७ फाल्गुन २०८१ बुधबार
image/svg+xml १५:५६ अपराह्न
राजनीति

अध्यादेशको अचानो: पहिलाे दिनमै संसदमा मुठभेटको संकेत!

शुक्रवारबाट सुरु हुन लागेको संघीय संसद्का हिउँदे अधिवेशनमा सत्तापक्ष र प्रतिपक्षबिच मुठभेटको सङ्केत देखिएको छ। सरकारले ल्याएका अध्यादेशका विषयलाई लिएर प्रतिपक्ष दलले संसद्मा शक्ति प्रदर्शन गर्ने सङ्केत दिएका छन्। 

बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ। 

बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले अध्यादेश गलत विधि र प्रक्रियामार्फत ल्याएको भन्दै अस्वीकार गर्ने निर्णय भएको सुनाए। 

‘अध्यादेशका बारेमा सरकारले जसरी सदनमा ल्याएर सबै कानुनहरू व्यवस्थित तरिकाले अघि बढाउनुको सट्टा सरकारले सदन बोलाउने बेलामा नै जसरी अध्यादेश ल्याएको छ, यो प्रक्रियाको हिसाबले पनि बेठिक छ,’ उनले भने,‘सँगसँगै एउटा अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन त सरकारले अध्यादेशमा छिटो गर्ने भनेको छ, तर त्यो त संसद्को अर्थ समितिमा छलफलमै छ। त्यहाँबाट छलफल गरेर पारित गर्दा झन् छिटो हुन्थ्यो।  सरकारले त्यसलाई पनि मिनिमाइज गरेर अध्यादेश ल्याएको छ।’ 

 विधि, प्रक्रियाको हिसाबले छिटो गर्ने भन्ने हुँदाहुँदै सरकारले बेठिक ढङ्गले अध्यादेश ल्याएको उनले बताए । भयो। ‘त्यसको अस्वीकार गर्नुपर्छ भन्ने सर्वसम्मत निर्णय भएको छ’, प्रमुख सचेतक पाण्डेले भने । यसबाहेक आवश्यक परे सडकमा उत्रनेसम्ममा चेतावनी विपक्षी गठबन्धनले दिएका छन्। 

संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बुधवारको संसदीय दलको बैठकले पनि अध्यादेश अस्वीकृत गर्ने निर्णय गरिसकेको छ।

विपक्षी दलहरू अध्यादेशविरुद्ध यसरी मोर्चावन्दीमा उत्रँदा शुक्रवारकै प्रतिनिधिसभाको पहिलो बैठकमा सरकारले जारी गरेका ६ वटा अध्यादेश पेस गर्ने तयारी गरेको छ। २४ गते बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा ती अध्यादेश स्वीकृत गर्ने संसद्को कार्यसूची छ। यस कारण पनि सत्तापक्ष र प्रतिपक्षबिच मुठभेटको स्थिति देखिएको हो। 

उसो त अध्यादेश विपक्षी दलका लागि बहाना मात्रै हो। सुरुदेखि नै माओवादी केन्द्र, रास्वपा, नेकपा एकीकृत समाजवादीलगायतका दलहरू सरकारविरुद्ध सुनिँदै आएका छन्। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकार धेरै लामो नटिक्ने भन्दै मोर्चा कसेर बसेका छन्। रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेदेखि नै रास्वपा सडकमा छ। 

यही कारण सरकारविरुद्ध संसदमा मोर्चा कसेर प्रतिवाद गर्न विपक्षी दलहरू तम्तयार देखिएका छन्। जसलाई अध्यादेश मसला बनेर आएका देखिन्छन्। 

प्रकाशित: १७ माघ २०८१ १२:३१ बिहीबार

खुशी 100 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App