२० माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

आफ्नै वर्ग र समुदायतर्फ फर्किएका छौँ : दाहाल

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताएका छन्। माओवादी केन्द्र म्याग्दीले मङ्गलबार (आज) बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाइ गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गर्दै उनले अब गम्भीर आत्ममीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्केको बताए।

‘हामीले पार्टी एकता कायम राख्न सकेनौँ, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौँ,' उनले भने, 'म अन्तर्आत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो। अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने सङ्कल्पका साथ अघि बढेका छौँ।’

पार्टीले के-के राम्रा काम गर्‍यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्त रूपमा जनताको बीचमा जाने अभियान सुरु गरिएको उल्लेख गर्दै उनले अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताए। ‘हिजो क्रान्तिको बेलामा जंगलमा होइन, जनताको काखमा थियौँ। बरु पछि गएर हामी दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो। फेरि अब हामीले त्यो घेरा तोडेका छौँ।

अधयक्ष दाहालले अब आफूहरू जनतासँगै रहेर सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डाका साथ अघि बढ्ने बताए। 'हामीमा अहिले प्राप्त भएको चेतना र जिम्मेवारीबोध अनि २०६४ को जनमतबीच तालमेल हुने हो भने देशलाई नयाँ ठाउँमा उठाइने छ। ८४ मा ६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने छ। म अहिले यही अपिलका साथ देशव्यापी अभियानमा हिँडेको छु र अब चाँडै सिङ्गो पार्टी पङ्क्ति देशव्यापी अभियानमा जुट्ने छ।’  

आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले सेटिङमा देश चलाउनेहरूविरुद्ध धावा बोलिएको बताए। आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको अभियानका कारण जनतामा आशा र भरोसा बढेको पनि उनले स्पष्ट पारे।

आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा गरेका यी ऐतिहासिक कामबाट तर्सेर नै भ्रष्टाचारी, बिचौलिया र दलालहरुले सरकार ढालेको नेपाली जनताले छोटै अवधिमा स्पष्टसँग बुझेको उनले बताए।

‘संविधान मिच्न, भ्रष्टाचारीलाई जोगाउन, जनतामाथि निरंकुशता लाद्न र सुशासन विरोधी अभियान अवरुद्ध पार्न नै यो सरकार बनेको हो भन्ने अब घामजस्तै स्पष्ट भइसकेको छ,' उनले भने।

प्रकाशित: २२ माघ २०८१ १५:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App