काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहका वातावरण सल्लाहकार सुनिल लम्सालले नेकपा (एमाले)का नेता महेश बस्नेतको टिप्पणीप्रति कडा प्रतिक्रिया दिएका छन्।
आइतबार नेता बस्नेतले सामाजिक सञ्जालमा ‘बालेन भाइले कस्तो सिटी बनाउन खोजेको हो, बुझिनसक्नु छ’ भन्दै प्रश्न गरेका थिए। उक्त टिप्पणी काठमाडौं महानगरले टेकु क्षेत्रमा रहेका कवाडी व्यवसायीका गोदाम हटाउने क्रममा भएको झडपपछि आएको थियो।
यो पनि पढ्नुहोस्
महेश भन्छन्: ‘बालेन भाइले कस्तो सिटी बनाउन खोजेको हो बुझिनसक्नु छ’
आइतबार काठमाडौं महानगर प्रहरीले अनधिकृत रूपमा सञ्चालन भइरहेका कवाडी गोदाम हटाउने क्रममा व्यवसायीहरूबीच झडप हुँदा पाँच जना घाइते भएका थिए।
झडपपछि नेता बस्नेतले सामाजिक सञ्जालमा महानगरको नीति र कार्यशैलीमाथि प्रश्न उठाउँदै लेखे ‘व्यवसायी र गरिबलाई विस्थापित गरेर नगर प्रहरीले अवाञ्छित ढंगले बल प्रयोग गरी लखेट्न लगाएर बालेन भाइले कस्तो ब्यालेन्स सिटी बनाउन खोजेको बुझिनसक्नु छ।’
लम्सालको प्रतिउत्तर : ‘पागल बालेन !’
बस्नेतको टिप्पणीलाई बालेनका सल्लाहकार लम्सालले सामाजिक सञ्जालमै कडा रूपमा खण्डन गरेका छन्।
उनले बालेन नेतृत्वको महानगरपालिकाले शिक्षा, स्वास्थ्य, वातावरण, सुशासन, उद्यमशीलता प्रवर्द्धन र सम्पदा संरक्षणका क्षेत्रमा गरिरहेका कामबारे विस्तृत रूपमा उल्लेख गर्दै व्यङ्ग्यात्मक शैलीमा जवाफ फर्काएका हुन्।
लम्सालले फेसबुकमा लेखेका छन्:
बालेन भाइले कस्तो महानगर बनाउन खोजेको बुझिनसक्नु छ ! गुणस्तरीय शिक्षा दिने निजी विद्यालयहरू छन्, सरकारी विद्यालय सुधार गर्छ, महानगरको २० प्रतिशत बजेट शिक्षामा लगानी गर्छ। निजी अस्पतालमा गरिबका लागि १० प्रतिशत निःशुल्क शय्या उपलब्ध गराउँछ, ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेर निःशुल्क प्राथमिक उपचार दिन्छ। औषधी सुलभ दरमा उपलब्ध गराउँछु भन्छ।
अतिक्रमित सरकारी जग्गामा डोजर चलाउँछ, पार्क बनाउँछ, ५ लाख रुख रोप्छु भन्छ, पैदल यात्रीलाई पहिलो प्राथमिकतामा राख्छ। के गर्न खोज्या हो ? कस्तो सहर बनाउन खोज्या हो ?
सुशासनको नारामा अड्किँदैन, सिधै कारबाही गर्छ। मापदण्ड विपरीत काम गर्नेमाथि कारबाही गर्छ। सडकमा पार्किङ निषेध गर्छ, आगलागी जोखिम हुनेगरी बनाइएका कवाडी भण्डार हटाउँछ, खोलानाला खुला बनाउँछ।
उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्छ, श्रम बैंकमार्फत बेरोजगारी कम गर्न खोज्छ, विद्यालयमा उद्यमशीलता सिकाउँछ। किताब रटाउने प्रवृत्ति हटाएर विद्यार्थीलाई व्यवहारिक शिक्षा दिन खोज्छ।
जीर्ण भएका मठमन्दिर पुनः निर्माण, मर्मत अभियान चलाउँछ। मठमन्दिर सफा गराउँछ, ढुंगेधारा पुनः निर्माण अभियान सञ्चालन गर्छ। सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्छ।
महानगरको काम कारबाही पारदर्शी बनाउँछ, कार्यपालिका र नगर सभा लाइभ गर्छ, कल सेन्टरमार्फत गुनासो सम्बोधन गर्छ, डिजिटल सरकार र एकल सेवा केन्द्र सञ्चालन गर्छ। के गर्न खोज्या हो ? हाम्रो गौरवशाली पार्टीको नेतृत्वमा अव्यवस्थित बनाइएको सहर व्यवस्थित गर्न खोज्छ, पागल बालेन !’
लम्सालको पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। बालेनका समर्थकहरूले उनको योजनाको प्रशंसा गरिरहेका छन् भने आलोचकहरू एकलौटी निर्णय भन्दै महानगरको शैलीमाथि प्रश्न उठाइरहेका छन्।
काठमाडौं महानगरले पछिल्लो समय फुटपाथ अतिक्रमण, अवैध संरचना, सार्वजनिक जग्गा मिचेर बनाइएका भवन तथा व्यवसाय हटाउने अभियानलाई तीव्र बनाएको छ।
यसले कतिपय व्यवसायीलाई मार परेको भन्दै विरोध भइरहेको छ भने महानगरले भने कानुनअनुसारको कदम उठाइरहेको दाबी गर्दै आएको छ।
प्रकाशित: २८ माघ २०८१ १४:५९ सोमबार