र दिए। तर प्रधानमन्त्री ओलीले कसैलाई पनि सरकारले अहिले स्वास्थ्योपचारका लागि आर्थिक सहयोग नबाँडेको बताए। सरकारसँग केही आशा र भरोसासहित प्रधानमन्त्री भेट्न पुगेका परिवारका सदस्यलाई त्यस्तो जवाफले निराश बनायो। 

उनीहरू अहिले प्रश्न गर्दै छन्, ‘एमालेमा जीवन बिताएका प्रदीप नेपाल एमालेकै नेतृत्वमा रहेको सरकार र पार्टी नेतृत्वका लागि कसैमा पर्ने व्यक्ति हो र?’ नेता नेपाल एमालेका नेता, पूर्वमन्त्री, लोकतान्त्रिक आन्दोलनमा जीवन बिताएका योद्धा मात्र नभएर लेखक, रचनाकारसमेत हुन्। उनको जीवनरक्षा गर्ने दायित्व राज्यको पनि हुनुपर्ने परिवारका सदस्यहरूको बुझाइ छ। त्यसपछि प्रधानमन्त्री ओली र उनको सचिवालयमा कार्यरत मात्र होइन, पार्टीका नेताहरू पनि अहिले सम्पर्कमा नरहेको भाइ समीर नेपालले जानकारी दिए। पार्किन्सन्सले च्याप्दै गएपछि उनको बोली बन्द भयो। चिकित्सकहरूले शल्यक्रिया गरेर पेसमेकर राख्दा बोली खुलए। उनीहरूको सुझावअनुसार उनको शल्यक्रिया गरेर पेसमेकर राखियो। तर एक वर्ष हुँदा पनि बोली खुलेन। त्यसपछि फेरि उनीहरूलाई त्यसले काम गरेन अर्को राखौं भन्ने चिकित्सकीय सल्लाह आयो। त्यसलाई पनि परिवारले स्वीकार गरे तर त्यसले पनि काम गरेन। 

बेलायतमा चिकित्सा शिक्षा अध्ययनरत छोरी समीक्षाले बुवाको थप उपचारका लागि विदेश लाने निधो गरिन्। सोही अनुसार उनी जापानी अस्पताल र त्यहाँ चिकित्सकहरूसँगको सम्पर्कमा पुगिन्। त्यहाँका चिकित्सकहरूले उनले प्रयोग गर्दै आएको पेसमेकर र प्रविधि आफूहरूले प्रयोग गर्न छाडिसकेको र जापान आउँदा सुरुदेखि नै उपचार थाल्नुपर्ने भन्दै अन्य देशमा प्रयास गर्न सुझाए। सोहीअनुसार उनलाई भारतको गुडगाउँमा रहेको आर्टेमिस मेडिकेयर सेन्टरमा उपचारका लागि लाने निधो भयो। त्यहाँ जानुअघि दुई/तीन महिना उनको मनमोहन अस्पतालको आग्रहमा मसाज थेरापी गरियो। तर उक्त थेरापीले आरामभन्दा पनि समस्या बढाएको चिकित्सकहरूले बताएको समीरले सुनाए। थेरापी र औषधीलाई नै चिकित्सकहरूले जोड दिएको बताउँदै उनले भने, ‘तर नेपालमा गरिएको मसाज थेरापी गलत भएको उहाँहरूको निष्कर्ष थियो।’

केही समयअघि मात्र भारत गएर आएका नेता नेपाललाई चिकित्सकहरूले औषधी र थेरापी सधै एकै समयमा प्रयोग गर्न सुझाएका छन्। चिकित्सकको सल्लाहअनुसार घरमै थेरापी गराउने र औषधी सेवन गराउने काम भइरहेको छ। अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको भाइ समीरको दाबी छ। उनका अनुसार अहिले प्रदीप कोठाभित्र सामान्य हिँडडुल गर्न सक्छन्। बिहान १५ मिनेट साइक्लिङ गर्छन् भने खाना पनि आफैं खान्छन्। बोली पनि आएको छ तर स्पष्ट छैन, लटपटिन्छ। साथीभाइ र आफन्तजन उनी चिन्छन्। 

उनी बिस्तारै कुरा गर्न सक्ने पनि भएका छन्। अहिले चलिरहेको उपचार विधिबाट ठिक हुने आशामा आफूहरू रहेको जनाउँदै केही समयपछि फलोअपमा दिल्ली जाने तयारी उनको छ। सञ्चारमन्त्रीबाट बाहिरिएपछि केही समय महाराजगन्ज र लामो समय उनकी पत्नीले डल्लुमा सञ्चालन गरेको स्कुलमै नेता नेपाल परिवारसँग बसोबास गर्दै आएका थिए। केही समयअघि मात्र काँडाघारी सरेका उनीहरू छिट्टै बाँसबारी सर्ने तयारीमा छन्। एक मात्र छोरी समीक्षाको आग्रह र चाहनाअनुसार उनीहरू बाँसबारी सर्ने तयारीमा रहेको भाइ समीरले जानकारी दिए।

के हो पार्किन्सन्स?
पार्किन्सन्स मानव शरीरका तन्त्रिका वा शरीरको सूक्ष्म अंगमा बिस्तारै बिस्तारै विकसित हुँदै जाने समस्या हो। चिकित्सकहरूका अनुसार कहिलेकाहीँ एक हातमा मात्रै कम्पन उत्पन्न भएर यसको संकेत गर्ने गर्छ भने कहिले शरीर नै काम्ने गर्छ। पार्किन्सन्सले कहिलेकाहीँ मान्छेमा अस्वाभाविक कम्पन भएर बेहोससमेत गराउन सक्छ। सुरुआती चरणमा अनुहारमा देखिने हाउभाउ शिथिल हुँदै जाने गर्छ। यसको लक्षण शरीरको एकतर्फको हिस्सामा देख्न सुरु हुन्छ र स्थिति धेरै खराब हुँदै जान्छ। कठोर मांसपेशीको गतिलाई सीमित गराउन, स्वर कम तीव्र वा अस्पष्ट हुने गर्छ भने यसले मस्तिष्कमा डोपामाइन नामको रसायन उत्पन्न गर्छ। जसको परिणामस्वरूप पार्किन्सन्स रोगको संकेत मिल्ने गर्छ।

स्पष्ट विचार गर्न नसक्नु, निराश महसुस गर्नु, चिन्ता वा दैनिक जीवनमा कम रुचि, निद्रासम्बन्धी समस्या, थकान महसुस, घरीघरी पिसाब आउने, सुँघ्ने क्षमता गुमाउनुलाई पनि चिकित्सकहरूले यसको लक्षण भएको जनाउँदै आएका छन्। अहिले पार्किन्सन्स रोगको चेतना जगाउन हरेक वर्ष अप्रिल ११ मा विश्व पार्किन्सन्स दिवस मनाइन्छ। सामान्यतया ६० वर्षभन्दा माथिका मानिसहरूमा देखिने यो रोग विश्वभर एक करोडभन्दा बढी मानिस प्रभावित रहेको पार्किन्सन्स फाउन्डेसनले जनाएको छ। बेलायती चिकित्सक जेम्स पार्किन्सन्सले पार्किन्सन्स रोगको पहिचान गरेको दुई सय वर्षपछि पनि सब्सटान्सिया नायग्राका कोष नष्ट हुने कारण र यसलाई पूर्ण रूपमा रोकथाम गर्ने उपाय अझै पत्ता लागेको छैन।

प्रकाशित: २९ माघ २०८१ ०७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App